‘संविधान जारी गर्ने प्रक्रिया छोट्टयाउनु हुँदैन’

काठमाडौं, २७ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रक्रिया छोट्टयाएर संविधान जारी भए त्यसले संवैधानिक जटिलता निम्त्याउने बताउनु भएको छ ।

काठमाडौंमा आज बसेको राप्रपा नेपालको संसदीय दलको बैठकमा अध्यक्ष थापाले भने, ‘संविधानमा राखिने अल्पविराम, पूर्णविरामबारे पनि जनताले प्रतिक्रिया दिन पाउनुपर्छ ।’

उनले प्रमुख तीनदल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधानमा सिन्डिकेट लागू गर्न खोजेको आरोप समेत लगाए ।

संसदीय दलको बैठकमा संविधानका विवादित विषयहरू शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीयता, नागरिकतालगायतका विषयमा छलफल भएको दलका नेता चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

अध्यक्ष थापाले अवैधानिक ढङ्गबाट संविधान जारी गर्न नहुने भन्दै जनताले अपनत्व ग्रहण गर्नेखालको संविधान बनाउन सुझाव दिए ।

प्रतिक्रिया