कोशी पूर्वलाई पनि नटुक्राउन माग

काठमाडौं, १ जेठ । अखण्ड सुदूरपश्चिमको माग सेलाउन नपाउदै कोशी पूर्वको भागलाई एउटै प्रदेश बनाउन माग उठेको छ ।
सुनसरी, मोरङ र झापा जिल्लाका सभासद तथा नेताहरुले बल्भव कार्कीको संयोजकत्वमा पूर्व कोशी प्रदेश संघर्ष समिति गठन गरेर यस्तो माग गरेका हुन । समितिमा एमाओवादी, कांग्रेस लगायतका दलका सभासद तथा नेताहरु समेत छन् ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर उनीहरुले अखण्ड कोशी पूर्व प्रदेशको माग गरेका हुन् । समितिले सुनसरी, मोरङ र झापा जिल्लालाई कुनै पनि हालतमा टुक्राउन नदिने चेतावनी दिएको छ ।
तीन जिल्लालाई टुक्राएर कुनै जाती विषेशको नाममा राज्य बनाउने प्रयत्न गरिए त्यसविरुद्ध कडा संघर्ष गर्ने घोषणा पनि पत्रकारसम्मेलनमा दिईएको छ ।
कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरेले कोशी पूर्वलाई टुक्राएर जातीय आधारमा प्रदेश बनाए त्यस्तो प्रदेश मान्य नहुने बताए ।
एमाओवादी सभासद धर्मशिला चापागाईले जातीय नभई सामूदायिक आधारमा प्रदेश नामाकरण गर्नु पर्ने भन्दै पूर्वका तीन जिल्लालाई टुक्राउन नहुने तर्क गरिन ।
एमाओवादी सभासद अमिलाल उरावले पनि आर्थिक सम्भावनाको हिसावले पनि तीन जिल्ला टुक्राउन नहुने तर्क गरे ।
समितिका सहसंयोजक गोविन्द पराजुलीले सदियौदेखि जातीय सदभावका साथ रहँदै आएको पूर्वलाई जातीय द्वन्द्वमा नफसाउन सचेत गराउँदै पूर्व कोशी प्रदेशका लागि जस्तो सुकै संघर्ष गर्न तयार रहेको बताए ।
सभासद लालबहादुर मगर, शान्ति राजबंशीलगायतकाले पनि पूर्व कोशी प्रदेशको पक्षमा धारणा राखेका थिए ।

प्रतिक्रिया