घाउमा मल्हम लगाउनेहरू

बिहान १० बजे अफिस पुगेर ५ बजे घर फर्कने कर्मचारी र निर्मला केसीको दैनिकीबीच निकै फरक छ । सधैँ एकै समयमा अफिस पुग्ने र फर्कने रुटिन उनको पेसाभित्र पर्दैन । हुन सक्छ, उनी कुनै बेला साँझ अफिस आएर बिहान अरू सबै उठ्ने बेलामा घर फर्किन्छिन् । तर, उनलाई यसैमा सन्तुष्टि छ किनकि उनको पेसा फगत पेसा मात्र होइन, मानवीय सेवा पनि हो । उनी हुन् स्टाफ नर्स । अनियमित दैनिकीबीच बिमारीको व्यथा सुम्सुम्याइरहेकी भेटिन्छिन् यी युवती, मोडेल अस्पतालमा । ‘तपाईंलाई कस्तो छ ? अहिले अलि कम भयो ?’ सेतो लुगामा सजिएर प्राय: यिनै वाक्यांश उच्चारण गरिहेकी हुन्छिन्, अगाडि छटपटिइरहेकाहरूको पीडालाई आत्मसात् गर्दै । ६ वर्ष भएछ, उनले यो अस्पतालका बिमारीलाई सघाउन थालेको । यहाँ आउनुअघि वीरगन्जमा एक वर्ष बसेर सेवा गरिछन् । सेवामूलक र आत्मनिर्भर पेसाको खोजी गर्ने क्रममा नर्स बनेकी रे उनी । सानोमा बिरामीले थलिएकी फुफूले उनलाई ‘तिमी नर्स बनेर मेरो उपचार गर्नु है’ भनेको अझै याद छ । फुपूको त्यही वाक्यांशले उनीभित्र सेवाभावनाको बीज रोपिदिएछ । यही उनको सपना बनेछ । त्यसो त उनको यो सपनामा केही समय ब्रेक पनि नलागेको होइन । तर, बिहेपछि घरपरिवारको सहयोगमा थाँती बसेको सपना पूरा गरेरै छाडिछन् । राति बसेर काम गर्नुपर्दा अहिलेसम्म कुनै असजिलो महसुस गर्नुनपरेको उनले सुनाइन् ।
छट्पटाइरहेका बिरामी देख्दा डर लाग्दैन ? ‘अहँ लाग्दैन, एकदम सिकिस्तलाई उपचार गर्न पाउँदा झन् गर्व लाग्छ,’ बलियो आत्मविश्वास सुनाउँदै छिन्, ‘हामीले सेवा गरेका कारण कसैको ज्यान बच्यो भनेर सन्तुष्टि मिल्छ ।’ त्यसो त आफूले छोएका बिरामी सधैँ सुखद परिणाममै पुग्छन् भन्ने ग्यारेन्टी त कहाँ छ र ? आफूले आँखैअगाडि देखेका यस्तै दुई ‘दु:खद परिणाम’ उनी कहिल्यै भुल्न सक्दिनन् । ‘बुटवलमा तीन महिनाकी गर्भवतीको मृत्यु र एउटा एचआइभी पीडितको मृत्यु मेरो दिमागमा घुमिरहन्छन्’, भनिन्, ‘उमेर नै नपुगी मृत्युवरण गर्नेहरूलाई देख्दा मन खिन्न हुन्छ ।’
कसैकसैले कमेन्ट पनि गर्छन्– नर्सहरूको स्वभावै छुच्चो † उनीचाहिँ त्यसो भनेको पटक्कै मन पराउँदिनन् । उनी आफू पनि त्यस्ती छैनन् रे † सानो छँदा हजुरआमाले ‘नर्स बनेर छुच्चीचाहिँ नहुनू है’ भनेको सुनाउँदै थिइन् । त्यो वचन उनी सधैँ शिरोधार्य गर्दै आइरहेकी रहिछन् । कहिलेकाहीँ केही नहुने बिरामीलाई आफ्नो खानासमेत दिन्छन् रे उनीहरू, आफूले सक्नेजति सहयोग गर्छन् रे †
