भिडन्तको तयारी गरेका छैनौँ : चीन

बेइजीङ : चीनले ‘साउथ चाइना सी’ मा युद्धको तयारी गरिरहेको भन्ने समाचारको खण्डन गरेको छ । ‘साउथ चाइना सी’ का कतिपय विवादित टापुको स्वामित्वलाई लिएर फिलिपिन्स र चीनबीच विवाद बढिरहेका बेला चीनले भिडन्तको तयारी गरेको समाचार हालै सार्वजनिक भएको थियो ।
‘जनमुक्ति सेना, ग्वान्झाउ सैन्य क्षेत्र कमान्ड र चिनियाँ नौसनिकको ‘साउथ चाइना सी’ लक्षित युद्धपोत युद्धका लागि तत्पर रहेको भन्ने समाचार सत्य होइन,’ चिनियाँ प्रतिरक्षा मन्त्रालयले शनिबार जनाएको छ । ‘साउथ चाइना सी’ मा रहेको हुआङयाङ टापुमाथि चीन र फिलिपिन्सले आआफ्नो स्वामित्व दाबी गर्दै आएका छन् । टापु छेउमा दुवै राष्ट्रले असैनिक पोत तैनाथ गरेका छन् ।
गत महिना चिनियाँ माझीको एउटा समूह टापु प्रवेश गरेपछि दुई देशबीचको विवाद पुन: सतहमा आएको थियो । चिनियाँ माझीको प्रवेशप्रति फिलिपिन्सले आपत्ति जनाएको थियो । लगत्तै चीनमाथि दबाब सिर्जना गर्न फिलिपिन्सले अमेरिकासँग मिलेर विवादित टापुछेउ संयुक्त नौसैनिक अभ्यास गरेको थियो । मानवबस्ती नरहेको सो टापुमा ग्यास र तेलको अथाह खानी रहेको बताइन्छ । (एजेन्सी)

प्रतिक्रिया