भीमनिधि तिवारीको काव्यकारिता


नेपाली पाठकहरूले असाध्यै रुचाएका हाम्रा अग्रज साहित्यकार भीमनिधि तिवारीको जन्म विक्रमाब्द १९६८ को फागुन ३० गते भएको हो । नेपाली साहित्यका कथा र नाटकमा प्रशंसनीय योगदान दिने स्रष्टा तिवारीका कविताहरू पनि उत्तिकै अविस्मरणीय छन् । प्रकाशनका हेराइले ‘गोरखापत्र’ मा पहिले समस्यापूर्तिको छन्दोबद्ध श्लोक र ‘सूर्यघाट’ शीर्षक कविता विक्रमाब्द १९९१ मा देखा परेपछि उनको साहित्यिक रचनाकारिता संवत् २०३० मा उनको निधन नभएसम्म नै निरन्तर प्रवाहित रह्यो । उनले हात हालेका जुनसुकै विधामा पनि सबैले बुझ्न सक्ने सरल भाषाको शिष्ट, उपयुक्त र स्तरीय प्रयोग उनको विशेषता नै हो । निम्नवर्गीय पात्रहरूप्रतिको असीम स्नेह, सामान्य जनजीवनका समस्याहरूको छलकपटरहित विश्लेषण र अभिव्यक्तिका प्राञ्जलता र इमानदारीले गर्दा तिवारी अत्यन्त जनप्रिय साहित्यकारका रूपमा प्रतिष्ठित छन् ।
शैलीका दृष्टिकोणले भीमनिधि तिवारीरचित कविता लयात्मक, गद्यकवितात्मक र छन्दोबद्ध गरी मोटामोटी तीन प्रकारका छन् । लयात्मक भन्नाले गजल, भजन र गाउनका लागि उपयुक्त गीतिरचनाहरू बुझ्नुपर्छ । मोतीराम भट्टले प्रारम्भ गरी जनप्रिय तुल्याएको गजलशैलीलाई लक्ष्मीदत्त पन्त, गोपीनाथ लोहनी, शम्भुप्रसाद ढुंगेल आदिले गतिशीलता प्रदान गरे तापनि अरू शैलीका तुलनामा यसको विकास उति हुन सकेको थिएन । यसै अवस्थामा तिवारीका अति सुन्दर गजलहरू नेपाली पाठकगणसमक्ष प्रकट भए । तिवारीरचित ‘मेरी बयासी गजल’ को प्रथम संस्करण संवत् १९९४ मा निस्कियो र त्यसको लगत्तै केहीपछि अरू बीस नयाँ गजलहरू थपेर प्रकाशित भएको दोस्रो संस्करणले ‘बयासी र बीस गजल मेरी’ को अर्कै शीर्षक पाएको थियो । गजलकारका रूपमा तिवारीको ख्याति काठमाडौंका उच्चवर्गीय र शिक्षित परिवारहरूमा उनका प्रेमप्रसंगयुक्त श्रुतिमधुर गजलहरूले गर्दा निकै फैलन गयो । त्यस दशकभरि ती गजल स्नेहपूर्वक जताततै गाइन्थे ।
गजलमा युवकयुवतीहरूका कामजन्य आकर्षणकै बाहुल्य हुनाले र सुसंस्कार पोषित तिवारीको प्रतिभा आध्यात्मिकतातर्फ समेत प्रकट हुन छटपटाउनु स्वाभाविकै थियो । त्यसै हुनाले उनले भजनहरूको पनि यथेष्ट रचना गरे जसमा उनको ‘बयासी भजन’ (जुन विक्रमाब्द २०६० मा मात्र प्रकाशित भयो) उल्लेख छ ।  गजल र भजन लयात्मकताका उदाहरण हुन् । आफ्नो कविताकारिताको प्रारम्भमै छन्दोबद्ध श्लोक रचेर आफ्नो रुचि जाहेर गरिसकेका तिवारीका धेरै कविता संस्कृत छन्दोबद्ध रूपमा प्रकट भएकामा अस्वाभाविक मान्न मिल्दैन । तर, पाश्चात्य साहित्यको प्रभावले बिस्तारै प्रवेश पाउन थालेको ‘शारदा’कालीन नेपाली साहित्यको त्यस युगमा भीमनिधि तिवारीजस्ता अध्ययनशील, भावुक र प्रतिभासम्पन्न कवि आधुनिक गद्यकवितातर्फ आकृष्ट हुनु पनि उत्तिकै स्वाभाविक थियो । उनको पहिलो गद्य कविता ‘प्रेमको परिणाम’ १९९४ सालको ‘शारदा’ मा प्रकाशित भयो ।
