मोहनचन्द्रलाई देशकै चिन्ता


उमेरले सात दशक काटिसके मोहनचन्द्र अधिकारीले । तर, आवाजमा झल्कने उनको जोसचाहिँ ३०–४० वर्षअघिकै जस्तो छ । भन्न त कहाँ छाड्छन् र, ‘अहिले पनि लक्काजवान छु जस्तो लाग्छ ।’ युवा जोसमा रहँदा मुलुकलाई समाजवाद हुँदै साम्यवादसम्म पुर्‍याउने सपना साँचेका थिए यिनले । झापा आन्दोलनका क्रममा ‘सामन्त’हरूलाई दोहोलो कढाए रे † युवा अवस्थामा १६ वर्ष नौ महिना जेलमै बिताएछन्, विभिन्न दसवटा जेलमा पुर्‍याइएछन् । केही गर्ने समय कैदी भएरै बित्यो । लामो समय जेल बसेकै कारण कसैकसैले नेपालको नेल्सन मन्डेला पनि भने उनलाई । तर, अहिलेचाहिँ राजनीतिमा उति सक्रिय छैनन् यी बूढा । ती स्मृतिहरूचाहिँ यिनको जोसजत्तिको जवान बनेर स्मृतिमा छङछङाइरहन्छन् रे †
चाउरी परेका गालाले अनुहार खुम्च्याउँदै लगेका बेला नेपालमा अहिले संशोधनवाद हाबी भइरहेको र त्यो समाप्त भएरै छाड्ने सुनाउँदै छन् यी माओत्से तुङका पथप्रेमी, ‘हजारचोटि संशोधनवादले जिते पनि अन्तिममा समाजवाद, साम्यवाद आएरै छाड्छ ।’ मनले भन्छ रे, ‘मोहनचन्द्र तिम्ले देखेको सपना र नेपालमा कम्युनिस्ट पार्टी स्थापनाको उद्देश्य पूरा भएकै छैन । अझै केही गर्नैपर्छ । ‘र म त्यो गर्न अझ तयार पनि छु’, उनले सुनाए, ‘मलाई अहिलेका ठिटेनेताले पत्याउँदैनन् किनकि उनीहरूले कम्युनिस्ट पार्टीको विचार भुलिसके ।’
बिहान ५ बजे नै उनको निद्राले बिदा लिइसकेको हुन्छ । नियमित मर्निङवाक गर्छन् । शरीरले उमेरजन्य केही रोग भिरिसकेको छ । सँगसँगै चिन्ता पनि छ, देशको अवस्था र कम्युनिस्ट पार्टीहरूले लिएको नीति देखेर । सुगरको औषधि नियमित खान्छन् । जेल पर्दाको यातनाले गर्दा अरू पनि शारीरिक समस्या थिए, तिनीहरूलाई चाहिँ तह लगाएछन् । त्यसो त केही दिनअघि बेहोस पनि भएछन् । ‘त्यसपछि अलि कमजोरी पनि महसुस हुन त्ँथाल्यो,’ उनले भने । तर, पत्रिका पढ्दा सधैँ चस्मा लगाउँदैनन् रे उनी, कहिलेकाहीँ मात्र हो ।
अहिलेसम्म उनको मूल पार्टी एमाले नै हो । उनका धेरै चेला मन्त्री भइसके । कतिले त उनलाई नचिन्दा पनि हुन् । बुढ्यौलीमा बसेर अहिलेको राजनीतिक प्रवृत्ति नियालिरहेका उनी भन्छन्, ‘उनीहरूलाई पार्टीकै वास्ता गर्ने फुर्सद त छैन, मेरो के वास्ता गर्छन् त । मलाई जे गरे पनि देशलाई चाहिँ वास्ता गरे हुन्थ्यो ।’ बहुमतभन्दा बढी वामपन्थी संसद्मा हुँदा पनि ‘जनताको संविधान आउने संकेत नदेख्दा’ उनको मन पटक्कै मान्दो रहेनछ । त्यसैले पनि ‘सर्वहारावर्गीय कम्युनिस्ट’ कसैलाई देख्दा रहेनछन् नेपालमा उनी ।
बुढेसकाल लागेर राजनीतिबाट बिदा लिनु भएको हो कि ? यो प्रश्नको प्रतिवाद गरे उनले, ‘म कहाँ बूढो भएको छु, एमालेको जनताको बहुदलीय जनवादले पो मलाई बूढो बनाएको त । बहुदलीय जनवाद भनेको धनी–गरिबको खाडल कायम राख्ने हो, उनीहरू अहिले धनाढ्य हुन खोज्दै छन्,’ उनी थप्छन्, ‘नयाँ जनवाद मान्ने मजस्तालाई टाढै राख्न खोज्दै छन् ।’ उनलाई पार्टीले आफूलाई बूढो भनेर पाखा लगाउन खोजेको पटक्कै मन पर्दो रहेनछ । साथै जनताको बहुदलीय जनवादले पार्टीमा विकृति ल्याएको उनलाई लाग्छ ।
अहिलेका कम्युनिस्ट नेता उनको सल्लाह लिँदैनन् रे । धेरै समय एमालेका सल्लाहकार रहे उनी । सल्लाह पनि दिए । ‘तर, ती कहिल्यै लागू गरेनन्,’ उनले सम्झिए । उनी नेपालका सबै कम्युनिस्ट एक भएको देख्न चाहँदा रहेछन् । तर, उनको अर्ती कसैले टेरेनन् । बरु एमालेभित्रै उनलाई आरोप पो लाग्यो, माओवादीतिर झुक्न खोजेको भन्दै ।
हिजोआज उनको भेटघाट नेताहरूसँग कमै हुन्छ । तैपनि भेट्दा विदेशी हस्तक्षेपबाट देशलाई जोगाउन सल्लाह दिने गर्दा रहेछन् । पचासौँ वर्ष बिताएको पार्टीले उनलाई कहिलेकाहीँ सम्झने भनेको उही माला लगाइदिने र दोसल्ला ओढाइदिने मात्र हो र † उनी आफैँ पनि पहिलेजति क्रियाशील छैनन्, उमेर अनि रोगले पनि दिँदैन । पार्टी मुख्यालय बल्खु पुग्ने चाहना पनि उति राख्दैनन् । तर पनि भन्छन्, ‘म बूढो भइसकेकोचाहिँ छैन है, अझै जुनसुकै जिम्मेवारी राम्रैसँग निर्वाह गर्न सक्छु ।’ वर्तमानमा एमालेले लिएको सिद्धान्त सही नरहेको बताउँदै नेताहरूलाई खबरदारी गरे उनले, ‘हिजोका दिनमा सहिदहरूले नौलो जनवादी क्रान्तिका लागि बलिदानी दिएका हुन्, बहुदलीय जनवादका लागि होइन ।’

प्रतिक्रिया