बैंकिङ कसुरमा भारतीयसँग ३२ लाख धरौटी माग

काठमाडौं, २८ वैशाख । भारतका बैंकबाट करोडौं रकम निकाली गैरकानुनी रूपमा नेपालका बैंकमा जम्मा गरेको अभियोगमा थुनामा परेका भारतीय नागरिक जितेन्द्र कुमारसँग विशेष अदालतले ३२ लाख १० हजार धरौटी रकम मागेको छ ।

आधिकारिक व्यापार–व्यवसाय नभएका जितेन्द्र कुमारले २२ वटा भारतीय एटिएम कार्डबाट रकम निकाली नेपालका बैंकमा जम्मा गरेको भन्दै बैंकिङ कसुरअन्तर्गत विशेषले बुधबार उनीसँग धरौटी रकम माग गरेको हो । विशेषका अध्यक्ष न्यायाधीश गौरीबहादुर कार्की तथा सदस्य न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले एटिएम कार्डको अनधिकृत प्रयोग गरी उनले चार करोड १६ हजार दुई सय ३३ रुपियाँ कारोबार गरेको ठहर गरेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले मुद्दा चलाएदेखि उनी सदरखोर डिल्लीबजारमा थुनामा छन् । विभागले विदेशी मुद्रा अपचलन गरेको अभियोगमा उनीविरुद्ध मुद्दा चलाएको थियो । मुद्दा चलाउँदा विभागले उनको नामको तीन र अन्य व्यक्तिको नामको १९ थान एटिएम कार्डसहित तीन लाख ४३ हजार ७ सय ५० रुपियाँ अदालतमा पेस गरेको थियो । उनले भारतीय बैंकबाट गैरकानुनी रूपमा रकम निकाली नेपाल एसबिआई बैंक र राष्ट्रिय वाणिज्य बैंकमा जम्मा गरेका थिए ।

प्रतिक्रिया