संविधान निर्माणमा मतदान प्रक्रिया

मतदान हुँदा संविधान बन्दैन
डा. प्रकाशचन्द्र लोहनी
सभासद्, राजपा नेपाल

हामी संविधान निर्माण गरिसक्नुपर्ने अन्तिम समयमा आइपुगेका छौँ । यस अवधिमा पनि राजनीतिक दलहरूबीच सहमति नभईकन संविधान निर्माण असम्भव छ । राज्य पुन:संरचनाका विषयमा दलहरूबीच सहमति भयो भने धेरै विषयमा मतदान गर्न नपर्ने अवस्था आउँछ । अहिले एमाओवादी, कांग्रेस, एमालेलगायत अधिकांश राजनीतिक दल आन्तरिक विवादले ग्रस्त छन् । यस्तो अवस्थामा संविधान निर्माणका लागि मतदान गर्नुपर्‍यो भने दलहरूको आन्तरिक विवाद अझै चुलिनेछ । संविधानसभामा मतदान भइहाल्यो भने कसैको पनि बहुमत आउन नसके जटिल अवस्था आउन सक्छ । बहुमतबाट पारित गरिसकेपछि पनि त्यसलाई संविधानसभामा लगेर दुईतिहाइले पारित गर्नैपर्ने हुन्छ । यो प्रक्रिया निकै लामो र झन्झटिलो प्रक्रिया हो । यही प्रक्रिया अबलम्बन गर्नु थियो भने एक वर्षअघि सुरु गर्नुपर्ने थियो । अब १२/१३ दिनमा यो प्रक्रियाबाट संविधान निर्माण गर्न असम्भव छ ।

राष्ट्रिय एकीकरणका लागि पहल
गिरिराजमणि पोखरेल
सभासद्, एमाओवादी
अहिलेको संविधान निर्माण प्रक्रिया सामान्य संविधान निर्माणको प्रक्रिया र पद्धति मात्र नभई राष्ट्रिय एकीकरणको प्रक्रिया पूरा गर्ने पनि हो । अहिले हामी संवैधानिक पद्धतिमार्फत राष्ट्रिय एकीकरणका लागि पहल गरिरहेका छौँ । १२ बुँदे सम्झौतादेखि संविधानसभा निर्वाचन हुँदै आजसम्मका महत्त्वपूर्ण घडीमा राजनीतिक दलहरू आपसमा समझदारीकै माध्यमबाट अघि बढेका छन् । तर, संविधान निर्माणको अन्तिम समयमा आएर अलिकति ढिलो गरी मतदान प्रक्रिया अबलम्बन गर्नुपर्ने भएको छ । तर पनि दलहरू न्यूनतम सहमति गरेर अघि बढ्ने कोसिसमा छन् । अहिले मुलुकको राजनीति अप्ठ्यारो बाटामा छ । राज्य पुन:संरचना र संघीयताजस्ता विषय आफँैमा एउटा लामो अभ्यास र पद्धति हो । अहिलेको प्रमुख दायित्व भनेको राष्ट्रिय एजेन्डामा दलहरूबीच न्यूनतम सहमति गरेर संविधान निर्माण गर्ने र मुलुकमा जारी संक्रमणकाललाई चाँडो अन्त्य गर्नु नै हो ।

प्रतिक्रिया