दुर्गम क्षेत्रका विमानस्थल कालोपत्रे हुँदै

काठमाडौं, २९ वैशाख । नेपाल नागरिक उड्डयन प्राधिकरणले दुर्गम क्षेत्रका विमानस्थल सुधारको काम थालेको छ । यसका लागि प्राधिकरणले हालै मुलुकभरका सात विमानस्थल कालोपत्रे गर्न टेन्डर आह्वान गरेको छ ।
चालु आर्थिक वर्षभित्र मुगुको ताल्चा, सोलुखुम्बुको फाप्लु, बाजुराको कोल्टी, रुकुमको सल्ले र चौरजहारी, डोल्पाको जुफाल, खोटाङको मनमाया र दाङको टरीगाउँ विमानस्थलको धावनमार्ग कालोपत्रे गर्न सुरु गर्ने प्राधिकरणको योजना छ । यी विमानस्थलमा धावनमार्गका साथै ट्याक्सी वे तथा एप्रोनलगायतका पूर्वाधारसमेत निर्माण गरिने प्राधिकरणअन्तर्गतको विमानस्थल निर्माण तथा मर्मत सम्भार शाखाले जनाएको छ ।
सल्ले र चौरजहारी विमानस्थलमा चालु आवमा लागि १९ करोड रुपियाँ छुट्याइएको छ भने मनाङ विमानस्थलका लागि नौ करोड रुपियाँ छुट्याइएको छ । त्यस्तै कोल्टी विमानस्थलमा एक करोड ४० लाख र फाप्लुका लागि दुई करोड रुपियाँ छुट्याइएको प्राधिकरणले जनाएको छ । मनाङ, फाप्लु, ताल्चा र बाजुरा विमानस्थलसम्म सडक यातायात नपुगेकाले निर्माणमा समस्या भइरहेको प्राधिकरणको भनाइ छ । मनाङको एक मात्र विमानस्थल माथिल्लो मनाङको हुम्देमा छ, जुन सदरमुकाम चामेबाट करिब नौ कोस टाढा पर्छ । फाप्लु, कोल्टी र रुम्जाटार पनि जिल्ला सदरमुकामबाट निकै टाढा छन् ।
नेपाल वायु सेवा निगमले मात्र नियमित उडान भर्ने दुर्गम क्षेत्रका थुप्रै विमानस्थलमा भौतिक पूर्वाधार तथा धावनमार्ग उपयुक्त नभएको भन्दै निजी वायुसेवा कम्पनीले आंशिक उडान मात्र गर्ने गरेका छन् । मुलुकभर ५४ विमानस्थल भए पनि हाल ३९ मात्र सञ्चालनमा छन् । दुर्गम पहाडी क्षेत्रका विमानस्थल सुधारमा जोड दिने भन्दै तत्कालीन पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगरले धावनमार्ग कालोपत्रे गर्न निर्देशन दिएपछि प्राधिकरणले प्रक्रिया अगाडि बढाएको थियो ।
प्राधिकरणले आफ्नै बजेटबाट धावनमार्ग कालोपत्रे गर्न लागेको हो । यसका लागि प्रति विमानस्थल १० देखि १२ करोड रुपियाँ लाग्ने बताइएको छ । मर्मत सम्भार शाखाका अनुसार तीन वर्षभित्र सातवटै विमानस्थलका धावनमार्ग पक्की हुनेछन् । त्यस्तै धनुषाको जनकपुर विमानस्थलमा टर्मिनल भवन र कन्ट्रोल टावर निर्माण गर्ने प्राधिकरणको योजना छ ।

प्रतिक्रिया