आजबाट “सायद” ‘द्रव्य’ स्थगित

काठमाडौं : लगातारको बन्द हडतालले पछिल्ला चलचित्रको व्यापारमा असर पुर्‍याइरहेको छ । बन्दका शृंखला अझ लम्बिँदै जाने अवस्थाबीच आज (शुक्रबार) एउटै मात्र चलचित्र रिलिज हुने भएको छ – सायद । आज अर्को चलचित्र द्रव्यसमेत प्रदर्शन हुने भनिए पनि उक्त चलचित्रको रिलिज भने सरेको बताइएको छ ।
अभिभावक र छोराछोरीबीचको जेनेरेसन ग्याप र यसले सिर्जना गर्ने घटनाक्रमलाई चलचित्रको विषयवस्तु बनाएर तयार पारिएको सायद सुरज सुब्बाले निर्देशन गरेका हुन् ।
दुर्गेश फिल्म्स्को ब्यानरमा संयम पुरी, तक्मे बुढा, अनिता दाहाल, सुनील रावल, बाबु बोगटी आदिको मुख्य अभिनय रहेको चलचित्र सुनील रावलले निर्माण गरेका हुन् । यसअगाडि इजरायल तथा कोरियामा समेत सार्वजनिक प्रदर्शन भइसकेको यस चलचित्रमा स्याडोज ब्यान्ड र अराज केशव गिरीको संगीत अनि गोविन्द राई र अराज केशवकै नृत्यनिर्देशन छ । देशभरका स्टेसनबाट प्रदर्शन गर्ने तयारी भए पनि लगातारको बन्दका कारण आज उपत्यकामा मात्र चलचित्र लगाइने निर्माण पक्षले जानकारी गरायो ।
त्यस्तै, आजैबाट प्रदर्शनमा आउने भनिएको द्रव्य भने निर्माणसमूहले बन्दकै कारण देखाउँदै पछि सारेको छ । क्यासिनोभित्रका कथावस्तुलाई प्रस्तुत गरिएको यस चलचित्रमा चाहिँ विराज भट्ट, अशोक फुयाल, अनु शाह, कल्पना शाही, अनुपविक्रम शाही, अमित पोखरेल, उत्सव शाहलगायतको मुख्य भूमिका रहेको छ भने मार्कडे दिब्दिन बस्नेतको निर्देशन छ । (सौस)

प्रतिक्रिया