“मरामरा”बाट “रामराम” नहुँदै कुलेलम


नियति हो या परिस्थिति, ठ्याक्कै भन्न सकिन्न । मलाई सम्झना छ, धेरैधेरै वर्षपहिलेको एउटा गोधूली साँझको । थकितथकित भइसकेको दिन ओथारो बस्न लागेको थियो । पर क्षितिजमा रातको कालिमा छाउँदै थियो । म थिएँ टिन एजर, त्यस्तै १४–१५ वर्षे ठिटो । अचानक मेरो दाहिने हत्केला चिलाउन थालेको थियो । सुनेको थिएँ– लोग्नेमान्छेको दाहिने हात चिलायो भने पैसा पाइन्छ रे † तर, यो के ? हत्केला चिलाएर पैसा पाइनु त कता हो कता, उल्टै हत्केलाको सबैतिर अचम्मका फोका उठेर एक–डेढ महिनाजति खुबै दु:ख पो पाएँ । मुखबाट निस्की त हाल्यो–हे भगवान् †

कुनै अंग्रेजी फिल्म हेर्दै थिएँ, सायद ‘स्टार वार्स, पार्ट फाइभ’ । त्यसको एउटा दृश्यमा सवाल–जवाफ भइरहेको थियो ।
‘के तिमी ईश्वरमा विश्वास गर्छौ ?’
‘म ब्रह्माण्डको रचना हुनुपछाडि लुकेको रहस्य बुझ्ने प्रयास गरिरहेको छु ।’
‘के तिमी ईश्वरमा विश्वास गर्छौ ?’
‘म एक प्राज्ञ हुँ ।’
‘के तिमीलाई धर्ममा आस्था छ ?’
‘आस्था त एउटा अद्वितीय उपहार हो, जुन मैले अहिलेसम्म पाउन सकेको छैन । त्यो आस्था र
धर्म सदियौँ पुराना हुन् । विज्ञान आस्था (चर्च)को शक्तिलाई चुनौती दिने सन्दर्भमा अझै आलोकाँचै
छ । तर, संसारलाई दुवै कुरा चाहिन्छ– विज्ञान पनि र धर्म पनि ।’
यो संवादले मलाई राम्ररी नै तान्यो । किनभने, गीता होस् या कुरान, बाइबल होस् या त्रिपिटक, बहाई होस् या जरथ्रुस्ट, गुरुग्रन्थ साहिब होस् या शिन्तो अथवा कन्फ्युसियस– सबै सम्प्रदाय र तिनका घटकमा धार्मिक आस्था एवं विश्वास अनि अनास्था एवं अविश्वास जीवनका अविच्छिन्न पाटा बनेर
रहेका छन् ।
म कुनै भन्नलायकको आस्तिक होइन, ईश्वरको पूजा गरेर कहलिने धर्मप्रति म कहिल्यै उस्तो आस्थावान् रहिनँ । तर, बेलाबखत, धेरैजसो त अप्ठेरो पर्दा, असजिलो अवस्थामा फस्नुपर्दा मुखबाट फुत्त निस्कन्छ (अरू पनि धेरैधेरैको मुखबाट निस्केको सुनेको छु) – हे भगवान् † अथवा, हे प्रभु, ओ गड † ओ लर्ड † ओ जिजस † या अल्लाह † या खुदा † वाहे गुरु †
भगवान् अथवा ईश्वर के कुरा हो भन्ने थाहा छैन तर यो शब्द एउटा बानी बनेर अनायासै बेलाबखत मुखबाट निस्कने गर्छ ।

मलाई सम्झना छ, किशोरवयमा प्रवेश नगर्दैको कुरा हुनुपर्छ । किनकिन एउटा लहडले गम्लङ्ग अँगालेको थियो– मलाई ‘ईश्वर’ चाहिएको थियो र म त्यसकै खोजीमा थिएँ † कथा–कुथुङ्ग्रीमा, धार्मिक पुस्तकमा र तिलस्मी गल्पहरूमा पढेको वा सुनेको प्रभाव पनि पर्याप्त मात्रामा थियो (अझ, बढी नै थियो होला) । अनि, एक दिन ‘ल, जे त होला, तपस्या गरेर बस्ने र ईश्वरलाई साक्षत्कार गर्ने’ सोच पलायो ।
तिनताका हामी भारत दार्जिलिङको बेङ्डुबी भन्ने ठाउँमा बस्थ्यौँ । अनि, आफ्नो लहडी सोच पूरा गर्न म दुईजना दाइसँगै हिडेँ एक दिन जंगल किनारमा तपस्या गर्न ।
जंगल हाम्रो बस्तीभन्दा धेरै टाढा थिएन । त्यहाँ खोज्दै जाँदा एकदमै नजिक रहेका दुईवटा रूख भेटिए । ती रूखको नाम अहिले मलाई याद छैन । रूखमै चढ्ने र अलि सजिला हाँगाहरूमा बस्न मिल्ने अनि घामपानीबाट पनि यथासम्भव रक्षा हुन सक्ने गरी व्यवस्थापन गरियो ।
विद्यालयमा बिदाको समय थियो । बिहान सकेसम्म चाँडै खाना खाइवरी निस्कन्थ्याँ र रूखमा बनाइएको त्यही तपस्यास्थलमा बस्न पुग्थ्याँ अनि रात छिप्पिन थालेपछि घर फर्किन्थ्याँ ।
रत्नाकर डाकु घटना परिस्थितिले गर्दा ‘मरा मरा’ मन्त्र जप्दै अन्तत: रामायणका रचयिता महर्षि वाल्मीकि बन्न पुगेको कुरा हामीले पढेसुनेका थियौँ । अनि, त हामी पनि ‘मरा मरा’ भन्दै ‘राम राम’सम्म आइपुग्थ्याँ र त्यही दोहोर्‍याइरहन्थ्याँ । तिनताका आनीछोइङ र न्हू वज्राचार्यको चर्चित कम्बिनेसनको ‘… चित्त शुद्ध होस् मेरो, बोली बुद्ध होस्, मेरो पाइतालाले किरै नमरोस्…।’ भन्ने कहीं छेकछन्दै थिएन । तर, ईश्वरअनुरागी हाम्रो बालमनमा ब्रह्माण्डीय अहिंसा र उपल्लो दर्जाको परोपकारी भावना पलाएको हुन्थ्यो । हामी त्यो पवित्र तपस्यास्थल जाँदाआउँदा बाटामा कतै कमिला नै पनि कुल्चिन्छ कि भनेर विशेष सतर्क भएर हिँडेका हुन्थ्यौँ । सायद बुद्ध बन्ने अभ्यास सुरु भएको थियो ।
बिहान–साँझ घरमा खान खाँदै बस्ने र दिउँसोदेखि अबेला रातिसम्म तपस्या गर्ने क्रम प्राय: दुई साता जति जारी रह्यो । बीचमा कहिलेकाहीं पानी पर्‍यो तर त्यो सिमसिमे मात्र हुन्थ्यो– ठूलो र भिजाउने खालले आएको हुँदैनथ्यो । त्यस्तोमा सानासाना हाँगा र धेरै पात मिसाएर मचानजस्तो रूप दिई हामीले सानोतिनो पानीले नभिज्ने व्यवस्थासम्म मिलाएका थियौं ।

हाम्रो बालतपस्या निर्बिघ्न जारी थियो ।
तर, अचानक एकदिन ठूलो पानी पर्‍यो र लामै समयसम्म बिदो हुन मानेन । हामीलाई पर्‍यो
फसाद † हामी पानीमा नराम्ररी चुटियौंँ । साँझ अँधेरिइसकेको थियो । अब जाडो हुन थाल्यो । पानी मचानको ओतमुनि हाम्रो तपस्यास्थलमा एकनासले चुहिरहेको थियो । यस्तै हालतमा त्यहाँ बसिरहन सम्भव भएन । पानीले चुर्लुम्मै भएर रूख पनि चिप्लो भइसकेको थियो । तैपनि, एक बल्ड्याङसम्म पनि नखाई हामी तल ओर्लन सफल भयौँ । भुइँमा उभिन आइपुग्दा त कुनै युद्ध नै जितेजस्तो पो अनुभूति भयो † लुगलुग काम्दै बल्लतल्ल घर आइपुग्याँैं । सायद घरमा एक थुन्से गाली र एक रोँचे भकुराइ पनि पाइयो । भोलिपल्ट मात्र होइन, ज्वरो आएर तीन दिनसम्म ओछ्यान समात्नुपर्‍यो ।
निको भएपछि घरमा सबैलाई छलेर हतारहतार उही पवित्र तपस्यास्थल पुगें । तर, त्यहाँ धेरैजसो पातसमेत झरिसकेका रूखबाहेक केही थिएन । हाम्रो प्रिय तपस्यास्थल पनि हुरीबतास र वर्षाले उडाएछ, नेस्तनाबुद पारिदिएछ । सफलताको नजिक पुगेर फर्किन परेकोजस्तो अपार निराशाको भावमा तरंगिँदै लुरुलुरु घर फर्किएको थिएँ । अनि, त्यसपछि त त्यो भीषण तपस्या ‘मरा मरा’ बाट ‘राम राम’ नहुँदै कुलेलम हुन पो पुगिएछ ।
सोचेका थियाँ, हामी वाल्मीकि बन्दैछाँ– धमिराले शरीरमा घर नबनाउँदासम्म हामी अहोरात तपस्यामा लीन रहनेछाँ । यति हदसम्म भएपछि कसो एकदिन प्रभुको दर्शन नपाइएला † हामी अज्ञात सुदूर भविष्यमा मनको लड्डु घिउसित खान्थ्याँ र त्यो सुन्दर दिन सम्झेर फुलेल हुन्थ्यौँ जुन दिन हामी पनि तपस्याको फल प्राप्त भइसकेका ‘ज्ञानी आत्मा’ भइसकेका हुन्थ्यौँ । तर, भर्सेला परोस्, त्यस दिनको आँधी, हुरी र मुसलधारे पानीलाई जसले हाम्रा सारा रुमानी कल्पना र सोम शर्मामय सपनाहरूलाई पहिले भिजायो अनि बगाएर लगिदियो ।

