आइटमको वकालत

मुम्बई : बलिउडका आइटम गीतलाई ‘अश्लीलता’ को आरोप लाग्दै आएकोमा आइटम गर्ल नतालिया कौरले यसको बचाउ गरेकी छन् । चलचित्र डिपार्टमेन्टको एक आइटम गीतबाट बलिउड छिरेकी उनले यसलाई अश्लीलताको संज्ञा दिन नहुने बताएकी हुन् । ‘बरु, यो त आफ्नो आकर्षक प्रतिभा देखाउने उत्कृष्ट माध्यम हो,’ उनले एजेन्सीलाई भनिन्, ‘यो अश्लील होइन, कलात्मक हुन्छ ।’ उक्त गीतमा आफ्नो प्रस्तुति अश्लील र अभद्र नभएको दाबी गर्दै उनले आफूलाई कसैले ‘आइटम गर्ल’ भनेको मन नपर्ने बताइन् । डिपार्टमेन्टको दनदन गीतमा उनले आइटम डान्स गरेकी छिन्, जसको कोरियोग्राफी गणेश आचार्यले गरेका हुन् । आगामी १८ तारिखमा रिलिज हुने तयारीमा रहेको निर्देशक रामगोपाल वर्माको यो चलचित्रमा अमिताभ बच्चन, सञ्जय दत्तको मुख्य भूमिका छ । (एजेन्सी)

प्रतिक्रिया