एकजना छुटाउन दस लाखको पढाइ बन्द

काठमाडौं, २६ वैशाख । प्रहरी हिरासतमा रहेका एक विद्यार्थी छुटाउन दस लाख विद्यार्थीको पढाइ ठप्प बनाइएको छ । अनेरास्ववियुले प्रहरीको हिरासतमा रहेका विजय बुढालाई छुटाउनुपर्ने माग गर्दै सोमबार उपत्यकाव्यापी शैक्षिक हडताल गर्दा दस लाख विद्यार्थी प्रभावित भएका हुन् ।

केही समयअघि पशुपति बहुमुखी क्याम्पसमा नेविसंघ र अखिलबीच झडप हुँदा बुढालाई प्रहरीले पक्राउ गरेको थियो । अनेरास्ववियुका महासचिव किशोरविक्रम मल्लले ज्यानमुद्दा लागेका बुढालाई रिहा गर्नुपर्ने मागका साथै आइतबार त्रिचन्द्र क्याम्पसमा प्रहरीले गरेको ज्यादतीका विरुद्धमा उपत्यका बन्द आह्वान गरेको बताए ।
आइतबार मुद्दा फिर्ता लिनुपर्ने माग गर्दै मसाल जुलुस निकाल्न लाग्दा प्रहरीले हस्तक्षप गरेको थियो । सो जुलुसमा एक दर्जन नेता घाइते भएका थिए । शिक्षा मन्त्रालयका प्रवक्ता जनार्दन नेपालले उपत्यकामा विद्यालय तथा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी करिब दस लाख रहेको बताए ।
पशुपति क्याम्पसमा झडप भएपछि करिब तीन सातादेखि नेविसंघ र अखिलबीच द्वन्द्व बढिरहेको छ । एक–अर्काविरुद्धमा लगातार कार्यक्रम गरेपछि वार्ताबाट सहमतिमा पुगेका अनेरास्ववियु र नेविसंघ दुई दिनपछि पुन: झडप गरेका थिए । दुई संगठनबीच १२ वैशाखको वार्तामा दुवैतर्फका मुद्दा फिर्ता लिने, घाइतेको क्षतिपूर्तिका लागि सरकारसँग अनुरोध गर्ने, एकअर्कालाई सद्भावपूर्ण व्यवहार गर्ने सहमति भएको थियो तर नेविसंघले मुद्दा फिर्ता नलिएपछि अखिलले दबाब दिन संघर्षका कार्यक्रम गरिरहेको छ ।
अखिलले सहमतिबमोजिम मुद्दा फिर्ता नगरेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सोमबार वाल्मीकि क्याम्पसबाट जुलुस निकालेर पुतलीसडकमा कोणसभा गरिएको थियो । अखिलले २६ वैशाखमा देशभरका शैक्षिक संस्थामा विरोधस्वरूप कालो झन्डा गाड्ने, २७ मा विरोधसभा गर्ने, २८ मा दुई घन्टा चक्काजाम गर्ने, २९ मा देशभरका संस्थाअगाडि प्रधानमन्त्री र गृहमन्त्रीको पुतलादहन गर्ने, ३१ वैशाखमा शैक्षिक संस्थाबाट मसाल जुलुस प्रदर्शन गर्ने जनाएको छ ।
अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले विद्यार्थी संगठनले विद्यार्थीलाई हानि हुने आन्दोलन गर्न नहुने बताए । एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री हुँदा सरकारले विद्यालय शान्तिक्षेत्र घोषणा गरेको थियो तर अहिले एमालेकै भ्रातृ संगठनले विद्यालय बन्द गराएर घोषणाको उल्लंघन गर्नु दुर्भाग्य भएको अध्यक्ष भण्डारीको भनाइ छ । उनले भने, ‘माग पूरा गराउन आन्दोलनका अर्कै विकल्प खोज्न सकिन्थ्यो, विद्यार्थीलाई हानि हुने कार्यक्रम गर्नुहुँदैनथ्यो ।’

प्रतिक्रिया