बालापन त हो, एउटा न एउटा धुन सवार हुन्छ । त्यो पूरा होस् या नहोस्, अर्को फेरि जन्मिहाल्छ ।
तिनताका सन्तोषीमाताको महिमा उभारमा थियो । ‘जय सन्तोषी माँ’ फिलिम पनि बनेको थियो । धर्मभीरु जनमानसमा हरेक शुक्रबार सन्तोषीमाताको व्रत बस्ने चलन चल्न थालेको थियो । आफूलाई भोक लागेर केही खाने कुरा गर्‍यो, ‘आज त सन्तोषीमाताको व्रत हो, खान हुँदैन’ भनेर मुखै थुनिदिने † लौ, जसो हो भनेर एकदिन म पनि व्रत बस्न अघि सरें ।
दस–बाह्र वर्षको थिएँ हुँला । बिहानै उठेर नुहाएँ, धुप आदि बालेर सन्तोषीमाताको ‘मैँ तो आरती उतारूँ रे …, सन्तोषीमाता जय जय माँ…’ भन्ने आरती पनि भाका हालिहाली गाएँ । चियासमेत केही खाइनँ । बिहान र दिउँसो त सामान्य भएर बिते तर तीन बज्न थालेपछि त मलाई भाउन्नै छुट्न थाल्यो । कस्तोविधि भोक लाग्यो भने म केही बोल्न र केही गर्न नै सक्दिनँ कि जस्तो हुन थाल्यो । एकछिन ढुलमुल मनस्थिति लिएर भए पनि बसिरहँ । पछि एउटा हिन्दी गीत सुनेँ जसको सार थियो– भोको पेटले भजन गाउन सकिंदैन ।
त्यसै दिनदेखि हो, आफू मरेर कुनै चिनजान नै नभएका देवीदेउता खुसी पार्न खोज्ने व्रतबाट मेरो विश्वास सधैंका लागि हट्यो ।
त्यसैताका, बिहान नुहाइवरी धुप बाल्ने, त्यसकै टीका लगाउने र ‘ओम जय जगदीश…’ भन्दै आरती गाउने धुन चढेको थियो । यो प्रक्रिया अलि धेरै समय चल्यो र जाडो बढेपछि हरायो । यदाकदा ‘हनुमान चालिसा’ को पाठ पनि गरिन्थ्यो । तर, ती यावत् कुरा गरेर मैले के पाएँ र के पाइनँ, मलाई कहिल्यै
थाहा भएन ।
आज यी र यस्ता सबै कुरा सम्झना मात्र बनेका छन् । बाल्यावस्था र किशोरावस्था मदेखि टाढिइसकेका छन् । परिवेश, अध्ययन र अनुभवले मलाई भौतिकवादसित नजिक्याएका छन् । यो भौतिकवादमा धर्म र देवता दुवै छैनन्, तेत्तीसकोटि देवताको युटोपियालाई कुनै ठाउँ छैन । यहाँ जीवनका जटिलता छन्, बाँच्नका लागि सक्षम र अक्षमबीचको अनवरत संघर्ष छ, भौतिक सम्पन्नता प्राप्त गर्ने दौड छ, व्यक्तित्व विकासको नीरस प्रतिस्पर्धा छ, मानव र प्रकृतिबीच कठोर द्वन्द्व जारी छ ।
तर, पनि म विश्वास गरूँ वा नगरूँ, घरिघरी मनमा ‘गड ब्लेस मी’ भन्ने भावना अझै उठिरहने गर्छ । ईश्वरीय चाहनाको यो भावना के हो– धर्मविरोधी कट्टरताको अभावको अभिव्यक्ति हो या धर्मको नाममा मलाई प्राप्त परिवेशजन्य सामाजिक लिगेसी ?

आफू समस्यामा पर्दा जसको पुकारा गरिन्छ, सायद उनै हुन् भगवान् । आफूलाई समस्या पर्दा सहयोग गर्ने मानिस जोसुकै भए पनि भगवान्सरह हुन्छ । आकांक्षाहरू पूरा गर्न र लक्ष्यहरू हासिल गर्न हामीलाई केही आधार चाहिन्छ, त्यो आधार जसलाई दुनियाँ आत्मविश्वास भनी पुकार्छ (चाहे त्यो अमूर्त नै किन नहोस्) ।
आत्मविश्वासको नाम नै भगवान् हो भने सायद त्यो भगवान् मसित छ । त्यो खोज्न म अन्यत्र भौँतारिइरहनु पर्दैन ।

प्रतिक्रिया