दक्षिण कोरियामा महिला कामदारको बिचल्ली

काठमाडौं, २७ वैशाख । दक्षिण कोरियाली नागरिकसँग विवाह गरेर गएका आठ सयभन्दा बढी नेपाली महिला जोखिममा परेका छन् । कोरियाली नागरिकसँग कानुनी रूपमा विवाह गरेर गएका महिला यौन शोषण, शारीरिक तथा मानसिक यातनाबाट विक्षिप्त भई बिचल्ली परेको पाइएको छ ।
नेपालबाट कोरियाली नागरिकसँग आर्थिक प्रलोभनका आधारमा विवाह गरेका महिला त्यहाँ पुगेपछि उनीहरूकै यातानाबाट पीडित हुने गरेका छन् । दक्षिण कोरियास्थित नेपाली श्रमसहचारी कृष्णहरि पुष्कर कर्णले अहिले आठ सयभन्दा बढी नेपाली महिला जोखिम मोलिरहेको बताए । कागजी रूपमा विवाह गरे पनि निश्चित समयपछि श्रीमान् र परिवारबाट विभिन्न शोषणमा पर्ने गरेको उनले जनाए ।
रोजगारीका लागि सहजै भिसा पाइने आशमा कतिपय नेपाली महिलाले कन्सल्टेन्टमार्फत कोरियाली नागरिकसँग विवाह गर्ने र उनीहरूसँगै जाने गरेको कोरियास्थित नेपाली दूतावासको अध्ययनबाट पत्ता लागेको छ । उनीहरूले ठूलो रकम खर्चगरी कोरियालीसँग विवाह गरेर गए पनि घरेलु कामदारका रूपमा र यौन शोषणको कारण ठूलो जोखिममा पर्ने गरेको दूतावासका अधिकारीको भनाइ छ ।
‘नेपालबाट आर्थिक प्रलोभनमा परी विवाह गरेर आउँछन्,’ कर्णले भने, ‘अहिले ठूलो संख्यामा नेपाली महिला उनीहरूकै यातनाबाट पीडित भई दूतावासको शरण लिन आइरहेका छन् ।’ उनका अनुसार कोरियाली नागरिसँग विवाह गरेर गएका प्रायजसो महिला यौन शोषण, शारीरिक तथा मानसिक यातनाबाट विक्षिप्त छन् । दूतावासमा शरण लिन आउने नेपाली महिलाले श्रीमान् तथा आफ्ना परिवारबाट चरम यातना बेहोर्नु परेको बताउने गरेको उनले जनाए ।
चरम यौन शोषण र यातनाका कारण कतिपय महिला मानसिक रूपमा विचलित भइसकेको उनको भनाइ छ । लामो समयदेखि त्यहाँ रहेका महिला बिचल्लीमा परेका भए पनि दूतावासलाई उद्धार गर्न कठिनाइ रहेको कर्णले बताए । उनले यो संख्या बढ्दै गए निक्कै ठूलो चुनौती आइपर्ने समेत जनाए । ‘दूतावासमा आवश्यक स्रोत र साधनको अभाव छ,’ उनले भने, ‘चरम यातनामा परी अलपत्र परेका महिला उद्धारका लागि आए पनि कानुनी कठिनाइ छ ।’
कोरियाली नागरिकसँग विवाह गरेर गएका महिलालाई स्वदेश फर्काउनसमेत उनका श्रीमान्को सहमति चाहिने कानुनी प्रावधानले उद्धारमा कठिनाइ भएको कर्णको भनाइ छ । ‘कोरियाको कानुनअनुसार श्रीमान्को सहमतिविना घर फर्काउन सकिन्न,’ उनले भने, ‘श्रीमान्ले सहमति नदिने भएकाले पनि हामीलाई उद्धारमा कठिनाइ छ ।’ उनका अनुसार हालसम्म आठ सय २० जना नेपाली महिला कानुनी रूपमा विवाह गरेर कोरिया पुगेका छन् । उनीहरूमध्ये ७० प्रतिशतभन्दा बढी महिला श्रम शोषण, यौन शोषण तथा मस्तिष्क तथा शारीरिक रूपमा अशक्त भइसकेका छन् । दूतावासको काम नेपाली कामदारलाई अप्ठ्यारो परेमा तत्काल उद्धार गर्नुपर्दा पनि कोरियन नागरिकको पारिवारिक विषयमा हस्तक्षेप गर्न नमिल्ने कानुनी अड्चन छ ।
नेपाली दूतावासका अनुसार कोरियन नागरिकले विदेशी महिलालाई विवाह गरेर लगेपछि विभिन्न शोषणका घटना बढेको सार्वजनिक भएपछि अहिले त्यहाँको सरकारले विदेशी महिलासँग गरिने विवाहमा कडाइ गरेको छ । दक्षिण कोरियाली सरकारले गत वर्ष आफ्नो कानुनमै संशोधन गरी विवाह गराउने कन्सलटेन्सी, दलाल तथा विवाहको चाँजोपाँजो मिलाउने म्यारिज ब्यूरोजस्ता संस्थालाई नियमन गरेको जनाएको छ । उसले पैसाको प्रलोभनमा परी गैरकानुनी प्रवृतिबाट विदेशी महिलासँग विवाह गराउने संघ–संस्था तथा दलालाई तीन वर्ष कैद र दुई करोड वनसम्म जरिबाना गर्न मिल्ने व्यवस्था गरेको दूतावासका एक अधिकारीले बताए ।

प्रतिक्रिया