जोमसोममा विमान खस्यो

बाग्लुङ, पोखरा २ जेठ । अग्नि एयरको ९–एन एआइजी विमान मुस्ताङको जोमसोममा सोमबार दुर्घटना हुँदा मुक्तिनाथ दर्शनका लागि हिँडेका १३ भारतीयसहित १५ जनाको मृत्यु भएको छ । दुर्घटनास्थलबाट ६ जनाको जीवितै उद्धार गरिएको छ ।

पोखराबाट जोमसोमका लागि उडेको विमान बिहान ९:४४ बजे विमानस्थलपछाडि पानी ट्यांकीको डाँडामा ठोक्किएर दुर्घटनाग्रस्त बनेको हो । प्राविधिक गडबडीका कारण जोमसोम विमानस्थलमा अवतरण गर्न नसकी पोखरा नै फर्कन खोज्दा ठोक्किन पुगेको बताइएको छ ।
विमानस्थलनजिकै रहेको सैनिक शिक्षालय ब्यारेकको परिसरमा विमान दुर्घटना भएको थियो । दुर्घटना भएको स्थान जोमसोम विमानस्थलबाट करिब ३ सय मिटरको उचाइमा छ । ‘हामीले हेर्दाहेर्दै विमान ठोक्कियो,’ उद्धारमा खटिएका सैनिक ब्यारेकका जवान देवेन्द्र खत्रीले भने, ‘अघिपछि भन्दा ढिस्कोको धेरै नजिकबाट विमान मोडिएको थियो ।’
विमानका पाइलट पिएस पाठक र को–पाइलट एसडी महर्जनसहित अन्य १३ जना भारतीय नागरिकको मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृत्यु हुने भारतीय यात्रुमा के. मैजान्य, एस के अरोरद, एम होन्सा, आर होन्सा, एओला, टि सचदेव, जी. सचदेव, सुदर सान्यम, जी. रमण, इचाम्वेदी लथा, तिरुमाला किदाम्वी श्रीपाओद, कुमार, कुमार मास छन् । विमानको टिकट लिँदा नाम छोटकरीमा लेख्ने गरिएकाले मृतकको पूरा नाम खुलेको छैन । उनीहरू दक्षिण भारतीय भएको अनुमान गरिएको छ ।
पोखराबाट चार्टर गरिएको विमानमा अधिकांश भारतीय पर्यटक थिए । १६ जना भारतीय पर्यटक, दुई डेनमार्कका र अन्य तीनजना चालक दलका सदस्य रहेको प्रहरीले जनाएको छ । भारतीय पर्यटक मुक्तिनाथ दर्शनका लागि पोखराबाट बिहान उडेका हुन् । गर्मी महिनामा थुप्रै संख्यामा भारतीय पर्यटक पोखरा र मुक्तिनाथ दर्शनका लागि जाने गर्छन् । विमानस्थलको धावनमार्गदेखि झन्डै ८ सय मिटर पर दुर्घटना भएको स्थानीय तिलक विकले बताए ।
जीवितै उद्धार भएका ६ जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । डेनमार्कका ३० वर्षीय एन्ड्रेस, २९ वर्षीय जे. इमली, भारतका ६ वर्षीय सिप्रद, ९ वर्षीय सीमा दैनी र विमानकी परिचारिका २० वर्षीया रोशनी हाइजूको उपचार भइरहेको प्रहरीले जनाएको छ । विमान परिचारिका हाइजू २ महिनाअगाडि मात्रै अग्नि एयरमा प्रवेश गरेकी हुन् । उनी भक्तपुर लोकन्थलीकी बासिन्दा हुन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ । घाइतेहरूलाई हेलिकोप्टर र तारा एयरको विमानबाट पोखरा लगिएको थियो ।
विमान दुर्घटनामा परी ज्यान गुमाएका भारतीय पर्यटकले पोखराको होटलमा बस्दा रातभर भजन गाएका थिए । उनीहरू पोखराको लेकसाइडस्थित एक होटलमा बसेका थिए । उता, विमान दुर्घटनामा जीवितै उद्धार गरिएका डेनमार्कका दुई पर्यटक तीनदिनको पदयात्राका लागि पोखराबाट जोमसोम हिँडेका थिए । तीनदिनको पदयात्रा पूरा गरेर फर्कने लक्ष्य उनीहरूको थियो ।

