माओवादी–एमाले द्वन्द्व

माओवादी र एमालेबीचको द्वन्द्व पुन: चर्किन थालेको छ । शान्ति र संविधानका लागि प्रमुख दलबीच भएको सहमतिमा अवरोध खडा गर्न माओवादी नेतृत्वको सरकारमा सहभागी नहुने एमालेको अडानबाट यो कुराको संकेत गर्छ । नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको ६३ वर्ष हुँदै छ । मुलुकको वर्तमान राजनीतिमा नेपाली कम्युनिस्ट आन्दोलन निर्णायक शक्तिका रूपमा छ । यो आन्दोलन विभिन्न वैचारिक धारमा विभाजित अलग–अलग दर्जनौँ कम्युनिस्ट पार्टी भए पनि सबै कम्युनिस्ट पार्टीको शक्ति र प्रभावलाई जोड्दा मुलुकको सबभन्दा ठूलो शक्ति यही नै देखिन्छ । मुलुकको वर्तमान संक्रमणकालीन स्थितिमा नेपाल कम्युनिस्ट आन्दोलनले नेतृत्व लिई निर्णायक भूमिका निभाउनुपर्ने परिस्थितिको माग छ । यस्तो महत्त्वपूर्ण घडीमा नेपाली कम्युनिस्ट आन्दोलन पुन: दिशाविहीन मात्र होइन संकटग्रस्त पनि हुन थालेको छ । कम्युनिस्ट पार्टीहरूले एकपछि अर्को गम्भीर गल्ती गर्न थालेबाट नेपाली कम्युनिस्ट आन्दोलनले गम्भीर धक्का खाने त होइन भन्ने आशंका उत्पन्न भएको छ ।
वर्तमान मुलुकको राजनीतिमा निर्णायक भूमिका निभाउने हैसियत र शक्ति भएका कम्युनिस्ट पार्टीहरू माओवादी र एमाले हुन् । सम्पूर्ण कम्युनिस्ट आन्दोलनको शक्ति यी दुई पार्टीमा केन्द्रीय रहेको छ । यी दुई कम्युनिस्ट पार्टी एकअर्काका प्रतिस्पर्धी भए पनि उनीहरूबीचको अन्तरविरोध शत्रुतापूर्ण होइन । अन्य साना कम्युनिस्ट पार्टी र यी दुई पार्टीबीचको सम्बन्ध पनि त्यस्तै हो । तर, व्यवहारमा यी कम्युनिस्ट पार्टीबीचको अन्तरविरोध शत्रुतापूर्ण रहँदै आएको छ । माओवादीलाई कमजोर गराउन एमालेले गरिरहेको कसरत यसको पछिल्लो उदाहरण हो । नेपाली कम्युनिस्ट आन्दोलनका यी दुई पार्टीबीचको शक्ति संघर्षबाट क्षीण हुँदै गएको मात्र छैन मुलुकको राजनीतिमा यो आन्दोलनले निभाउने भूमिका प्रभावहीन र कमजोर साबित हुँदै आएको पनि छ । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै उठाउँदै आएका एजेन्डाहरू ओझेलमा पर्दै गएको स्थितिले यो कुरा पुष्टि हुन्छ ।
