संस्थानको चामल बिक्न छाडयो

सोलुखुम्बु, २९ वैशाख । नेपाल खाद्य संस्थानको मूल्यभन्दा बजार मूल्य कम भएपछि खाद्य संस्थान शाखा कार्यालय सोलुखुम्बुमार्फत बिक्री हुने सहुलियत दरको चामल गोदाममै थन्किएको छ ।
खाद्य संस्थानले सोना मन्सुली चामल प्रतिकेजी ४२ रुपियाँका दरले बिक्रीवितरण गर्ने गरेको भए पनि बजार मूल्य ३४/३५ मा झरेपछि संस्थानको चामल गोदाममै थन्किएको संस्थान शाखा सल्लेरीका निमित्त प्रमुख चण्डेश्वर मण्डलले बताए । सल्लेरी शाखाका लागि चालु आवमा दुई हजार क्विन्टल चामल स्वीकृत भएकामा उपभोक्ता चामल लिन नआएपछि अहिले ढुवानी नै बन्द गरिएको निमित्त प्रमुख मण्डलले जानकारी दिए । ‘गोदाम भरिएको छ, राख्ने ठाउँ नभएकाले अहिले ढुवानी नै बन्द गरिएको हो ।’
तराईबाट सल्लेरीसम्म सिधा सडक यातायात सञ्चालन हुन थालेपछि बजारमा चामलको मूल्य घटेर संस्थानको भन्दा कम भएको हो । संस्थानको चामलको मूल्य प्रधान कार्यालयले समायोजन गर्ने भएकाले मूल्य समायोजन नभएको निमित्त प्रमुख मण्डलको भनाइ छ । यदि मूल्य समायोजन नभएमा संस्थानको चामाल गोदाममै कुहिन सक्ने सम्भावना बढेको पनि संस्थान कर्मचारी बताउँछन् । यता सल्लेरीमा चामल बिक्री नभएको भए पनि लुक्ला डिपोमा भने चामल पुगेकै छैन । लुक्लामा उपभोक्ता समितिमार्फत चामल बिक्रीवितरण गर्ने व्यवस्था भए पनि सहमतिमा उपभोक्ता समिति गठन गर्नुपर्नेमा दुईवटा समिति गठन गरेर विवाद नमिलेपछि चामल ढुवानी हुन नसकेको हो ।

प्रतिक्रिया