नर्सिङ पेसामा नारीहरूको आकर्षण बढ्न थालेको निकै समय भइसक्यो । पढ्नासाथ काम पाइहाल्ने, खाली बस्नुनपर्ने पेसाका रूपमा यो परिचित छ । त्यसो त पेसासँगै यो आफैँमा एउटा मानवीय एवं सामाजिक दायित्व पनि हो ।
बालाजुकी ज्योति केसी पनि नर्सिङ पेसामा लागेको तीन वर्ष भएछ । उनीचाहिँ पढाइ सक्नेबित्तिकै काम पाइन्छ भनेर यतातिर लागेकी रहिछन् । सेवा हुने, काम हुने अनि अरूको कमाइमा भर पर्नु पनि नपर्ने । त्यसो त परिवारको सपोर्ट पनि राम्रै रह्यो उनलाई, अझै पनि छ । दुखाइले चिच्याउने बिरामीहरूको निकटताबीच पेसालाई इन्जोय नै गरिरहेकी छन्, कुनै गुनासो छैन । ‘तैपनि, साँझ घर फर्किंदा दिनभरिका कामले कहिलेकाहीँ अलि असजिलो महसुस गराउँछ’, उनले भनिन्, ‘तर, यस्तो त कहिलेकाहीँ अरू पेसाकालाई पनि भइहाल्छ नि ।’
ज्योतिले अहिलेसम्म त्यस्तो कुनै समस्या त भोगेकी छैनन् । तर, एक दिनचाहिँ ड्युटी सकेर राति घर फर्कंदै गर्दा आपैँmसँग डराइछन् । लगाएको सेतो लुगामा आफैँलाई भूत पो देख्ने हुँ कि भन्ने लागेछ । विज्ञानले अस्वीकार गर्ने यस्ता तथ्यलाई जतिसुकै घोके पनि पारलौकिक शक्तिको कल्पनाले मनोविज्ञानमा जन्माउने अदृष्ट त्रास हटी त कहाँ हाल्छ र ? स्याहार्दा–स्याहार्दैका कति शरीर आँखैअगाडि निष्प्राण बनेको हेर्ने अभ्यास अब त भइसक्यो पनि होला, तैपनि कताकता ‘डर’ लागी नै हाल्छ । त्यसो त पढ्दै गर्दा पनि निकै काम्थ्यो रे उनको हात कसैलाई सुई लगाइदिँदा । भन्छिन्, ‘अब त मान्छेको शरीर घोच्दाघोच्दा बानी नै परिसक्यो ।’ कहिलेकाहीँ बिरामीले गाली र झर्कोफर्को पनि निकै गर्छन् रे नर्सहरूलाई । ‘के गर्ने, सबैतिर हेर्नुपर्छ’, उनले आफ्नो अनुभव सुनाइन्, ‘फेरि हामीले त धैर्य पनि राख्नुपर्छ । बिरामी रिसायो भनेर रिसाउनु हुँदैन ।’ काम गर्दागर्दै पनि बिरामीका आफन्तले गर्ने ‘टर्चर’चाहिँ दु:खद लाग्दो रहेछ यी नर्सहरूलाई ।
अर्की अनिता बाँस्तोला नर्स भएको चाहिँ चौध महिना भएछ । यो पेसामा आउनुपछाडि उनको कारण पनि उही हो– आत्मनिर्भर बन्ने चाहना । विद्यार्थी छँदा उनलाई घाइते देख्दै डर लाग्थ्यो रे † कतिपटक त सिरिन्ज समाउँदा हातै थरर्र पारेकी रहिछन् । तर, आज उनी ‘कन्फिडेन्ट सिस्टर’ हुन्, कमाउन सक्ने छोरी हुन् । कमाएको पैसा केही घरमा दिन्छिन् अनि बाँकी ढुक्कसँग आफैँ खर्च गर्छिन् । उनले चाहिँ यो पेसामा कुनै दु:खद अनुभूति सँगालेकी छैनन् त ? भनिन्, ‘आफ्नै अगाडि मान्छेले प्राण छोडेको देख्दा दु:ख लाग्छ, झन् आफन्त नभएर एक्लै लास बनिरहेकाहरूलाई देख्दा त मनै कटक्क हुन्छ ।’

प्रतिक्रिया