‘लक्षित वर्गसम्म सहकारी पुगेको छैन’

०५४ सालबाट सहकारी व्यवसायमा होमिएका काफ्ले हाल सफल सहकारीकर्मीका रूपमा परिचित छन् । १४ वर्षदेखि एउटै संस्थामा निरन्तर लागिरहेका काफ्ले सचिव, अध्यक्षको जिम्मेवारीसँगै अहिले कार्यकारी निर्देकका रूपमा काम गरिरहेका छन् । हालसम्म आइपुग्दा संस्थाले राम्रो प्रगति गरेको छ । तर, उनी भन्छन्, ‘म आफू सन्तुष्ट भने छैन, अझै धेरै काम गर्न बाँकी छ ।’
नेपाल कमर्स क्याम्पस मीन भवनबाट एमबिएमा अध्ययन गर्दागर्दै संस्था स्थापना गरिएको उनी बताउँछन् । ‘आफूले जागिर खानेभन्दा पनि अरूलाई खुवाउने खालको काम गरौँ भन्ने मनमा लाग्यो,’ उनी भन्छन्, त्यसपछि सहकारी सञ्चालन गर्ने सोच आयो । मैले एक दुईवटा सहकारी संस्था पनि अवलोकन गरेँ । थोरै पँुजीमा पनि सहकारी व्यवसाय गर्न सकिंदो रहेछ भन्ने थाहा पाएँ ।’ २५ जना साथी मिलेर ०५४ सालमा संस्था दर्ता गरेपछि ९ वैशाख ०५५ बाट कारोबार सुरु गरेको उनी बताउँछन् ।
१५ वर्षको दौरान अहिले संस्थाको आफ्नै सुविधासम्पन्न भवन रहेको छ । वसुन्धरामा भवन बनाई सोही स्थानबाट कारोबार गरिरहेको छ । लामो समयसम्म कोठा भाडामा लिएर संस्था सञ्चालन गरेको यो सहकारीले अहिले घर भाडामा समेत लगाएको छ ।
सहकारी सिद्धान्त, मूल्य र मान्यताअनुरूप सञ्चालन भइरहेको उनी दाबी गर्दछन् । सहकारीको सिद्धान्तअनुरूप सामाजिक कार्यमा पनि संस्था अग्रणी रहेको छ । विगतमा संस्थाको काठमाडांैलगायत विभिन्न जिल्लामा १० वटा शाखा स्थापना गरी कारोबार गरेको थियो । तर, व्यवस्थित ढंगले सञ्चालन गर्न नसेको उनी बताउँछन् । पछि आफ्ना सबै शाखालाई काठमाडौंमा मर्ज गरेको उनको समेत उनको अनुभव छ । ‘असल काम गर्दै जानु पर्छ भन्ने हाम्रो मान्यता हो,’ उनी भन्छन्, ‘संस्थालाई जुन सपना देखेर स्थापना गरियो सो स्थानमा ल्याउन धेरै अवरोध र बाधा उत्पन्न भए ।’
उनका अनुुसार संस्थाले नयाँ काम सोचिरहेका छ । हरेक कर्मचारीले हरेक दिन असल काम गर्नु पर्छ भन्ने हाम्रो मान्यता छ । यो सहकारीले २० जना कर्मचारीलाई रोजगारी दिएको छ । सञ्चालक, कर्मचारी र सदस्य सकारात्मक रूपमा लागिपर्‍यो भने अवश्य पनि सफल बन्न सकिन्छ भन्ने उनको बुझाइ छ ।
‘संयुक्त राष्ट्र संघले सन् ०१२ लाई अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउने घोषणा गरेअनुरूप नेपालले पनि मनाइरहेको छ,’ उनी भन्छन्, ‘सोही अवसरमा संस्थामार्फत तीनवटा नयाँ काम गर्ने प्रतिबद्धता जनाएका छौँ, जसमा सहकारी कृषि बजारको सञ्चालन, पर्यटन क्षेत्रमा लगानी र सहकारी बहुउद्देश्यीय भवन निर्माण गर्दै छौँ ।’ उनका अनुसार सहकारी बजार सञ्चालनका लागि चावाहिलदेखि बालाजुसम्म १० रोपनी जग्गाको खोजीमा सहकारी रहेको छ ।
