बबितालाई यौन प्रस्तावको ओइरो


काठमाडौं : ‘निर्माता–निर्देशकले राखेका यौनप्रस्ताव स्विकारेकी भए म उहिल्यै नम्बर वान हिरोइन बनिसकेकी हुन्थेँ होला ।’ यो भनाइ हो, नायिका बबिता ढकाल ‘रोजा’ को । उनले अभिनय गरेको पछिल्लो चलचित्र लास्ट किस बजारमा आइसकेको छैन । तर, उनले यसमा निर्वाह गरेको ग्ल्यामरस भूमिकाको चर्चा भने चलचित्रभन्दा पहिल्यै बजारमा फैलिइसकेको छ । यही चर्चाबीच आफूले चलचित्र उद्योगभित्र भोग्नुपरेका यौनप्रस्तावबारे गफिँदै छिन् यी सुन्दरी । ‘पुरानादेखि नयाँ निर्देशकसम्मले पनि घुमाउरो पाराले यौनप्रस्ताव राख्ने गरेका छन्,’ उनले सुनाइन्, ‘प्राय: निर्देशक हाम्रै टिममा बस, तिमीलाई नै लिउँला, अन्त जानुपर्दैन भन्दै फकाउँछन् ।’ कुन–कुन निर्देशकले यसो भने त उनलाई ? ‘भैगो नामचाहिँ नखुलाऊँ क्यारे, भोलि लफडा हुन सक्छ,’ उनले भनिन्, ‘फेरि उनीहरूसँगै काम पनि त गर्नु छ नि †’
त्यसो त प्रेमप्रस्तावको पनि कमी छैन रे उनलाई । चलचित्रदेखि बाहिरी क्षेत्रका युवा पनि पछि लाग्ने गरेको सुनाउँछिन् । ‘अविवाहित भएकाले यस्तो भएको होला,’ उनी भन्छिन्, ‘तर, यो मेरो सफलता हो, नराम्रो लाग्दैन ।’ झम्के फूली नाकैमा बुलाकी बोलको लोकदोहोरी भिडियोमार्फत कलायात्रामा पाइला बढाएकी ढकालले दर्जनौँ म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । निशा देसारले गाएको विष पिए पनि जाती हुन्थ्यो बोलको गीत उनले अभिनय गरेको पछिल्लो म्युजिक भिडियो हो ।
सरगम, दृष्टि, म तिम्रो भैसकेँ, मन परेपछि, दबदबा, पल, ज्यान हाजिर छ, श्रीमान्–श्रीमतीलगायत दजनौँ चलचित्रमा उनले अभिनय गरिसकिन् । यसबाहेक सानो पर्दाका चलचित्र र नाटकमा पनि छाएकी छन् । वीरेन्द्र हमालद्वारा निर्देशित बर्ख र शैली थिएटरको सरकारी निरीक्षक नाटकमा अभिनय गरेकी ढकालले सुनाइन्, ‘यी नाटकले नै मेरो अभिनयमा निखार ल्याइदिए ।’
अहिले चलचित्र क्षेत्रमै संघर्ष गरिरहेकी ढकाल चर्चाका लागि ‘ग्ल्यामर’ नभई नहुने बताउँछिन् । भन्छिन्, ‘दर्शकलाई आकर्षित गर्न ग्ल्यामर चाहिन्छ नै ।’ ग्ल्यामरका नाममा कतिसम्म उदार हुन सक्लिन् त यी सुन्दरी ? घोषणा गरिन्, ‘टु–पिसबाहेकका अन्य सबै ग्ल्यामर पस्किन तयार छु ।’ लास्ट किसमा प्रदर्शन गरेको ग्ल्यामरले चर्चा बढाए पनि उनको आफ्नै परिवार भने चिढिएको रहेछ । भनिन्, ‘मेरी आमा अलि धार्मिक अनि पुरानो सोचाइकी हुनुहुन्छ, उहाँलाई मैले यसरी ग्ल्यामर प्रदर्शन गरेको मन परेको छैन ।’ (सौस)

प्रतिक्रिया