विशेषत: माओवादी र एमालेबीचको शक्ति संघर्षले नेपाली कम्युनिस्ट आन्दोलनको भूमिका राष्ट्रिय राजनीतिमा कमजोर हुँदै आएको छ । यो आन्दोलनले वर्गीय संघर्षलाई दिशा र गति दिन नसक्दा क्षेत्रीयतावादी र जातिवादी शक्तिहरूको चलखेल मुलुकको राजनीतिमा अस्वाभाविक रूपमा बढेको छ । नेपाली कम्युनिस्ट आन्दोलन आमूल परिवर्तनको आन्दोलन मात्र होइन, यो देशभक्तिपूर्ण आन्दोलन पनि हो । जातिवादी, क्षेत्रीयतावादी शक्तिहरूले मुलुकको राष्ट्रिय अखण्डता, एकतामा घातक प्रहार गरिरहेको स्थितिमा पनि कम्युनिस्ट पार्टीहरूले प्रतिरोध गर्न नसक्नु मात्र होइन उनीहरूबाट निर्देशित हुनु कम विडम्बनापूर्ण होइन । अझ नेपाली कम्युनिस्ट आन्दोलनमा जातिवादी, क्षेत्रीयतावादीको प्रभाव अस्वाभाविक रूपमा बढेर वर्गीय संर्घष ओझेलमा पार्दै गएबाट यो आन्दोलन विघटनको सिकार हुँदै गएको प्रतीत हुन्छ । कम्युनिस्ट आन्दोलनको मुख्य आधार वर्गीय संघर्ष हो । यो वर्गीय संघर्षलाई अन्तरध्वंस गर्न साम्राज्यवादीले प्रयोग गर्दै आएका खतरनाक हतियार जातीय, क्षेत्रीय र धार्मिक हुन् । यो हतियारको प्रहार नेपाली कम्युनिस्ट आन्दोलनमा भइरहेको सतहमा देखिन थालेको छ । मुलुकको राजनीति आमूल परिवर्तनको संघारमा छ । राजतन्त्र समाप्त भई गणतन्त्र स्थापना भएको छ । गणतन्त्र नेपाल कम्युनिस्ट पार्टीको स्थापना कालको प्रमुख एजेन्डा हो । सामन्तवाद कम्युनिस्ट आन्दोलनको प्रमुख अवरोधक हो । सामन्तवाद समाप्त नगरी जनवादी व्यवस्था स्थापना गर्न नसकिने सैद्धान्तिक, वैचारिक मान्यताका आधारमा स्थापना कालमै नेपाल कम्युनिस्ट पार्टीले गणतन्त्रलाई प्रमुख एजेन्डा बनाएको हो । यसैले गणतन्त्रलाई नयाँ संविधानमा संस्थागत गर्नु कम्युनिस्ट आन्दोलनको लागि कम ठूलो उपलब्धि हुँदैन । कम्युनिस्ट पार्टीहरूले नयाँ संविधान निर्माणमा निर्णायक भूमिका निभाउनुको सट्टा अवरोध खडा गर्नु आफ्नो खुट्टामा आफैँले बञ्चरो हान्नुसरह हो । यसमा माओवादी र एमाले मात्र होइन साना पार्टीहरू पनि चुक्दै गएका छन् ।
मुलुकको वर्तमान राजनीतिक शक्ति सन्तुलनमा तत्काल जनवादी व्यवस्था स्थापना हुने सम्भावना छैन । सुधारवादी राजनीतिक शक्ति नेपाली कांग्रेसको राजनीतिक एजेन्डा गणतन्त्र होइन, संवैधानिक राजतन्त्र हो । परिस्थितिको दबाबमा मात्र गणतन्त्रलाई यो पार्टीले स्वीकार गरेको हो । अझै यो पार्टीमा संवैधानिक राजतन्त्रवादीको प्रभाव कम छैन । नयाँ संविधान नबन्दा कम्युनिस्ट पार्टीलाई जति क्षति हुन्छ त्यति नेपाली कांग्रेसलाई हुँदैन । त्यस्तै गरी ठूलो क्षति जातिवादी र क्षेत्रीयतावादी पार्टीहरूलाई पनि हुँदैन । उनीहरूको सम्बन्ध अझै पनि सामन्तवादी शक्तिसँग टुटेको छैन । नयाँ संविधान बनाउन कम्युनिस्ट पार्टीहरूबीचको एकता आवश्यक हो भने उनीहरूबीचको मतभिन्नता गौण कुरा हो । नयाँ संविधान बन्न नदिन