जीवनमा कमभन्दा कम ढोंगी हुनु कम्युनिस्ट चरित्र हो भने निर्मल लामा नेपालका अब्बल कम्युनिस्ट हुन् । पहिलो पुस्ताका थुप्रै कम्युनिस्ट नेताझैँ उनी पनि कांग्रेसको राजनीतिक आन्दोलनबाट आएका थिए । तर, उनी कांग्रेसनजिक पुग्नुमा कांग्रेसको राजनीतिक विचारभन्दा पनि राणाविरोधी आन्दोलनको गुरुत्वले बढी काम गरेको थियो । वास्तवमा उनी कांग्रेसको राजनीतिप्रति आकर्षित पनि थिए, आकर्षित पनि थिएनन् । नेपालमा राणाशासन ढाल्नु थियो, त्यसको अगुवाइ तत्कालीन अवस्थामा कांग्रेसको संगठनात्मक क्षमता वरिपरिबाट सम्भवजस्तो देखिन्थ्यो, उनी कांग्रेस भए’ फेरि राणाशासन ढलेसँगै नेपाली जनतालाई सार्थक जनतन्त्र पनि दिनु थियो, जुन काम कांग्रेसबाट हुनै सक्दैनथ्यो, उनी कांग्रेसबाट विकर्षित थिए । यस्ता थिए कांग्रेसमा क्रियाशील तर वैचारिक–भावनात्मक रूपमा कम्युनिस्टनजिक रहेका प्रारम्भिक निर्मल लामा ।
फेरि उनको निम्न आर्थिक–सामाजिक पृष्ठभूमि र संघर्षशीलताले पनि निर्मल लामालाई आजीवन कांग्रेस भइरहन दिँदैनथ्यो । त्यसैले सात सालपछि उनका लागि कांग्रेस आफ्नो रहेन, उनी कांग्रेसका रहेनन् । धुइँपत्ताल खोजी गरेर प्रतिबन्धित कम्युनिस्ट पार्टीका नेता पुष्पलालको सम्पर्कमा पुगे । तर, पुष्पलालले पनि उनलाई सिधै कम्युनिस्ट पार्टीमा प्रवेश गराएनन्, ‘ट्रायल’ का रूपमा वामपन्थी कांग्रेसमा काम गर्न सल्लाह दिए । तर, मातृकाप्रसाद कोइरालाको नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने कि नहुने भन्ने केन्द्रीय कमिटीको बैठकमा निर्मल लामाले पुष्पलालकै निर्देशनमा सरकारमा जान नहुने पक्षमा पैरवी गरेपछि भोलिपल्ट बालचन्द्र शर्माले उनलाई पत्र पठाए– ‘तपाईं कम्युनिस्ट भइसक्नुभएको रहेछ । कृपया, तपाईंले राजीनामा गरिदिनुस् । होइन भने हामीले कार्बाही गर्नुपर्छ ।’ यही चेतावनी–पत्र निर्मल लामाका लागि ‘कांग्रेस’ नामधारी बुर्जुवा पार्टीहरूबाट सदाका लागि छुटकारा र कम्युनिस्ट पार्टीमा प्रवेश पाउने ढोका बन्न पुग्यो ।
कम्युनिस्ट आन्दोलनमा निर्मल लामा तिनै व्यक्ति हुन्, जसले न आफूलाई अनावश्यक रूपमा पहिलो नेतृत्व दाबी गरे, न आइलाग्दा पछि हटे । यसैले गर्दा एक चरण मोहनविक्रम सिंह र निर्मल लामा नेपालका माओ र चाओमा पनि दर्ज भए । यो नेपाली कम्युनिस्ट आन्दोलनमा निकै सुनिएको ‘फ्रेज’ पनि बन्न पुग्यो र यसलाई कतिपय कोणबाट हास्य पनि बनाइयो । यसलाई जसरी बुझे पनि नेकपा (चौम) सग्लो रहँदासम्म निर्मल लामाले ‘मोहनविक्रमले नीति बनाउने हो, मैले लागू गर्ने हो’ भनेर मोहनविक्रमलाई काँध थापेरै हिँडेका हुन् । फेरि मोहनविक्रमसँग विचार नमिलेपछि पुनर्गठित नेकपा (चौम) को पहिलो नेता भएर आन्दोलन हाँक्न हिम्मत गर्ने पनि उनै हुन् । तर, निर्मल लामालाई नेपाली कम्युनिस्ट आन्दोलनले खास यतिका लागि मात्र सम्झनुपर्ने कुनै दरकार छैन । उनले त नेपाली कम्युनिस्ट आन्दोलनका लागि प्रतीकात्मक नै सही, केही स्मरणीय मौलिक योगदानहरू दिएका छन् । अन्तर्राष्ट्रियस्तरमै कम्युनिस्ट पार्टीमा जसरी वैकल्पिक नेतृत्व निर्माण गर्ने कुरामा कमजोरीहरू देखिँदै आएको थियो, जसरी चीनजस्तो मुलुकमा माओले नचाहँदानचाहँदै पनि अन्तिम श्वास लिँदासम्म पार्टीको ‘चेयरम्यान’ हुनपर्ने विडम्बनापूर्ण नाटक पटाक्षेप भएको थियो, यसबाट पाठ सिक्नुपर्छ भनेर निर्मल लामाले बेलैमा युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गरेका थिए । क्रान्तिबारे नेपाली मौलिकतामा सोच्ने प्रारम्भिक पथ पनि उनैले पहिल्याएका थिए । उनको सोचाइ थियो– नेपालमा दीर्घकालनी जनयुद्ध र आम सहरिया संघर्षलाई जोडेर मात्र क्रान्ति गर्न सकिन्छ । माओवादी जनयुद्धले यसैलाई ‘फ्युजन’ सिद्धान्तको रूपमा व्याख्या गरेको हो । वास्तवमा २०६२–०६३ को जनआन्दोलन यही सिद्धान्तको कुशल प्रयोगको उपज थियो, जसले अन्तत: निर्मल लामालाई सही सावित गरिदियो । राष्ट्रिय नाचघरको १२ औं निर्मल लामा स्मृति दिवस यसैको साक्ष्य हो कि जस्तो देखिन्थ्यो ।
प्रतिक्रिया