स्वर्ण जितेको सात महिनापछि सम्मान

काठमाडौं, २ जेठ । सात महिनाअघि श्रीलंकामा सम्पन्न ‘प्रथम दक्षिण एसियाली बीच गेम्स’ मा नेपाललाई प्राप्त एक मात्र स्वर्णपदकका विजेता इक्वेस्ट्रियन (घोडचढी) का धु्रवप्रसाद अर्यालले सोमबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट नगद सम्मान पाएका छन् ।
आफ्नै अध्यक्षतामा घोडचढी संघ पुनगर्ठन भएको करिब एक सातापछि राखेप सदस्य–सचिव युवराज लामाले पूर्वघोषित ५० हजार रुपियाँ अर्याललाई प्रदान गरेका हुन् । राखेपले स्वर्ण जितेबापत अर्याललाई सम्मानस्वरूप उक्त रकम प्रदान गर्ने निर्णय केही महिनाअघि गरेको थियो । ‘पुनर्गठन भएलगत्तै सम्मान गरेर देखायो भन्ने लाग्ला,’ सम्मान कार्यक्रममा सदस्य–सचिव लामाले भने, ‘तर अलिअलि त्यस्तै लागोस् भन्ने पनि हो ।’ गत मंसिरमै उक्त सफलता हात पारेका अर्याललाई सम्मान गर्न ढिलो हुनुको कारण भने समय अभाव भएको भनेर उनले टारेका थिए । ‘यस बीचमा राखेप पनि व्यस्त रहयो,’ उनले भने, ‘दुवैलाई समय अनुकूल भएकोले आज अवसर मिलेको हो ।’
२०६६ सालमा स्थापना भएको घोडचढी संघ करिब दुई साताअघि पुनगर्ठन गरी लामा संघमा छिरेका थिए । राखेप कर्मचारी प्रकाशचन्द्र घिमिरेदेखि तेक्वान्दो खेलाडी दीपक विष्टसमेत सो संघको तदर्थ समितिमा छन् । सुरुका दिनमा राखेपका अन्य पदाधिकारी विभिन्न संघमा प्रवेश गरे पनि आफूलाई त्यस्तो आवश्यकता नभएको बताएका लामा एक्कासि संघमा छिरेका हुन् ।
‘कुनै तयारी र पूर्वाधारविना नै धु्रवले स्वर्णपदक जितेर राम्रो सम्भावना देखाए,’ लामाले भने, ‘यस्तो खेललाई विकास गर्नुपर्छ भनेर हामीले सम्मान गरेका हौं ।’ सदस्य–सचिव लामाले यसो भनिरहँदा सोही प्रतियोगितामा घोडचढीमा दुई रजतपदक जितेका खेलाडी भने राखेपको सम्मानबाट वञ्चित रहे । ‘स्रोत–साधनअनुसार सुरुमा स्वर्ण जित्नेलाई नै सम्मान गरौं भन्ने हो,’ उनले भने ।
श्रीलंकामा नेपाली सेनाका खेलाडी ध्रुवले ‘टेन्ट पेकिङ रिङ एन्ड प्याक’ इभेन्टमा स्वर्णपदक जितेका थिए । इक्वेस्ट्रियन संघको निर्वाचन आफ्नो इच्छाअनुसार गर्ने लामाले बताए । ‘सदस्य–सचिव नै अध्यक्ष भएकाले समय मिलेपछि निर्वाचन हुन्छ,’ अब संघको निर्वाचन कहिले गर्नुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा हलुका पारामा प्रस्तुत हुँदै लामाले भने, ‘त्यो पनि समय मिलेपछि हुन्छ ।’
राखेप पदाधिकारीकै गैह्रजिम्मेवार व्यवहारका कारण नेपालमा संघ तदर्थवादमा चल्ने परिपाटी नै बनेको छ । ३० देखि ६० दिनभित्र तदर्थ समितिले निर्वाचन गर्नुपर्ने प्रावधान भए पनि संघमा छिर्ने राखेप पदाधिकारीले नै नियम मिच्ने गरेको पाइएको छ । पुनगर्ठन भएको करिब एक वर्ष पुग्न लाग्दा पनि नेपाल कराते महासंघको निर्वाचन भएको छैन ।
करिब तीन वर्षअघि राखेपमा दर्ता भएको नेपाल इक्वेस्ट्रियन संघको अझैसम्म जिल्ला संघ छैन । ‘अहिलेसम्म जिल्ला शाखा नभएको स्थितिमा पुनगर्ठनपछि बसेको संघको पहिलो बैठकले करिब १० वटा जिल्लालाई सम्बन्धन दिएर पूर्वाधार निर्माण गर्ने निर्णय गरेको छ,’ लामाले भने । उनले स्रोत–साधनको अभावमा विद्यमान खेलाडीलाई व्यवस्थित गर्न संघ क्रियाशील रहने बताए ।

प्रतिक्रिया