‘सहकारी व्यवसायमा मैले सन्तुष्टि पाएको छु,’ काफ्लेले भने, ‘धेरै काम गर्न सक्छु भन्ने आँट मसँग छ ।’ सहकारीबाट धेरै देश घुम्ने मौका पाएका उनले यात्राबाट धेरै अनुभव सम्हालेको पनि बताए । अमेरिका, जर्मन, श्रीलंका, स्विट्जरल्यान्ड, भारत, पाकिस्तानलगायतका १० भन्दा बढी देशका सहकारी सञ्चालकका अनुभव साट्दाको मज्जा पनि उनी रमाइलो गरी बताउँछन् । असल काम गर्नु पर्‍यो, असल मान्छे सफल अवश्य हुन्छ । पहिले संस्थालाई असल बनाउनु पर्छ, अनि व्यक्ति र समुदाय सफल हुने उनको तर्क छ । ‘तीन करोड जनता नै असल भइदियो भने देश राम्रो हुने थियो,’ उनले भने । सहकारीमार्फत आर्थिक, सामाजिक र शैक्षिक स्तरमा मुलुकलाई परिवर्तन गर्न सकिने सोच उनको छ ।
‘प्राकृतिक र भौगोलिक रूपमा देश समृद्ध छँदै छ,’ उनी भन्छन्, ‘गरिबीको गीत जति नै रटे पनि वास्तवमा हामीले आफूलाई नचिनेर गीत गाईरहेका हौँ । हाम्रो देश अन्य देशभन्दा गरिब छैन । हामीकहाँ पर्यटन, कृषि र जलको ठूलो सम्भावना छ । हामी समृद्ध छौँ ।’ अब गरिबीको गीत गाउनुका सट्टा समृद्धिका लागि कर्म गर्दै समृद्धिकै गीत गाउनु पर्छ भन्छन् काफ्ले ।
उनका अनुसार उनको संस्थामा दक्ष र अनुभवी कर्मचारी छन् । जसले गर्दा यहाँसम्म आइपुगिएको उनी बताउँछन् । कर्मचारी, सदस्य र सञ्चालक पनि सुरुदेखिकै रहेका छन् र कर्मचारीको संस्था प्रतिको लगाव पनि राम्रो रहेको उनको बुझाइ छ ।
मुलुकभर अहिले भएजस्तो २४ हजार सहकारीको आवश्यक नरहेको उनको तर्क छ । एउटा सहकारी बराबर १२ सय ५० मानिस पर्दछन्, जसमा बालक र वृद्ध पनि पर्दछन् । ‘सहकारीले सेवा गर्ने भनेको सदस्यहरूमा हो’, उनी थप्छन्, ‘देशको जनसंख्याका हिसाबले सहकारी बढी भएको छ ।’ सुविधासम्पन्न भएका ठाउँमा सहकारी बढी भएका र सहकारीको लक्षित वर्ग जहाँ हो त्यहाँ सहकारी पुग्न नसकेको उनको गुनासो छ । ‘सहकारी बढी भएका ठाउँमा मर्जर गर्नु पर्‍यो’, उनी भन्छन्, ‘हामीले शाखा पनि मर्ज गरेका छौँ, हिजो बुझ्दा कम बुझेका थियौँ तर अहिलेको बझाइले ठिक गरेको जस्तो लागेको छ ।’ सहकारीमा ५० वर्ष मेहनत गर्‍यौँ भने भावी पुस्तालाई नेपालमा सहकारीमार्फत धेरै काम गर्न सकिन्छ भन्ने शिक्षा हुने उनको धारणा छ ।
‘सामूहिक भावनामा लाग्ने हो भने सहकारी मर्जरमा लैजान गाह्रो छैन,’ काफ्ले भन्छन् । मर्जरमा जाँदा कसैको अध्यक्ष पद खुस्कला भनेर मुठ्ठी कसेर मात्र बसेर केही गर्न नसकिने उनी बताउँछन् । ‘मर्ज भएपछि संस्था बृहत् रूपमा जानु आवश्यक छ होइन भने मर्जरमा जानुको औचित्य हुँदैन ।’
सहरमा सञ्चालित सहकारीले गाउँका सहकारीलाई सहयोग गर्नुपर्छ । गाउँका सहकारीले उत्पादन गर्ने कृषि उपजको सहरका सहकारीले बजारीकरण गर्नु पर्छ । ‘किसानलाई आर्थिक रूपमा समुन्नत बनाउने सहकारीले नै हो,’ उनले भने, ‘कृषकले उत्पादनको सही मूल्य पाउने हो भने जीवनस्तर उकासिन्छ, अनि मात्र देश समुन्नत हुन्छ ।’
सहकारीमा बहुसम्भावना रहेको उनको बुझाइ छ । ठुल्ठूला उद्योग, हाइड्रो, पर्यटन, कृषि क्षेत्रमा प्रशस्तै विकासको सम्भावना छ । विश्वमा सहकारीको प्रगति तथा काम हेर्दा अचम्म लाग्ने उनको भनाइ छ । ‘सहकारी भनेको सानो व्यवसाय मात्र हो भन्ने मानिसहरूको गलत धारण छ । सहकारीले पनि निजी क्षेत्रको भन्दा कम काम गर्दैन ।’
प्रस्तुति : काजी श्रेष्ठ

प्रतिक्रिया