मन्टेसोरीको ममता


घोकेर नभई बुझेर जान्ने शिक्षापद्धति हो मन्टेसोरी । यही शिक्षापद्धतिलाई पनि ‘फेसन’ र व्यापार बनाइँदै लगेकोप्रति सुनिता ढकाल (कट्टेल) को चित्त खुबै दुखेको छ । ‘डे केयर’लाई मन्टेसोरी भनेर अभिभावक ठग्ने शैलीदेखि त झन् उनको ठूलै गुनासो रहेछ । सुनिताले भनिन्, ‘मन्टेसोरी भनेको खेलबाड होइन, ससाना बालबालिकाको भविष्यको पहिलो खुड्किलो हो, पहिलो पाइलामै गलत सिकाइयो भने जिन्दगीको यात्रा कस्तो होला ?’
२७ वर्षपहिला काठमाडौंको नयाँ बानेश्वरमा आमा अनिता र बुबा प्रकाशचन्द्र ढकालको सन्तानका रूपमा जन्मिएकी सुनिताले भानुभक्त मेमोरियल स्कुलबाट एसएलसी पास गरेकी हुन् । त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजीमा बिएसम्म उनले प्राइभेट रूपमै पास गरिन् । नेपालमा भरखरै मन्टेसोरी पद्धतिको सुरुआत हुँदै थियो । उनले दोस्रो ब्याचमै नेपाल मन्टेसोरी तालिम केन्द्रबाट जुनियर र सिनियर डिप्लोमा गरिन् । अनि लागिन्, पढाउन । ‘मैले भिएस निकेतन, स्ट्यान्फर्ड र लिटिल एन्जल्समा गरेर करिब १० वर्ष पढाएँ’, अनिताले भनिन्, ‘त्यही क्रममा रातो बंगला फाउन्डेसनबाट ‘चाइल्ड सेन्टर लर्निङ’ पनि सिकेँ ।’
नेपाली शिक्षण पेसामा केही ‘एक्स्ट्रा’ गर्ने सोचमा रहेकी सुनितालाई लिटिल एन्जल्समा विदेशी प्रशिक्षक डा. रोजमेरी केयरले ‘चाइल्ड लर्निङ’ बारे थप तालिम दिइछन् । आफंै सिक्ने र पढाउने क्रममा उनले जानिन्– ‘मन्टेसोरी भनेको जानेर, बुझेर, जिज्ञासा राखेर नि:संकोच बालबालिकाले सिक्ने शैक्षिक ज्ञान हो ।’ तर, अहिले बजारमा खुलेका मन्टेसोरी शिक्षालयप्रति भने उनी रत्तिभर सन्तुष्ट छैनन् । ‘एक पटक बोर्डिङ स्कुलको फेसन आयो, त्यसपछि प्लस टुको खुबै लहर चल्यो, अहिले त्यो रोग मन्टेसोरीमा सरेको छ’ सुनिताले भनिन्,‘यसो हुनामा नियमन गर्ने र अनुगमन गर्ने निकाय नहुनु प्रमुख कारण हो ।’
अहिले गल्ली र टोलटोलमा मन्टेसोरीका बोर्ड झुन्ड्याइएका भए पनि सही अर्थमा ती मन्टेसोरी भए/नभएको निक्र्योल गर्न उनी अभिभावकलाई सल्लाह दिन्छिन् । बजारमा मासिक १५ सयदेखि १५ हजार रुपियाँसम्म लिएर मन्टेसोरी शिक्षा दिइने गरेको छ । सुनिताले भनिन्,‘मापदण्डमा चलाइएको मन्टेसोरीमा १५ सय रुपियाँमा बच्चालाई दूध मात्रै पनि खुवाउन सकिँदैन ।’ थोरै लगानीमा घरकै दुईचार कोठामा खोलिएका व्यापार केन्द्र मन्टेसोरीको नाममा भ्रम भएको दाबी गर्दै उनले भनिन्, ‘मन्टेसोरी हुनाका लागि खुला, शान्त र सफा वातावरणयुक्त भवन हुनै पर्छ, बच्चालाई साइडइफेक्ट नगर्ने मन्टेसोरी ल्याब बनाइनुपर्छ, अनि हाइजेनिक खाजा र खानाको व्यवस्था हुनैपर्छ ।’
अहिलेको समाज पहिलाजस्तो संयुक्त परिवारमा बस्न छाडेकाले मन्टेसोरी नै बच्चाहरूको शैक्षिक, सामाजिक, बौद्धिक र मानसिक विकासका लागि उपयुक्त शिक्षापद्धति भएको बुझेकी सुनिता आफ्नो अनुभव, योग्यता र लगाबका कारण २०६८ देखि आफंै फस्र्टफ्रेन्ड प्रिस्कुल नामक मन्टेसोरी शिक्षालय सञ्चालन गरिरहेकी छन् ।
जिल्ला शिक्षा कार्यालय मात्र नभई मन्त्रालयसँग पनि मन्टेसोरी शिक्षा प्रणालीलाई उचित नियम र अनुगमन गर्ने नीति तथा संयन्त्र नभइदिनाले तमाम अभिभावक ठगिने गरेको अनुभव उनले सँगालेकी छन् । अभिभावक ठगिनुभन्दा पनि भर्ना भएका बालबालिकाको भविष्य नै अन्धकार हुन सक्ने कार्यप्रति सबै पक्ष सचेत हुनुपर्ने उनी सुझाउँछिन् । सबै प्रक्रियाले पूर्ण भएका मन्टेसोरी औंलामा गन्न पनि नपुग्ने सुनिताको ठम्याइ छ । ‘साइनबोर्ड झुन्ड्याउँदैमा मन्टेसोरी हुँदैन’, भन्छिन्, ‘आफ्नो बच्चाले के सिकेछ भनेर अलिकति सचेत हुने हो भने असली र नक्कली आफैं छुट्टिइहाल्छ ।’

प्रतिक्रिया