एकेडेमिक ब्युटिसियन

नेपालमा पहिलोपटक ब्युटिसिएन कलेज खोल्ने हुटहुटी चलेको छ, ब्युटिसियन सम्झना घिमिरे बुढाथोकीलाई । पेसाले उनी ब्युटिसियन कम प्राध्यापक बढी हुन् । ‘ब्युटिसियन पेसालाई गलत आँखाले हेरिन्छ,’ सम्झनाले भनिन्, ‘यसलाई पनि प्राज्ञिक बनाउन जरुरी छ ।’
३४ वर्षअघि पुस १९ गते चितवनको पर्साढाप–८ मा जन्मिएकी सम्झनालाई स्कुल पढ्दादेखि नै ‘शिक्षक बन्न सकूँ’ भन्ने जपना थियो । मेघौलीको जानकी माध्यमिक विद्यालयबाट ०५२ मा प्रवेशिका पास गरेपछि क्याम्पस पढ्दा उनको त्यो सपना प्राध्यापक बन्छु भन्नेमा स्तरोन्नति भएछ । वीरेन्द्र क्याम्पसबाट आइए र सप्तगण्डकी बहुमुखी क्याम्पसबाट बिएड गर्दा ‘सुलोचना मेडम’का श्रीमान्/श्रीमती नै उनलाई पढाउँदा रहेछन् । ‘त्यो देख्दा मेरो जोडी पनि यस्तै होस् भन्ने कल्पना गर्थें,’ सम्झनाले भनिन् ।
सम्झना २०५५ साल माघ ८ गते सरस्वती पूजाका दिन प्रकाश सुवेदीको घरमा ‘गृहलक्ष्मी’ बनेर भित्रिइन् । झन्डै डेढ महिनाअघि मात्रै नेपालकै पहिलो ब्युटिसियन आइकन हुन सफल सम्झना यो पेसामा भने ‘स्वार्थवश’ प्रवेश गरेकी रहिछन् । २०६२ सालमा श्रीमान् प्रकाश पढाइका लागि विदेश जाने भएपछि प्राविधिक शिक्षा सिकेर उनी पनि सँगै जाने सोचले ब्युटिसियन तालिम लिन पुगिछन् । ‘म संयोगले आए पनि अहिले यो पेसालाई मर्यादित बनाउनुपर्छ भन्नेमा लागिरहेकी छु,’ सम्झनाले भनिन्, ‘ब्युटिसियन भनेपछि समाजले नराम्रो आँखाले हेर्छ ।’ सम्झना ‘यौनपेसा गर्नेहरूले आफ्नो पेसालाई गोप्य राख्न ब्युटिसियनको घुम्टो ओढ्ने गरेको’ दाबी गर्छिन् । उनले भनिन्, ‘राम्रा र नराम्राहरू हरेक पेसामा छन्, सबैलाई एउटै आँखाले हेर्नु न्यायोचित हुँदैन ।’
ब्युटिपार्लर हेल्थसँग सम्बन्धित भएकाले स्वास्थ्यका लागि सुन्दरता पनि जरुरी भएको उनी सुझाउँछिन् । यद्यपि सरकारले नुनसम्मको व्यवस्था गर्न नसकेको हुम्ला, बाजुरामा ब्युटिसियनको कुनै अर्थ नभएको उनको ठम्याइ छ । काठमाडौंको मन्डिखाटारमा आधा दशकदेखि ‘न्यु लुक्स लेडिज ब्युटिपार्लर’ सञ्चालन गरिरहेकी सम्झनाका सेवाग्राही भनेका मध्यम र उच्च घरानाका छन् । आफूलाई ब्युटिसियनभन्दा बढी प्राध्यापक भन्न रुचाउने सम्झना जोरपाटीको बज्र इन्टरनेसनल कलेजमा अध्यापन गराउँछिन् । ‘म एकेडेमिक पनि भएकाले ब्युटिसियन पेसालाई प्राज्ञिक बनाउन चाहन्छु ।’ यसका लागि आफू त्रिभुवन विश्वविद्यालयका प्राज्ञ, डिन र कुलपतिहरूसँग छलफलमा रहेको जानकारी दिन्छिन् । उनले भनिन्, ‘गरेपछि असम्भव केही छैन ।’
ब्युटिसियन पढाउने प्रशिक्षक र प्राध्यापक नपाइने हुन् कि भन्ने चिन्ता पनि उनलाई छ । छोरी प्रशंसा, सासू–ससुरा, श्रीमान् र दुईथरी पेसाको बीचमा उनलाई सन्तुलन मिलाउन सक्नु नै असली मज्जा लाग्दो रहेछ । भनिन्, ‘जिन्दगीको अर्को नाम सायद व्यवस्थापन हो, मैले छोरी, आमा, बुहारी र श्रीमतीको भूमिका राम्ररी पूरा गरेको छु ।’ समाजमा अर्कै ‘धन्दा’ गरेर यो पेसालाई मुछ्नेहरूलाई निरुत्साहित गर्ने एउटै उपाए सम्झनासँग छ, त्यो हो– ‘यो पेसालाई पनि फेसन, इन्टेरियरजस्तै एकेडेमिक बनाउनु ।’

प्रतिक्रिया