“स्कुल जाने बेलामा बिहे पो भयो”


भाइबहिनी हो, विसं १९८९ को माघ १७ गते श्रीपञ्चमीका दिन मैले पहिलोपटक यस धर्तीमा आँखा उघारेँ । म जन्मिने बेलामा मेरो बाबुको उमेर ४० वर्ष नाघेको हुँदा बुढेसकालमा जन्मेको जेठो सन्तान फाप्दैन र धेरै बाँच्दैन भनेर मेरो जन्म भोजपुरको सट्टा मावल खोटाङको पुराना गाउँमा गराइएको रहेछ ।
मेरा बाबु पण्डित हुनुहुन्थ्यो । हामी दुई आमाका तीन बहिनी र ६ भाइ सन्तान छौँ । मैले सिलोटमा पाँच वर्षको उमेरमा साउँ अक्षर चिन्ने र लेख्ने मौका पाएँ । पछि अक्षर राम्रो बनाउन भालुबाँसको पट्याँस (बाँसमा पलाउने र फुकाएर फराकिलो पारी लेख्ने काममा प्रयोग हुने) मा पनि लेख्न सिकेँ ।
भाइबहिनी हो, तिमीहरूलाई सुनेर बडो अचम्म लाग्ला, पाठशाला भर्ना हुने आठ वर्षको बाल उमेरमा मेरो बिहे पो भयो । सानो छँदा हाम्रो आफ्नै खालका गाउँले खेलहरू हुन्थे । जस्तै– खोप्पी खेल्नु, डन्डीबियो, धुलौटे (धुलोभित्र कुनै वस्तु राखेर खोज्ने खेल), गिर (काठको भकुन्डो), हरि गुड्डु (दौड) लगाउनु आदि । खेलकुदभन्दा पढाइलेखाइतिरै मेरो लगाव र झुकाव बढ्दै गएकाले म कुनै पनि खेलमा सिपालु र पोख्त हुन सकिनँ ।
भाइबहिनी हो, मैले तिमीहरूले जस्तो अंग्रेजी शिक्षा हासिल गरेको छैन । मैले घरमै र पछि भोजपुरमै भाषा पाठशालामा पढ्ने मौका पाएँ । म त्यहीँ डेरा गरेर पढ्न थालेँ । त्यस बेला विद्यार्थीले आफैँ खाना पनि पकाउन जान्नुपथ्र्यो, नत्र भोकै डल्लिने डर हुन्थ्यो ।
अब मैले सानो हुँदा गरेको एउटा उपद्रो सुनाउँछु है त † त्यति बेला मान्छेहरू बारीमा झारपात डढाइरहेका थिए । हाम्रा केही साथीहरूबीच होड चल्यो, कसले आगो उफ्रेर नाघ्न सक्छ भन्ने । मभन्दा उमेरमा अलि ठूला साथीहरूले त दौडेर आगो फुतुफुतु नाघ्न थाले । बिस्तारै मेरो पनि पालो आयो । म पनि न्वारानदेखिको बल लगाएर दौडेँ तर बित्यास पो पर्‍यो । जति बल लगाए पनि नाघ्न सकिनँ, उल्टै झ्याम्म आगोमाथि पो परेँ । आगोले पोलेर आत्था र उत्थु गर्दै थिएँ, साथीहरूले मलाई निकाले । मेरो गोडाभरि झिल्का र फोकैफोका थिए । त्यो आगोले डामेको खत मेरो गोडामा अझै छ । आगोसँग खेलबाड गर्नु हुन्न र जोसमा होस हराउनु हुँदो रहेनछ भन्ने कुरा त्यो दिन मैले चाल पाएँ ।
म १० वर्षको हुँदा मेरी आमा परलोक हुनुभयो । सानै उमेरमा मेरी पत्नी पनि बितिन् । घरमा बाबुले फेरि अर्को बिहे गर् भनेर दबाब दिन थाल्नुभयो, म घर छाडेर हिडेँ । पछि सबैले सम्झाई–बुझाई फर्काए ।
सानो छँदा मेरी हजुरआमाले विभिन्न खालका रमाइला, रोचक, आँटिला र साहसिक पात्रहरू भएका कथा सुनाउनुहुन्थ्यो । मलाई पनि ती कथाका पात्रजस्तै निडर भएर सत्यको बाटोमा हिँड्नुपर्छ भन्ने कताकता लाग्थ्यो । अहिले लाग्छ– ती अतीतका कथा सुनेर नै ममा इतिहासप्रति रुचि बढेको हुनुपर्छ ।
एकचोटि बुबालाई औषधि गर्न म र मेरा केही आफन्त भारतको लहरियासराय पुगेका थियौँ । त्यहाँ जाँदा मैले रेल चढ्ने मौका पाएँ । रेलको झ्यालबाट टाउको बाहिर ननिकाल्नु भन्थे तर मचाहिँ बुबाहरू सुतेको मौका छोपेर टाउको बाहिर निकालेर हेरिहाल्थेँ । लहारियासराय पुग्दा रेलको हावाले मरो टाउकामा हानिसकेछ । बुबाको औषधि गर्न आएको त आफैँलाई पो हनहनी ज्वरो आयो । त्यहाँ पुगेर सबै जना आवाज नआउने (मूक) सिनेमा बाइसकोप हेर्न जानुभयो तर ज्वरोले गर्दा मैले हेर्ने मौका गुमाएँ । मैले टिकट काटेर आजसम्म हलमा गएर कुनै सिनेमा नै हेरेको छैन । बरु लहरियासरायमा ‘भारत छोडो आन्दोलन’ हेरेको थिएँ । रिसल्लाहरूले मानिसहरूलाई तितरबितर पारेको त्यो निर्मम दृश्य भने अझै मेरा आँखामा नाच्दै छ ।
भाइबहिनी हो, एकचोटि गाउँमा ग्रामोफोन आयो । हामी भुराभुरी सुन्नलाई चौरमा भेला भयौँ । त्यो भाँडोले गीत गाउँछ रे भन्दा बडो अचम्म लागेको थियो । नभन्दै त्यसबाट त मीठो गीत पो बज्न थाल्यो । ठूला मानिसहरू हामीलाई उल्काउन झन् थपिदिन्थे– ‘यसभित्र मान्छे हुन्छ, अलि परपर सर है † अहिले रिसाएर गीत गाउनै छाड्ला नि † बाहिर निस्केर थप्पड लगाउला नि †’ हामी पनि त्यहाँभित्र हो न हो मान्छे नै हुन्छजसो गरी डराएर परपर सर्ने गथ्र्यौं । भोजपुरको गोगने पाठशालामा सम्पूर्ण मध्यमा उत्तीर्ण गरेर म १५ वर्षको उमेरमा काठमाडौं पढ्न आएँ ।
प्रस्तुति : अनुक्रमराज

प्रतिक्रिया