कत्रो गँगटो

लन्डन, २८ वैशाख । अस्ट्रेलियाको तस्मानियाका माझीसँग ठूलो भाँडो भएको भए सायद यो गँगटोको जीवनलीला समाप्त भइसकेको हुनेथियो । तस्मानियाका माझीले समुद्रमा अजंगको गँगटो फेला पारे र घर ल्याए । गँगटो अटाउने ठूलो भाँडो नभेटिएपछि उनीहरू अलमल्ल परे । अन्त्यमा, बेलायतमा रहेको ‘सि लाइफ गु्रप’ नामक समूहले प्रदर्शनार्थ अक्वारियममा राख्ने उद्देश्यले तीन हजार पाउन्डमा गँगटो खरिद गर्‍यो । हवाईजहाजमा २९ घन्टा लगाएर गँगटोलाई बेलायत ल्याइयो । बिहीबार बेलायतमा आयोजना हुने एक प्रदर्शनीमा गँगटो राखिने तय भएको छ ।
बेलायतमा आजसम्म प्रदर्शनीमा राखिएका गँगटामध्ये यो सबैभन्दा ठूलो हो । बेलायतको समुद्री किनारमा पाइने गँगटाभन्दा यो करिब दुई सय गुणा ठूलो छ । अझै किशोर अवस्थामा रहेकाले यसको वजन दोब्बर हुने बताइएको छ । अस्ट्रेलियाबाट ल्याएपछि गँगटोलाई दस फिट अग्लो र ६ फिट चौडा भाँडोमा राखिएको छ ।
‘सि लाइफ’का अधिकारी जेम्मा बाट्रिकले गँगटो खरिद गर्न पाउँदा आफूहरु ज्यादै उत्साही भएको बताए । ‘यस्तो प्रजातिका गँगटोको संख्या बढाउने हाम्रो उद्देश्य छ । तर, अस्ट्रेलियाका मानिस यस्ता प्रजातिका गँगटा आहार गर्छन्,’ उनले भने । प्रदर्शनीमा सहभागीलाई गँगटोले चकित बनाउने उनले बताए । (डेलिमेल)

प्रतिक्रिया