नदीमा डुवेर चार जनाको मृत्यु

दाङ, १ जेठ । दाङ र प्युठानका विभिन्न नदीमा डुवेर आज चार जनाको मृत्यु भएको छ । दाङको देउखुरी लालमटियास्थित राप्ती नदीमा डुवेर २ बालिकाको मृत्यु भएको छ ।

राप्ती नदीमा नुहाउन गएका समयमा भालुवाङ पुल्चोक निवासी ११ बर्षीया मधु न्यौपाने र ९ बर्षीया सुविक्षा खनालको डुवेर मृत्यु भएको हो । आज दिउँसो साढे एक बजे पौडी खेल्ने क्रममा उनीहरुको डुवेर मृत्युभएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

मृतक न्यौपाने स्वर्गद्वारी प्रावि पुल्चोक कक्षामा ५ मा र सुविक्षा स्थानीय बोर्डिङमा कक्षा ४ मा अध्ययन गर्ने विद्यार्थी हुन् । आज तराई बन्दका कारण विद्यालयहरु बन्द रहेकाले दिउसो उनीहरु पौडी खेल्न नदीमा गएका समय डुबेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

यता ववइ नदीमा डुवेर एक युवकको मृत्युभएको छ । नदीमा नुहाउन गएको डुरुवा–८ निवासी २२ वर्षीय मोहन जिसीको ववई नदीमा डुवेर मृत्युभएको प्रहरीले बताएको छ ।

उता प्युठानमा पनि नदीमा डुबेर आज एक मजदुरको मृत्युभएको छ । रोल्पा तेवाङ घर भएका १८ वर्षीय लोके पुनमगरको भिंगृमा रहेको माडि नदीमा पौडी खेल्ने क्रममा डुवेर मृत्युभएको प्युठान प्रहरीले जानकारी दिएको छ ।

रोल्पा तेवाङ–७ निवासी पुनमगर भिंगृ र सारी जोड्ने निर्माणाधिन झोेलुङगे पुलमा ज्यामीको रुपमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया