इटहरीमा बन्दको प्रतिकार

विराटनगर : सुनसरीका इटहरीवासीले बन्दको प्रतिकार गरेका छन् । बुधबार बन्दको प्रतिकार सुरु गरेका उनीहरूले आइन्दा सबै खालका बन्द तथा हडतालमा इटहरीमा पसल र व्यवसाय खुलाउने निर्णय पनि गरेका छन् । बन्दमा पसल व्यवसाय खुलाउँदा पुग्ने क्षतिपूर्तिका लागि उनीहरूले ५१ हजार रुपियाँको राहत कोष स्थापना गर्ने भएका छन् ।
उनीहरूले उद्योग वाणिज्य संघ इटहरीको संयोजनमा भेला गरेर आइन्दा बन्दमा व्यापार व्यवसाय सञ्चालन गर्ने सामूहिक प्रतिबद्धता जनाएका हुन् । भेलामा नेपाली कांग्रेस, एकीकृत नेकपा (माओवादी), आदिवासी जनजाति महासंघका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता थियो ।
‘बन्दका नाममा अराजकता सिर्जना गरेर जनतालाई सास्ती दिनु हुन्न भनेर बन्दविरुद्ध सामूहिक प्रतिबद्धता जनाएका हौँ,’ उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईंले भने । इटहरीमा दैनिक १५ करोड रुपियाँभन्दा बढीको व्यापारिक कारोबार हुने गरेको संघले जनाएको छ । (सौस)

प्रतिक्रिया