सहमतीय राजनीतिको मूल मर्म

मेरो राजनीतिक क्षेत्रको सीमित अध्ययन तथा अनुभवका आधारमा नेपालजस्तो अति कम विकसित मुलुक बहुमतको सत्तापक्ष र अल्पमतको प्रतिपक्ष हुने बहुमतीय संसदीय व्यवस्था उपयोगी हुँदैन भनेर निष्कर्ष निकालेको थिएँ । तत्कालीन नेपाल र बंगलादेशमा सत्तापक्ष र प्रतिपक्षको द्वन्द्वले निम्त्याएको अस्थिर राजनीतिक परिस्थितिले पनि मलाई यो निष्कर्ष निकाल्न सहयोग पुर्‍याएको थियो । कुनै राजनीति प्रणाली ठीक लागेन भने त्यसको विकल्प दिन पनि सक्नुपर्ने हुन्छ । त्यसैका लागि मैले निकै विचार विमर्श गरेर सहमतिको राष्ट्रिय प्रजातन्त्र नामकरण गरेर सहमतीय राजनीतिक प्रणालीबारे आफ्नो रचना प्रकाशित गरेको थिएँ । नेपालमा बहुदलीय सहमतीय प्रणालीको स्थापना, औचित्य र उपलब्धिको व्याख्या साथ सार्वजनिक भएको विचार यो नै पहिलो हुनुपर्छ, नेपालको प्रजातान्त्रिक राजनीतिक इतिहासमा । नेपाली कांग्रेसले वकालत गर्दै आएको प्रजातान्त्रिक समाजवाद होस् कि एमालेका मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवाद नै किन नहोस्, दुवैले बहुमतको सत्तापक्ष र अल्पमतको प्रतिपक्ष हुने ब्रिटिस मोडेलको बहुमतीय पद्धतिको संसदीय प्रणालीलाई नै जोड दिएका थिए । तर पनि नेपालका अन्तर्राष्ट्रियस्तरमा ख्याति र चर्चा कमाएका बिपी कोइराला तथा मदन भण्डारीजस्ता नेताहरूले जोड दिएको बहुमतीय प्रणालीको तुलनामा म आफूद्वारा अघि सारिएको सहमतीय प्रणालीले राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन प्राप्त गर्न सफल भएको देखिँदै छ ।
नेपालका विभिन्न राजनीति परिवर्तनले अघि सारेको प्रणालीमा वा प्रणलीसम्बन्धी विचारमा सहमतिको राष्ट्रिय प्रजातन्त्र वा राष्ट्रिय सहमतिको प्रजातन्त्र राष्ट्रिय अन्तर्राष्ट्रिय समर्थन प्राप्त सर्वोत्कृष्ट विकल्प हो भन्ने मतमा अर्को राष्ट्रिय सहमति जरुरी छ । तथ्य सामुन्ने छ, सहमतीय रानीतिलाई बन्दुकसँग उदाएको माओवादी होस् कि बहुमतीय प्रणालीका झन्डा उठाउने कांग्रेस एमाले, मधेसवादी वा सबै साना दल नै किन नहुन् सबैले राष्ट्रिय सहमतिमा नै जोड दिएका छन् । नागरिक समाज हुन् वा सञ्चार जगत् नै किन नहुन् सबैले सहमतीय राजनीतिको नै वकालत गरेका छन् ।  यसबाट पुष्टि हुन्छ सहमतीय राजनीतिक प्रणाली राष्ट्रियस्तरमा सबभन्दा बढी समर्थन प्राप्त राजनीति र राजनीतिक प्रणाली भएको छ । त्यसरी नै विश्व राजनीति, आर्थिक सहयोग तथा विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने शक्ति राष्ट्र तथा संस्थाहरू अमेरिका, चीन, भारत, जापान, रूस, संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनलगायत सबै साना राष्ट्रले समेत नेपालमा विकसित भएको सहमतीय राजनीतिलाई सक्रिय समर्थन गरेको तथ्यले सहमतीय राजनीति अन्तर्राष्ट्रिय समर्थन
प्राप्त विकल्प भएको छ । तसर्थ यसरी
राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा व्यापक समर्थन प्राप्त गर्न सफल सहमतीय राजनीतिमा इमानदारीपूर्वक नेपाल फर्कनुपर्छ र यो प्रणालीलाई दह्रो पक्रनुपर्छ । यो नै नेपालको राष्ट्रिय हितमा छ ।
