‘साउथ चाइना सी’बाट भारत पछि हट्ने संकेत

नयाँदिल्ली, १ जेठ । भियतनामसँग मिलेर ‘साउथ चाइना सी’ मा तेल उत्खनन परियोजना सञ्चालन गर्न तम्सिएको भारतले पछि हट्ने मनस्थिति बनाएको छ । परियोजना सञ्चालनप्रति चीनले आपत्ति जनाइरहेका बेला भारतले यस्तो मनस्थिति बनाएको हो ।
‘साउथ चाइना सी’ को आयल ब्लक नम्बर १२८ बाट पछि हट्न भारतले राज्य नियन्त्रित ओएनजिसी विदेश लिमिटेड (ओभिएल) लाई अनुमति प्रदान गरेको छ । भियतनामसँग मिलेर ओभिएलले तेल उत्खनन परियोजना सञ्चालन गर्ने सहमति यसअघि बनेको थियो । प्राविधिक तथा व्यापारिक लाभहानीको विश्लेषण गरी परियोजना अघि बढाउने अथवा बन्द गर्ने निर्णय गर्न भारतले ओभिएललाई निर्देशन दिएको छ ।
ब्लक नम्बर १२८ को समुद्री पिँध अत्यन्त कडा भएकाले उत्खनन कार्य गाह्रो भएको ओभिएलले यसअघि जनाएको थियो । भारतीय विदेश मन्त्रालयले पेट्रोलियम मन्त्रालयलाई हालै पत्र लेखी प्राविधिक एवं व्यापारिक लाभहानीको गणना गरी तेल उत्खनन गर्ने/नगर्ने निर्णय गर्न निर्देशन दिएको हो । यद्यपि, चीनले आफ्नो सार्वभौमिकता दाबी गरेको जलक्षेत्रमा भारतको प्रवेशलाई नरुचाइरहेका बेला लचिलो हुने भारतको कदमलाई कूटनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । चीनलाई शान्त पार्ने उद्देश्यले भारतले यस्तो निर्णय गरेको अनुमान सर्वत्र गरिएको छ । तर, भियतनामसँग मिलेर ‘साउथ चाइना सी’ का अन्य ब्लकमा तेल उत्खनन गर्ने निर्णयबाट भने भारत अझै पछि हटेको छैन ।
भारतले ‘साउथ चाइना सी’ मा आफ्नो संलग्नता विशुद्ध आर्थिक उद्देश्यबाट प्रेरित रहेको जनाउँदै आएको छ । तर, चीनले भने आफूलाई घेराबन्दीमा पार्ने बृहत् रणनीतिअन्तर्गत भारतले ‘साउथ चाना सी’ मा परियोजना सञ्चालन गर्न खोजेको आशंका गर्दै आएको छ ।
‘भारतका छिमेकी राष्ट्रसँग मिलेर ‘स्ट्रिङ अफ पल्र्स’ रणनीतिअनुरूप भारतलाई घेराबन्दीमा पार्ने कार्यमा चीन लागेका बेला भारतले चीनका छरछिमेकमा गतिविधि बढाउने निश्चय गरेको थियो । ‘साउथ चाइना सी’ मा भारतको उपस्थिति यसै नीतिको उपज थियो । ब्लक नम्बर १२८ बाट पछि हट्ने निर्णयले चीनको बढ्दो आक्रमकताबीच रणनीतिक महत्त्वको यस क्षेत्रमा भारतको उपस्थिति कम हुनेछ,’ इन्डिया टुडेको अनलाइन संस्करणले आइतबार जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया