प्रदेश र शासकीय स्वरुपमा आन्तरिक परार्मश

काठमाडौं, २ जेठ । नेपाली कांग्रेसले शासकीय स्वरुप र राज्य पुनर्संरचनाका बिषयमा दलहरुवीच हालसम्म भएका सहमति, परामर्शलगायतका बारेमा आफ्ना केन्द्रीय सदस्य र सभासदलाई जानकारी गराएको छ ।
कांग्रेस सपभाति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज विहान भएको संयुक्त बैठकमा राज्य पुनर्संरचना र शाकसीय स्वरुपमा सामूहिक छलफल भएको कांग्रेस नेताहरुले बताएका छन् ।
बैठकमा सभापति कोइरालाले कांग्रेसले सबै वार्ताहरुमा लोकतान्त्रिक मूल्यमान्यता, संसदको सर्वोच्चता तथा स्वतन्त्र न्यायपालिकाका सन्दर्भमा अडान कायमै राखेको जानकारी गराएका छन् ।
उनले राज्यको पुनर्संरचना गर्दा जातीय आधारमा हुन नहुने विषयमा पनि पार्टीको स्पष्ट अडान रहेको भन्दै सबैलाई समेट्नेगरेर बहुजातीय प्रदेश बनाउनु पर्ने बताए ।
केन्द्रीय सदस्यहरुले नेतृत्वले लिएको अडानको समर्थन गर्दै गम्भीरताका साथ सहमतिमा पुग्न नेतृत्वलाई आग्रह गरेका थिए ।
बैठक पछि उप–सभापति रामचन्द्र पौडेलले शासकीय स्वरुप र राज्य पुनर्संरचनाका विषय सभासद र केन्द्रीय सदस्यलाई जानकारी गराउनुका साथै सुझाव लिएको बताए । उनले भने, ‘नेतृत्वले लिएको अडानमा साथीहरुले सहमति जनाउनु भएको छ, नेतृत्वले सही निर्णय लिने सबैको विश्वास रहेको छ ।’
केन्द्रीय सदस्य रामशरण महतले पार्टीले अगाडि सारेका ८ र ११ प्रदेशको खाकामा अडिक रहन नेतृत्वलाई सुझाब दिइएको जानकारी दिए । उनले भने, ‘११ प्रदेशमा गए प्रान्तको नाम प्रान्तीय सभाले राख्नुपर्ने अडान हाम्रो कायम छ ।’
सुझाव दिने अधिकांश सदस्यले पार्टीको ८ प्रदेशको खाका व्यवहारिक र टिकाउ हुनुपर्ने भन्दै व्यवहारिक रुपमा राज्य पुनर्संरचना गरिनुपर्ने सुझाव दिएका छन् । उनीहरुले संसदप्रति उत्तरदायी कार्यकारी प्रधानमन्त्रीमा धेरै नेता र सभासदको धारणा राहेको केन्द्रीय सदस्य दीपक गिरीले जानकारी दिए ।

यसैवीच, बैठकमा चितवन र मकवानपुरलाई पनि अखण्ड बनाउन जिल्लाका सभासद तथा नेताले माग गरेका छन् । सभासद महालक्ष्मी डिना उपाध्यायले मकवानपुर जिल्लापनि अखण्ड हुनुपर्ने माग गरेको एक सदस्यले जानकारी दिए ।

प्रतिक्रिया