तर, म आफूद्वारा अघि सारिएको सहमतीय राजनीतिको अक्षर, भावना र मर्मलाई नेपालका ठूला साना कुनै पनि राजनीति दल तथा नेताहरूले बुझ्नु र पक्रन नसकेको उनीहरूको राजनीतिक व्योहोराले प्रमाणित गरेको छ । मैले अघि सारेको सहमतीय राजनीतिको मूल मर्म भनेको साझा विचार, साझा सरकार, साझा आचार र साझा व्यवहार हो । सबैका केही नीति विचार छाड्दै, साझा नीति कार्यक्रम बनाएर सरकार चलाउने हो । अर्थात् सबैको विचार, सबैको सरकार, सहमतीय राजनीति भनेको सबै दलले थोरै हार्ने तर धेरै जित्ने हो । सबभन्दा धेरैचाहिँ मुलुकले जित्ने हो । त्यसैले यो सहमतीय प्रणाली नेपालजस्ता तेस्रो विश्वका विकासोन्मुख मुलुकका लागि अति उपयोगी साबित हुने भएकाले यो प्रणालीलाई तेस्रो विश्वको प्रजातन्त्र अर्थात् ‘थर्ड वल्र्ड डेमोक्रेसी’ भनिनुपर्छ भनेर जोड दिएका थिए । तर, नेपालका ठूला दलका स्वार्थी नेताको नालायकीपनले गर्दा सहमतीय राजनीति र प्रणाली प्रमाणित हुन पाएन । राजनीतिक परिर्वतनको संक्रमणकालमा त यो सहमतीय राजनीति त वरदान नै साबित हुन्छ, यसको ठीक ढंगले सदुपयोग गर्न जानेमा । नेपालका राजनीतिदलका नेताले सहमतीय राजनीतिलाई सत्ता र सुविधा बाँडफाँडभन्दा बढ्ता केही बुझेनन् । पद बाँडफाँडको सहमतिमा पुग्ने आफ्ना मान्छेलाई विभिन्न पदमा भागबन्डा मिलाएर नियुक्त गर्न सक्नुलाई सहमतीय राजनीतिको सफल प्रयोग गर्न सकेको भ्रममा छन् नेपालका दल तथा नेता । सबै मिलेर सत्ता र विकास खाने राजनीति सहमतीय राजनीति होइन । भत्ता र सत्ताको बाँडचुँड सहमतीय प्रजातन्त्र होइन ।
सहमतीय राजनीति प्रणाली नेपाली राष्ट्रिय चिन्तन धारमा उठेको र विकसित भएको नेपाली राष्ट्रिय  विशेषताको विशिष्ट लोकतन्त्र बुझ्नुपर्छ । पृथ्वीनारायण शाहको बडो उक्ति नेपाल सबै जातको फूलबारी हो र आधुनिक प्रजातान्त्रिक नेता बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको मर्म र भावना राष्ट्रिय सहमतिको राजनीतिमा छ । यी दुई नेताका विचारले राष्ट्रिय सहमतिको राजनीतिलाई निर्देशन गरिरहन्छ । त्यसैले राष्ट्रिय चिन्तन धारको जगमा उठेको राष्ट्रिय सहमतिको प्रजातान्त्रिक राजनीतिले राष्ट्रको हित र जितलाई सुनिश्चित गराउन सक्नुपर्छ । व्यापक क्षेत्रमा सहमतिका साथ जनतालाई आय र विकासमा परिचालन गरेर छिट्टै आर्थिक समृद्धि हासिल गर्नुपर्छ । सहमतीय राजनीति मात्र सर्वदलीय टाउके नेताहरूको र तिनका दलीय स्वार्थको सौदाबाजी गर्ने प्रणाली होइन । त्यस्तै सबै मिलेर खाने, राष्ट्रिय हित र स्वार्थ विदेशीलाई चढाउने प्रणाली पनि होइन । यो त राष्ट्रको शक्तिलाई एक ढिक्का बनाएर सबै क्षेत्रमा राष्ट्र र जनतालाई बलियो बनाउने तेस्रो विश्वका लागि सबभन्दा उपयुक्त हुने राजनीतिक प्रणाली हो । नेपालजस्ता संक्रमणकालीन राजनीतिक परिस्थिति भएका मुलुकमा त वरदान नै साबित हुन्छ ।
सहमतिको सिद्धान्तको आधारमा ठूला साना सबै दलको राज्यसत्ता सञ्चालनमा सहभागिता हुनेछ । सर्वसहमतिबाट निर्मित सहमतिको साझा राष्ट्रिय घोषणापत्रको आधारमा बनेको साझा राष्ट्रिय नीति कार्यक्रद्वारा राष्ट्रिय सहमतिको सरकार सञ्चालित हुनेछ । विचार कार्यक्रम र प्रतिनिधित्वको हिसाबले राष्ट्रिय शक्तिको नेतृत्व हुनाले स्वाभाविक रूपमा सहमतिका साथ व्यापक क्षेत्रमा जनसहभागिता जुटेर मुलुकले छिट्टै आर्थिक विकासमा फड्को मार्नेछ । यो सहमतीय लोकतन्त्र बहुमतीय लोकतन्त्रको तुलनामा साँचो अर्थको बहुसंख्यकको हुनेछ । साँचो अर्थमा सबैको लोकतन्त्र हुनेछ । साझा राष्ट्रिय भावना र सहकार्य संस्कृतिको विकास भएर मुठ मोडहित व्यवस्था हुनेछ । आशा गराँै, नेपालका दलहरूले सहमतीय राजनीतिको मर्म र महत्त्व बुझेर सहमतीय राजनीतिलाई सुनिश्चित गर्ने सहमतिको दस्ताबेजका रूपमा साझा संविधान प्रस्तुत गर्न सकून् ।

प्रतिक्रिया