राजधानी जेभीमाथि कारबाहीको तयारी

झापा, २ जेठ । झापाका तीनवटा पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्ने तयारी भएको छ । गौरीगन्जको गेउरिया पुल, केचनाको अगुरभट्टा र कालीखोला पुल निर्माणको जिम्मा लिएको शिवाको राजधानी जेभीलाई कारबाहीस्वरूप कालोसूचीमा राख्ने तयारी गरिएको हो ।

२ नम्बर डिभिजन कार्यालयका प्रमुख शालिकराम रेग्मीले तीनवटै कामको जिम्मा लिए पनि नगरेको भन्दै उक्त कम्पनीलाई कारबाहीको तयारी गरिएको जानकारी दिए ।
‘चरण–चरणमा बैठक पनि गरियो तर काम अघि नबढेकाले कालोसूचीमा राख्ने तयारी गरिएको हो,’ रेग्मीले भने, ‘ठेक्का सम्झौता रद्द गर्ने प्रक्रिया लामो छ, काम हुने सम्भावना न्यून देखिएको छ ।
उनले पटकपटक ताकेता गर्दा पनि चारआलीमा रहेका राजधानी जेभीका सुभाष लामाले काम थाल्ने सहमति गरे पनि काम अघि नबढाइएको बताए । ‘पटकपटक भएका बैठकमा काम थाल्ने भनिए पनि काम अघि बढ्न सकेन,’ उनले भने, ‘काम अघि नबढेपछि कानुनी कारबाही हुन्छ ।’
गेउरिया पुल २०६५ मा एक करोड ६२ लाख र कालीखोला पुल दुई करोड ५२ लाखमा ठेक्कामा लागेको थियो । उनले अन्यमा काम भइरहे पनि गेउरिया पुल भने दुई वर्षसम्म पनि प्रगति भएको छैन ।

प्रतिक्रिया