यसरी भयो चाँडै उद्धार सम्भव
जोमसोम विमानस्थलनजिकै रहेको सैनिक उच्च शिक्षण शिक्षालय ब्यारेकपरिसरमा विमान दुर्घटना भएपछि तत्कालै त्यहाँका सैनिक उद्धारमा खटिएका थिए । विमान दुर्घटनामा परेर घटनास्थलमै मृत्यु भएका र घाइतेलाई निकाल्नका लागि सैनिक सम्पूर्ण काम छाडेर लागेका थिए ।
‘अन्यत्र विमान दुर्घटनामा परेको भए उद्धार यति चाँडो सम्भव थिएन,’ विमान दुर्घटनाका प्रत्यक्षदर्शी स्थानीय कर्मचारी घनश्याम सापकोटाले भने, ‘मर्ने त मरेर गइहाले, सैनिक नभएको भए घाइते पनि उद्धारअभावमा मर्नुपर्ने स्थिति थियो,’ दुर्घटनालगत्तै ब्यारेकले खबर दिएपछि तारा एयरको हेलिकोप्टर उद्धारका लागि त्यस स्थानमा पुगेको थियो ।
तारा एयरको हेलिकोप्टरबाट तत्काल घाइतेलाई उपचारका लागि पोखरा ल्याइएको थियो । घाइतेलाई उद्धार गरी हेलिकोप्टरमा राखेर पोखरा आइपुगेका ब्यारेकका जवान देवेन्द्र खत्रीले विमानको इन्जिन र बडी छुट्टिएको बताए । ठूलो आवाज गर्दै ब्यारेकपरिसरमा ठोक्किन आएको विमानको अगाडिको भाग जलेको छ भने पछाडिको भागमा क्षति पुगेको छैन ।

यातायात व्यवसायीको अमानवीय आन्दोलन
दुर्घटना भएलगत्तै घाइतेलाई उपचारका लागि तारा एयरको हेलिकोप्टरले पोखरा विमानस्थलमा ल्याएको थियो । घाइतेलाई एम्बुलेन्सबाट उपचारका लागि अस्पताल लैजाने क्रममा यातायात व्यवसायीको चक्काजाम बाधक बन्यो । सामान्यतया १५ मिनेट लाग्ने दूरीमा समेत एम्बुलेन्सलाई एयरपोर्टबाट मणिपाल शिक्षण अस्पतालसम्म आइपुग्दा एक घन्टा लाग्यो ।
गण्डकी–धौलागिरि अञ्चल सार्वजनिक यातायात समन्वय समितिको आह्वानमा ९ बजेदेखि १२ बजेसम्म गरिएको बन्दले घाइतेको उपचारका लागि अस्पतालसम्म पुर्‍याउन निकै कठिनाइ भएको थियो । स्वतन्त्र नगरबस व्यवसायी समिति दर्ता गरेको विरोधमा सार्वजनिक यातायात समन्वय समितिले विभिन्न चोकमा सवारी तेस्र्याएर अवरोध सिर्जना गरेका थिए ।
विमानस्थलबाट घाइतेलाई लिएर आएको एम्बुलेन्स सिधा बाटो नभई घुमाउरो बाटो हँुदै अस्पतालसम्म पुगेको थियो । उपचारजस्तो संवेदनशील अवस्थामा पनि यातायात व्यवसायीले अवरोध सिर्जना गर्दा प्रमुख जिल्ला अधिकारी चेतनाथ भट्टराई निरीह बनेका थिए । ‘सडक अवरोध हटाउन आग्रह गरेर एम्बुलेन्स पार गर्‍यौँ,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने, ‘अवरोधले निकै समस्यामा पार्‍यो ।’
आन्दोलनरत सार्वजनिक यातायात समन्वय समितिका अध्यक्ष वसन्त प्रधानले मुख्य नाकामा मात्रै सवारीसाधन तेस्र्याएर जाम गरिए पनि भित्री सडक खुला राखिएको भन्दै भित्री सडक घुमेर जान आग्रह गरिएको बताए ।
यो नेपाली आकाशमा ७१औँ विमान दुर्घटना हो । जेठको पहिलो दिनमै भएको दुर्घटनासँगै विमान दुर्घटनाबाट मर्नेको संख्या हालसम्म ६ सय नाघेको बताइएको छ ।
नेपालका विमानस्थलमध्ये जोमसोम विमानस्थललाई जोखिमपूर्ण रूपमा लिइँदै आइएको छ । झन्डै तीन हजार मिटर उचाइमा रहेको जोमसोममा १२ बजेपछि हावाहुरी चल्छ । १० बजेपछाडि प्राय: विमानले उडान भर्दैनन् । जोमसोममा विशेषगरी तारा एयर, अग्नि र नेपाल वायु सेवा निगमले उडान भर्दै आएका छन् ।

प्रतिक्रिया