लेखनाथ पौड्यालजस्ता मध्ययुगीन शैली र विचारमै रमाएका प्रखर प्रतिभा हुन् वा सम, देवकोटा, गोपालप्रसाद रिमालजस्ता उच्च कोटिका सफल गद्य कविहरू भन्दा पछि जन्मेर पनि आधुनिकताको चेतनाबाट वञ्चित भई लेखनाथ पौड्याललाई नै आदर्श मानेर लम्किरहेका आजका माधव घिमिरेजस्ता छन्दकवि हुन् अथवा छिमेकी हिन्दीका लयात्मक गीतिकविताको छायामा प्रेरणा बटुल्ने केदारमान ‘व्यथित’, सिद्धिचरण श्रेष्ठ वा युद्धप्रसाद मिश्र नै हुन् ती कुनै कविमा पनि गद्यकविताको या त प्रस्फुरण हुँदै भएन अथवा कतै कुनै भइहाले पनि फाट्टफुट्ट मात्र प्रकट हुन पुग्यो । भीमनिधि तिवारीमा रचनाकारिताको प्रारम्भमै छन्दोबद्धता र लयात्मकता प्रकट भए । उनमा गद्यकविताको पूर्ण र सफल प्रस्फुटनचाहिँ केही पछि मात्रै भयो र जब त्यो भयो त्यसमा व्यङंग्यात्मकताको प्रकाशसमेत अतुलनीय रूपले जग्मगायो ।
कवि तिवारीभित्र गजलकालमा प्रेम र कामवृत्तिजन्य भावहरूको शारीरिक सुखचेत जताततै जम्जमाएको र सल्बलाएको छ भने भजनहरूको सिर्जनामा कविले उच्च आध्यात्मिक मानवीय चेतलाई अभिव्यक्ति दिएका छन् । प्रारम्भिक कालका लयात्मक रचनामा छर्लंग भएका ती दुई मूलधाराका साथै पछि गएर कवि तिवारीको सामाजिक न्यायप्रतिको सजगता अझ टड्कारो हुँदै गएको छ । जनताप्रति हुनुपर्ने सामाजिक जनतान्त्रिक न्यायको बोधलाई कविले प्रवल रूपमा आफ्ना छन्दोबद्ध रचना तथा गद्यकवितामा प्रतिपादन गरेका छन् । एकातिर उनको छन्दोबद्ध काव्यात्मकतामा करुणाको बाढी उर्लेको छ भने अर्कातिर उनको सरल, सहज र संवेदनाजन्य गद्य कवितात्मक प्रस्तुतिमा व्यंग्यको वेगवान् वर्षा भएको छ । करुणाको कुरो उक्काउँदा ‘कवितानन्द’ (२००७ साल) मा समाविष्ट ‘काम्यो लुग्लुग त्यो गरीब बिचरा त्यसमा दया गर्छ को ?’ जस्ता जनपक्षीय कविताका साथै त्यसै संग्रहमा संकलित ‘दागबत्ती’, ‘अञ्जुको स्मृतिमा’ आदिजस्ता शोक कवितालाई र ‘तर्पण’ (शोककाव्य, १९९४) लाई पनि स्मरण गर्नुपर्छ । शोककाव्यकै फाँटमा ‘यशस्वी शव’ (२०१३ साल) पनि पर्छ, जुन राजा त्रिभुवनको मृत्युलाई सम्झेर लेखिएको थियो ।
व्यंग्यात्मकताका प्रखर उदाहरणका रूपमा २०१७ सालमा ‘मदनपुरस्कार’ पाउने ‘विस्फोट’ का कविताहरू र २०२६ मा प्रकाशित ‘तितौरामस्यौरा’ तथा २०२७ सालमा प्रकट भएको ‘सिंहदरबार’ का कविताहरू प्रसिद्ध र सर्वप्रशंसित छन् । भानुभक्त आचार्यको ‘वद्यूशिक्षा’ आधुनिक युगमा उति पाच्य नुहने देखेर कविले उपदेशात्मक ‘वरशिक्षा’ (२०१२ साल) पनि लेखेका थिए भन्ने ऐतिहासिकतालाई हामीले बिर्सनु हुँदैन । हुन पनि तिवारीको काव्यात्मक उपलब्धि अपरिमेय छ । ‘बत्तिस पुत्तली’ (२०२७) र ‘कविताकुञ्ज’ (२०२४) देखि लिएर ‘तिवारीका अप्रकाशित कविता’ (२०४३) सम्म कुनैलाई नछाडि २०६२ सालमा सिक्किमस्थित ‘निर्माण प्रकाशन’ ले उनका समग्र कविताहरूको एउटै ग्रन्थ निकालिसकेको छ । नेपाली साहित्यिक क्षेत्रका बहुआयामिक र उत्कृष्ट प्रतिभा भीमनिधि तिवारीलाई ‘तिवारी साहित्य समिति’ ले मात्र होइन, हामी समस्त नेपाली साहित्यमा समर्पित व्यक्तिले बितेको साल २०६८ सालभरि उनको शतवार्षिकी भनाइ उनमा श्रद्धासुमन चढाउन पाउनु हाम्रो ठूलो सौभाग्य थियो ।

प्रतिक्रिया