“सेक्सी” लुकिङ बनाउन


अपवादलाई छाड्ने हो भने सेक्सी लुकिङका विपरीतलिंगीहरूप्रति नै बढी आकर्षित हुन्छन् युवायुवती । आदर्शात्मक पक्षले पार्ने प्रभाव त कक्षुवा गतिभन्दा पनि ढिलो हुन सक्छ, जति बेला जवानी बुढेसकालतिर उकालिएर जवानीका रङहरूसँग नै बिरक्तिइसकेको हुन सक्छ । जवानीमा विपरीतलिंगीय आकर्षणले पार्ने प्रभावको रमाइलो छुट्टै छ । आँखाभरि छचल्किने कुनै उर्वर जवानीले मन कटक्क पारेपछि पर्पोज गर्न तम्सिइहाल्ने सीप अनि जाँगर युवाकालमा जति अरू बेला कहिले पो उम्लिएला र ? तर, तपाईंको पर्पोज तब मात्र सार्थक हुनेछ, जब तपाईंले मायालु नजरले देखेको व्यक्तिको नजरमा पनि तपाईंप्रति माया भरिएको होस् । मायाको पूर्वाधार भनेकै आकर्षण हो । यसका लागि तपाईं ‘सेक्सी’ देखिन जरुरी छ । तपाईंले आफ्नो पहिरन, शारीरिक ढाँचा, ‘स्टाइल’ अनि ‘एटिच्युड’मा केही ध्यान पुर्‍याउनु आवश्यक छ । केही टिप्स :
– आफूलाई आकर्षक देखाउने कपडा छान्न सपिङ मलतिर हिँडिहाल्नुस् । कपडामा उति धेरै विकल्प त नहुन सक्छन् । तैपनि राम्रो स्टाइलका सर्ट, टिसर्ट, हुकलगायतमध्ये आफूलाई जुन सहज लाग्छ त्यही छान्नुस् । ती आकर्षक हुन भने जरुरी छ । जिन्स छान्दा आफूलाई फिट हुनेमा बढी ध्यान पुर्‍याउनुस् । त्यो तपाईंको कम्मर र लम्बाइसँग एकदम फिट हुनुपर्छ । सुहाउँदो बेल्ट प्रयोग गर्नुस् । पाइन्ट लगाउँदा पनि अन्डरवेयर देखियो भने तपाईं घृणाको पात्र बन्न सक्नुहुन्छ ।
– आवश्यकताअनुसार ननुहाउने अनि कपालमा तेल–जेल र अलिअलि सेन्ट छरेर पसिनाको दुर्गन्ध लुकाउन खोज्ने बानी छ भने छाडिहाल्नुस् । शारीरिक सरसफाइमा विशेष ध्यान पुर्‍याउनुस् । हरेक दिन कपाल धुनुस् र दाँत माझ्नुस् । सरसफाइले तपार्इंको शारीरिक व्यक्तित्व चम्काउँछ ।
– यदि कुनै केटीले तपाईंलाई मन पराउँछे भने ऊ बढीभन्दा बढी गफ गरेर तपाईंबारे बुझ्न चाहन्छे । यस्तो अवस्थामा तपाईंका भनाइहरू बढी आत्मविश्वासी देखिनुपर्छ । धेरै उत्ताउलो वा पूरै सुस्त स्वभाव पनि देखाउनु हुँदैन । आफ्नो महत्त्व झल्काउनुस् । यस्तो बेला तपाईंले देखाउने सानो गलत व्यवहारले पनि काम बिगारिदिन सक्छ ।
– डेटिङका मामिलामा सबै कुरा म्यानेज गर्न सक्ने खुबी देखाउनुस् । तपाईंकी साथी जति नै धनी भए पनि यस्तो बेला पूरै तपाईंप्रति भर पर्न चाहिन्छन्, यस क्रममा आइपर्ने सबै पैसा आफैँ तिर्नुस् । गोधूलि साँझमा साथ लागेर तपाईंसँग हिँड्न चाहन्छिन् उनी । यस्तो मौकालाई खेर जान नदिनुस् । राम्रो व्यवहार देखाउनु केटीका अगाडि ‘सेक्सी’ देखिने अर्को उपाय हो ।
– शारीरिक ढाँचाले पनि तपाईंप्रतिको आकर्षण निर्धारण गरिरहेको हुन्छ । शारीरिक दृष्टिले तपाईं आफैँलाई पनि सहजता महसुस हुन आवश्यक छ । स्वस्थता आकर्षण बढाउने अर्को कडी हो । मसल्सहरू देखाउन वेट लिफ्टिङ गर्नुस् तर तपाईं बडी बिल्डरजस्तो भने नदेखिँदा नै राम्रो । छरितो अनि मिलेको ज्यानलाई केटीहरू ‘सेक्सी’ भन्छन् ।

प्रतिक्रिया