“कमजोर हुनाले मधेसवादी दल सत्ताको पछि कुद्छन्”


सरिता गिरी
अध्यक्ष, नेपाल सद्भावना पार्टी(आनन्दीदेवी)
राजनीतिमा आउन केले प्रेरित गर्‍यो ?
– आफैँ भित्र पलाएको सोच र भारतको स्वतन्त्रता संग्रामले प्रभाव पारेको थियो । म गान्धीवादी हुँ, भारतमा इन्दिरा गान्धीले चलाएको जेपी अभियानले छोएको थियो । बिहे भएर नेपाल आउँदा छत्तीस सालको विद्यार्थी आन्दोलन चल्दै थियो । त्यो परिवेशले राजनीतिमा लाग्न थप प्रेरित बनायो ।
पहिले कांग्रेसमा हुनुहुन्थ्यो होइन ?
– हो, पाँच–छ वर्ष त्यहाँ काम गरेँ तर कांग्रेसको राजनीतिक विचारले मलाई छुन सकेन । कांग्रेससँग प्रजातन्त्रको भिजन नै देखिनँ । राजनीतिशास्त्रको विद्यार्थी हुँ, यसबारे धेरै अध्ययन गरेकी छु । नेपालमा रहेका सामाजिक, भाषिक, जातीयलगायत विविधतालाई कांग्रेसले सम्बोधन गर्न सकेको छैन । ५१–५२ सालमा आएपछि मैले यस्तो निष्कर्ष पाएँ । कांग्रेस छाड्ने मेरो निर्णयमा घरतिरका कोही पनि खुसी थिएनन् । परिवारको संलग्नता कांग्रेसमा निकै गहिरो थियो । मैले कसैलाई नसोधी यो निर्णय गरेँ । जे गरेँ ठीक गरेँ भन्ने लाग्छ ।
तपाईंको राजनीतिमा माइती (भारतको) प्रभाव छ भन्छन् नि ?
– ममा भारतीय स्वतन्त्रता संग्रामको प्रभाव छ । त्यस हिसाबले भारतको प्रभाव भन्छन् भने केही भन्नु छैन । अठार वर्ष भारतमा बिताएकी छु, त्यहाँको प्रजातन्त्र हेरेकी छु । राजनीति के हो भन्ने त्यहीँबाट बुझेकी हुँ । गान्धी, नेहरूबारेको अध्ययनले मेरो मस्तिष्कमा गहिरो छाप पारेको छ । नेपालको राजनीति सत्ताकेन्द्रित छ, भारतको राजनीति जनता र नीतिमा केन्द्रित देख्छु ।
मधेसवादी दलहरू किन सत्ता परिवर्तनसंगै विभाजित भइरहेका ?
– यो नेपालका सबै दलको रोग हो । मधेसी दलहरू कमजोर छन्, त्यसैले सत्ताको पछि बढी लाग्छन् । त्यही कारणले फुट आएको हो  । तर, मचाहिँ त्यस्तो कमजोर छुइनँ । भारतका मधेसीभन्दा नेपाली मधेसी बढी हीनभावनाका छन् । ममा त्यस्तो हीनभावना र कुण्ठा छैन ।
मधेसमा भारतीय प्रभाव बढाउन खोजेको आरोप पनि लाग्छ नि मधेसवादी नेताहरूलाई ?
– मेरो कुन कुराले त्यस्तो देखाउँछ ? त्यो त मप्रति पूर्वाग्रही मानसिकता राख्नेहरूले लगाउने आरोप मात्र हो । खासमा यस मामिलामा म एमाओवादी, कांग्रेस, एमालेभन्दा पनि माथि छु, यसमा मलाई गर्व लाग्छ ।
बिहे गरेर नेपाल आएपछि तपाईंमा कस्ता परिवर्तन आए ?
– म एकदम स्वतन्त्रता मन पराउने व्यक्ति । कसैको हस्तक्षेप राम्रो लाग्दैन । जस्ती थिएँ, त्यस्तै छु । त्यही स्वभावले अहिलेसम्म पनि काम गरेको छ । आफ्नो निर्णय आफँै गर्न पाउनुपर्छ भन्ने मेरो मान्यता अझै कायमै छ ।
घरबाट कत्तिको सहयोग पाउनुभयो ?
– कांग्रेस छाडेपछि मलाई कतैबाट सहयोग भएन, घरबाट त उल्टै बिगारे । नेपाल आउँदा भाषा जान्दिनथेँ । सानै उमेरमा दुइटा बच्चा पाएँ तर मेरा बुबाआमा र काकाहरूले चाहिँ फुल्ली सपोर्ट गर्नुभयो । स्वभावअनुसार ठीक निर्णय लिएकी छे भन्नुहुन्थ्यो ।
आफ्नो निर्णयमा कत्तिको अडिग रहनुहुन्छ ?
