गुप्ताले थुनाबाटै मतदान गर्ने

काठमाडौं, २ जेठ । सर्वोच्च अदालतले अपहरण अभियोगमा थुनामा रहेका नेपाल सद्भावना पार्टी आनन्दी देवीका अध्यक्ष तथा सभासद श्याम सुन्दर गुप्तालाई संविधान निर्माणको प्रक्रियामा प्रत्यक्ष भाग लिनाबाट बाटो छेकिदिएको छ ।
सर्वोच्चका न्यायाधिसद्वय ताहिर अली अन्सारी र गिरिसचन्द्र लालको संयुक्त ईजलासले सभासद् गप्तालाई संविधान निर्माणको कार्यमा प्रत्यक्ष सहभागी हुन नपाउने फैसला गरेको हो । यद्यपी संविधान निर्माणका क्रममा मतदान हुने भयो भने गुप्ताले जेल भित्रैबाट मतदानको व्यवस्था मिलाई दिन सर्वोच्चले आदेश दिएको छ ।
व्यापारी पवन संघाई अपहरणमा थुनामा रहेका पूर्वमन्त्री समेत रहेका गुप्ताले संविधान निर्माण प्रक्रियामा भाग लिन पाउँ भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सर्वोच्चले उनको मागलाई अस्विकार गरिदिएको छ । उनले संविधान निर्माणमा प्रत्यक्ष सहभागी हुन नपाएपनि मतदानमा भने जेल भित्रैबाट भाग लिन पाउने छन् ।
संविधानसभा नियमावली स्पष्ट नहुँदा अपहरण अभियोगमा थुनामा रहेका सभासद गुप्तालाई निलम्वन समेत गर्न नसकिएको संविधानसभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया