आत्मदाहको चेतावनी

काभ्रे, २९ वैशाख । काभ्रे पनौतीका ४३ वर्षीय गोविन्दबहादुर थापाले जातीय आधारमा राज्य पुन:संरचना भए १४ जेठमा आत्मदाह गर्ने चेतावनी दिएका छन् । क्षत्री समाज राष्ट्रिय महासंघ काभ्रेका अध्यक्ष थापाले संविधानसभा भवनको मूल गेटमा आत्मदाह गर्ने चेतावनी दिएका हुन् ।

पनौती–२, धनेश्वरका थापाले अन्तरिम संविधानमा ब्राह्मण–क्षत्रीलाई अन्य जातबाट हटाउन राज्यले आनाकानी गरेको र जातीय राज्य घोषणा गर्ने तयारी गरेकाले आत्मदाहको निर्णय गरेको बताए । उनले १४ जेठको राति १२ बजेर ५ मिनेटमा आत्मदाह गर्ने घोषणा गरेका छन् । ‘कंगोमा जातीयताकै कारण द्वन्द्व भयो, नेपालमा पनि जातीय राज्य घोषणा भए एउटै टोलमा मिलेर बसेका जातजातिबीच द्वन्द्व हुन्छ र मुलुक विखण्डनतर्फ जानेछ,’ थापाले भने, ‘संविधान सभाले जातीय राज्य रोक्न सकेन भने १५ जेठमा म यो संसारमा हुनेछैन ।’ उनले आफूले आत्मदाह गर्दा नयाँ संविधानका प्रति सँगै जलाउने बताए ।
दुई छोरा र तीन छोरी रहेका थापा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका काभ्रे उपाध्यक्ष थिए । बिहीबार बिहान पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएर स्वेच्छाले एक्लै आत्मदाहको घोषणा गरेको थापाले बताए । ‘आत्मदाह गरेर मलाई सस्तो लोकप्रियता कमाउने रहर छैन, सभासद् र मन्त्री बनौँला भन्ने योजना पनि छैन,’ थापाले भने, ‘नेपाल र नेपालीका लागि अखण्ड राज्यको माग गर्दै आत्मदाह गर्न लागेको हुँ ।’

प्रतिक्रिया