– सुरुदेखि नै आत्मनिर्भर भएर बाँच्नुपर्छ भन्ने सोच राख्ने नारी हुँ । आफूलाई विश्वास लागेको गर्छु । सुनेको भरमा कसैको पछि लाग्दिनँ । यथेष्ट अध्ययन र विश्लेषण गरेपछि मात्रै निर्णय लिन्छु । त्यसैमा अडिग रहन्छु ।
रूप, पैसा, कूटनीतिक क्षमता वा माइतीमध्ये कुनचाहिँ आफ्नो सशक्त पक्ष हो जस्तो लाग्छ ?
– मेरो खुबी मेरो विश्वास हो । सौन्दर्यका बारेमा दोस्री छोरी जन्मिएपछि झनै राम्री भएछु भन्ने लाग्यो । अरूले मेरो फोटो हेरेर ‘कति राम्री’ भन्थे । त्यतिबेला मैले राजनीति मात्र होइन, घरभित्रका काम पनि निकै गरेँ । जागिर खाएँ, तीन बच्चा हुर्काएँ । निर्णय र प्रतिबद्धताले नै म आजसम्म टिकेकी हुँ । माइतीबाट पाएको संस्कारले पनि धेरै सहयोग गरेको छ ।
घमन्डी पनि भन्छन् नि’ तपाईंलाई ?
– मलाई त लाग्दैन । ममा के छ र त्यस्तो घमन्ड गर्न ? ममा कुनै कुण्ठा र हीनता छैन । अडान राख्ने मान्छे हुँ, त्यसलाई कसैले घमन्डी देख्न सक्छन् ।
महिला भएका कारण हेपिएको महसुस पनि गर्नुभएको छ कि ?
– त्यो त कत्ति छ कत्ति † समाजको संरचना नै त्यस्तै छ, हरि कथा हरि अनन्त भनेजस्तो । महिला पनि पुरुषको बराबरीमा काम गर्न सक्छे भन्ने मान्न समाज तयारै छैन । बिहे गरेर नेपाल आउँदाताकाकी जस्ती सरिता गिरी आज छैन, जो त्यतिबेला कसैले जोडले बोल्दा आँखा खोल्न सक्दैनथी, रक्सी खाएको मान्छे अगाडि पर्दा थरथर काम्थी, डरैडरले खुट्टा टेक्न सक्दैनथी । पहिलोपटक रक्सी खाएको व्यक्ति श्रीमान् नै देखेकी हुँ, खुब डराएँ ।
अरू संघर्ष कस्ता रहे ?
– धेरै संघर्ष गरेर यहाँ आइपुगेकी हुँ । छोराछोरीलाई सधैँ आफैंसँग राखेर पढाएँ । भुइँमा सुतेकी छु, के–के मात्रै गरिनँ । तेस्रो सन्तान हुर्किएपछि एमए गर्न गएकी हुँ । निरन्तर पढ्न कहाँ पाइयो र ? मधेसी नारी म, पहाडियासँग बिहे भयो । भोलिपल्टदेखि नै बुझँें, मधेसीप्रतिको विभेद । छोराछोरीलाई शिक्षा दिन सकुँला नि नसकुँला भन्नेमा निकै डर थियो ।
किन असफल भयो त वैवाहिक जीवन ? तपाईंको आफ्नो स्वभावका कारणले पो हो कि ?
– मेरो मागी विवाह हो, दुई परिवारकै योजनामा भएको । दुई गिरी परिवारसँग राम्रै सम्बन्ध थियो । पढेलेखेकी राम्री केटी छे, पछि बच्चा राम्रो र तेज हुन्छ भन्ने उहाँहरूलाई रहेछ । म स्वतन्त्रता चाहने मान्छे, छोराछोरी स्वतन्त्र वातावरणमै अगाडि बढून् भन्ने चाहन्थेँ तर मैले चाहेजस्तो जीवन घरबाट पाइनँ । त्यसैले अलग हुनुपर्छ भन्ने सोच बनाएँ । आज पनि इन्जिनियर साहेब (पति) सँग मानवीय सम्बन्ध छ । बिरामी हँुदा घरमा ल्याएर राख्छु । मैले एक्लै बस्ने निर्णय नगरेको भए हामी पाँचै जना डिस्टर्ब हुन्थ्यौँ ।
पतिसँग कुनै कुरामा सरसल्लाह हुन्छ कि हुँदैन हिजोआज ?
– छोराछोरीको पढाइबारेमा सल्लाह हुन्छ तर पनि निर्णय भने मेरो नै हुन्छ । पारिवारिक रूपमा उहाँले मेरा हरेक निर्णयमा साथ दिनुभएकै हो, उहाँको परिवारले नचाहँदा नचाहँदै पनि । छोरीलाई पढ्न लन्डन पठाउने बेलामा पनि अरू सबैको विरोधै थियो, उहाँ एक्लैले मलाई साथ दिनुभएको हो ।
प्रस्तुति : चमिना

प्रतिक्रिया