चोरीका मोटरसाइकलसहित तीन पक्राउ

हेटौंडा, २७ वैशाख । काठमाडौंबाट मोटरसाइकल चोरेर विभिन्न जिल्लामा पुर्‍याउने गिरोहका तीनजना हेटौंडामा पक्राउ परेका छन् । प्रहरीले उनीहरूबाट चारवटा मोटरसाइकलसमेत बरामद गरेको छ ।
दोलखा मालुङ–७ का दीपक खड्का र रामेछाप फुलार्की–२ का विनोद अधिकारी मोटरसाइकलसहित पक्राउ परेका हुन् । वा ४६ प २०३६, ना १९ प ४३७७ नम्बरको मोटरसाइकलसहित मकवानपुरको भैँसेबाट उनीहरू पक्राउ परेका थिए । उनीहरू काठमाडौं नाकाबाट हेटौंडासम्म मोटरसाइकल ल्याउने काममा सरिक भएको पाइएको छ ।
यस्तै, सिमभन्ज्याङबाट चोरीको मोटरसाइकलसहित अर्का एक पक्राउ परेका छन् । वा ३४ प ९०३४ नम्बरको मोटरसाइकलमा हेटौंडा आइरहेका दीपेश केसीलाई पक्राउ गरिएको इन्स्पेक्टर मोहन कार्कीले बताए । प्रहरीका अनुसार केसी पछिल्लो समय काठमाडौँबाट मोटरसाइकल चोरेर ल्याउने र पालुङमा ल्याएर राख्ने काममा संलग्न छन् ।
यस्तै, प्रहरीले वा ४० प ९१७५ नम्बरको मोटरसाइकल बरामद गरेको छ । मकवानपुरको दामन–पालुङ, चित्लाङको चन्द्रागिरि, फाखेल–हुमानेभन्ज्याङ, सिस्नेरी–कुलेखानी र बाग्मती खोला तारेर ठिंगन नाकाबाट चोरीका मोटरसाइकल मकवानपुर भित्र्याइरहेको प्रहरीले बताएको छ । मकवानपुरमा ल्याइएपछि विभिन्न सहरमा मोटरसाइकल पुर्‍याउने काम हुँदै आएको छ ।
चोरीका मोटरसाइकल मकवानपुरको नाकाबाट भित्रिनुमा प्रहरीको पनि मिलेमतो रहेको पाइएको छ । नाका र नजिकका प्रहरी चौकीले प्रतिमोटरसाइकल पाँच सय रुपियाँ लिएर जिल्ला प्रवेश गर्न दिएको आरोप प्रहरीमाथि पनि लागेको छ । तर, प्रहरीले आरोप स्विकारेको छैन । यसरी भित्रिएका मोटरसाइकल पूर्वी मकवानपुरको राई गाउँ, फापरबारी, हटिया, छतिवन, पदमपोखरीमा लुकाएर राख्ने गरिएको पाइएको छ । पछि यिनै मोटरसाइकल तराईका जिल्लामा पठाउने काम भइरहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
इन्स्पेक्टर कार्कीका अनुसार मोटरसाइकल चोरीमा ठूलै गिरोह सक्रिय रहेको छ । काठमाडौंमा चोर्नेले सिमाना फर्पिङ, दक्षिणकालीसम्म ल्याउने, सिमानाबाट हेटौंडासम्म अर्को समूहले ल्याउने र हेटौंडाबाट विभिन्न जिल्लामा मोटरसाइकल पुर्‍याउने संयुक्त गिरोह चोरीमा लागेको छ । बजारमा चोरीका मोटरसाइकल ३५ देखि ५५ हजार रुपियाँमा बिक्री हुने गरेको र यस्ता मोटरसाइकलको कागजात पनि सक्कलीजस्तै बनाउन अर्को गिरोह सक्रिय रहेको प्रहरीले बताएको छ । चोरीका मोटरसाइकल बढीमात्रामा गाउँमा सञ्चालनमा रहेको एसपी पूर्णचन्द्र जोशीले बताए । प्रहरीले नाकामा चोरीका मोटरसाइकल नियन्त्रणको प्रयास गरे पनि चोरी भएर भित्रिएका मोटरसाइकलका गोदाममा छापा मार्न सकेको छैन । मकवानपुरको पदमपोखरी, छतिवनलगायत गाउँमा चोरीका मोटरसाइकल लुकाएर राख्ने गरिएको सूचना पाइए पनि प्रहरी गाउँ छिर्न सकेको छैन ।

प्रतिक्रिया