विभिन्न आवरणमा गणतन्त्रविरोधी शक्तिहरू आक्रामक रूपमा प्रस्तुत भइरहेका छन् । उनीहरूलाई कम्युनिस्टविरोधी बाह्य शक्तिहरूले सहयोग गरिरहेको सतहमा देखिँदै गएको छ । यी गणतन्त्रविरोधी शक्तिहरूसँग सामना गर्दै नयाँ संविधान निर्माण गर्ने ऐतिहासिक दायित्व कम्युनिस्ट पार्टीहरूले पूरा गर्नुपर्नेमा उनीहरूकै खेलौना बन्नुबाट नेपाली कम्युनिस्ट आन्दोलन दिशाहीन र संकटग्रस्त हुँदै गएको छ । यसरी कम्युनिस्ट पार्टीहरू चुक्दै गएबाट नेपाली कम्युनिस्ट आन्दोलनमा गम्भीर क्षति हुने परिस्थिति बन्दै गएको छ ।
वर्तमान मुलुकको राजनीतिमा राष्ट्रिय एकता अखण्डता गौण र जातीयता, क्षेत्रीयता प्रमुख बन्दै गएका छन् । यसबाट राष्ट्र विखण्डनको पूर्वाधार तयार हुँदै छ । राष्ट्रिय दृष्टिकोण र लक्ष्य हराउँदै गएको मुलुकको वर्तमान राजनीतिमा कम्युनिस्ट पार्टीहरू आफ्नो लक्ष्य गुमाउँदै गएका छन् । यसबाट कम्युनिस्ट आन्दोलनले उठाउँदै आएको आमूल परिवर्तनकामी र देशभक्तिपूर्ण एजेन्डा संकटमा परेका छन् । यस्तो अवस्थामा सबभन्दा ठूलो कम्युनिस्ट पार्टी माओवादी आन्तरिक विग्रहमा नराम्ररी फसेको छ । यो विग्रहले प्रत्यक्ष लाभ देशीय सामन्तवादी शक्ति र बाह्य कम्युनिस्टविरोधी शक्तिलाई पुगिरहेको छ । यो पार्टीको आन्तरिक राजनीतिमा को बलियो हुने प्रतिस्पर्धामा गलत तत्त्व र प्रवृत्ति निर्णयक बन्दै गएका छन् । दोस्रो ठूलो कम्युनिस्ट पार्टी एमाले पनि यही स्थितिबाट गुज्रिरहेको छ । कम्युनिस्ट पार्टीहरूले सामन्तवादी र साम्राज्यवादी एजेन्डा बोकेर हिँडिरहेको वर्तमान स्थितिबाट नेपाली कम्युनिस्ट आन्दोलन दुर्घटनाको निकट पुग्दै गएको प्रतीत हुन्छ ।
माओवादी र एमालेबीचको शक्ति संघर्षले शान्ति र संविधान संस्थागत नहुने परिस्थितिको पूर्वाधार तयार हुँदै गएको छ । अविश्वासको प्रस्तावद्वारा माओवादी नेतृत्वको सरकार अपदस्त गर्ने र माओवादी नेतृत्व सरकारमा सहभागी नहुने एमालेको कसरतबाट त यी दुई पार्टीबीचको अन्तरविरोध निकै चर्किएर जाने संकेतहरू देखिन थालेका छन् । यी ठूला दुई कम्युनिस्ट पार्टीबीचको यस्तो अन्तरविरोध र जातिवादीहरू साम्राज्यवादको डिजाइनअनुसार आक्रामक रूपमा प्रस्तुत भइरहेको घटनाक्रमबाट शान्ति र संविधान निर्माणमा असहज स्थिति बन्दै गएको छ । वर्तमान तरल मुलुकको राजनीतिमा माओवादी र एमालेबीचको द्वन्द्व र माओवादीको आन्तरिक विग्रहले नेपाली कम्युनिस्ट आन्दोलनलाई अपूरणीय क्षति हुने निश्चित छ ।

प्रतिक्रिया