आन्दोलन र वार्ता सँगसँगै गरिने

महेन्द्रनगर, २६ वैशाख । अखण्ड सुदूरपश्चिमको माग राख्दै आन्दोलनमा उत्रिएका कञ्चनपुरका राजनीतिक दलसँग सरकारले वार्ता गर्ने भएको छ । सरकारका तर्फबाट उपप्रधानमन्त्री कृष्ण सिटौलाको संयोजकत्वमा वार्ताटोली गठन भइसकेको छ भने आन्दोलनकारीले पनि छिट्टै टोली बनाउने भएका छन् ।

११ दिनदेखि जारी आन्दोलनलाई निरन्तरता दिँदै वार्ता सुरु गर्ने आन्दोलनकारीले जनाएका छन् । प्रधानमन्त्रीले वार्ताका लागि टोली बनाएपछि यहाँ आन्दोलित दलहरू सरकारसँग वार्ता गर्न सहमत भएका हुन् । सोमबार स्थानीय प्रशासनको अगुवाइमा भएको सर्वदलीय र सर्वपक्षीय बैठकमा मंगलबार दिउँसोसम्म वार्ताटोलीको नामावली दिने सहमति भएको छ ।
‘आन्दोलनरत पक्षले भोलि (मंगलबार)सम्म नामावली दिन्छौँ भनेका छन्,’ कञ्चनपुरका प्रजिअ वासुदेव दाहालले सौर्यसँग भने । एमाले कञ्चनपुरका अध्यक्ष ईश्वरीप्रसाद खरेलले आन्दोलनरत दलहरूको बैठक बसेर वार्ताटोली गठन गरिने बताए । ‘सबै दलसँग छलफल गरी नामावली पठाउँछौँ,’ उनले भने । दलहरूले वार्ताटोली गठन गरे पनि पूर्वघोषित आन्दोलनका कार्यक्रम भने यथावत् राख्ने निर्णय गरेका छन् ।
‘वार्ताटोली गठन गरेर सरकारले सकारात्मक कदम चालेको छ,’ अध्यक्ष खरेलले भने, ‘तर सुदूरपश्चिमवासीको माग पूरा नहुन्जेल आन्दोलन स्थगित गरिँदैन ।’ दलहरूको कार्यक्रमअनुरूप मंगलबार पापडको आयोजनामा अन्तरक्रिया र बुधबार र बिहीबार जनप्रदर्शन गर्ने कार्यक्रम छ । यता, संयुक्त थारू संघर्ष समितिले पनि थरुहट राज्यको माग गर्दै घोषित कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
‘हामी शान्तिपूर्ण आन्दोलनको पक्षमा छौँ,’ आदिवासी जनजाति महासंघका जिल्ला अध्यक्ष वसन्त गुरुङले भने, ‘सरकारले वार्ताटोली गठन गरे पनि हाम्रो आन्दोलन जारी रहन्छ ।’ उनले प्रदेशको नाम जुनसुकै भए पनि आदिवासी तथा थारू समुदायको विशेषाधिकार सुनिश्चित गर्नुपर्ने बताए । ‘मेरो गोरुको बाह्रै टक्का भनेझँ कसैले पनि अड्डी कस्नु भएन,’ गुरुङले भने, ‘संघीयतामा मुलुक गइसकेपछि अखण्डको नारा लगाएर पनि हँुदैन ।’
नेकपा एमाले, नेपाली कांग्रेस, राष्ट्रिय शक्ति प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, माले र संयुक्त थारू संघर्ष समितिका पदाधिकारी बैठकमा सहभागी थिए । बैठकमा आन्दोलनरत सबै पक्षको आन्दोलन शान्तिपूर्ण बनाउने र कसैले पनि हस्तक्षेप वा अवरोध नगर्ने आपसी सहमति गरेका छन् ।
यसैबीच, बन्दका कारण धनगढीको बसपार्कमा अलपत्र परेका यात्रुले बसपार्कबाट नारा–जुलुुससहित कैलाली जिल्ला प्रशासन कार्यालयको मूलढोकामा पुगेर खाने–बस्ने व्यवस्था गर्न वा गन्तव्यसम्म पुर्‍याइदिन माग गर्दै धर्ना दिएका छन् । करिब दुई सयको संख्यामा रहेका यात्रुले लगातार भइरहेको बन्दले आफूहरू बेखर्ची भएर अलपत्र परेको भन्दै तीन दल र सरकारविरुद्ध चर्को नारासमेत लगाएका थिए ।
सरकारी वार्ताटोली गठन
सौर्य समाचार

काठमाडौं, २६ वैशाख । सरकारले अखण्ड सुदूरपश्चिम, थरुहटलगायत माग राखेर आन्दोलन गर्दै आएका आन्दोलनकारीसँग वार्ता गर्न उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा तीनसदस्यीय वार्ताटोली गठन गरेको छ । सरकारले वार्ताका माध्यमबाट सबै समस्याको समाधान गर्ने भन्दै सोमबार मन्त्री वर्षमान पुन र सिँचाइमन्त्री महेन्द्रप्रसाद यादव सदस्य रहेको तीनसदस्यीय वार्ताटोली गठन गरेको हो ।
सरकारले यसअघि पनि अखण्ड सुदूरपश्चिमलगायत माग राखी आन्दोलन गर्दै आएका आन्दोलनरत समूहलाई वार्तामा आउन आग्रह गरेको थियो । सोमबार बिहान मात्रै माओवादी, कांग्रेस र एमाले तीन दलका शीर्ष नेताहरूसँगको बैठकपछि प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आन्दोलनरत समूहलाई वार्तामा आउन सार्वजनिक आह्वान गरेका थिए ।
सरकारी वार्ताटोलीका सदस्य मन्त्री यादवले मंगलबार सरकारी वार्ताटोलीबीच आन्तरिक छलफल गरी आन्दोलनरत समूहसँग वार्ताको प्रक्रिया अगाडि बढाउने बताए । मन्त्री यादवले सोमबार साँझ सौर्यसँग भने, ‘आज त वार्ताटोली गठन भएको छ, भोली बिहान हामी आन्तरिक छलफल गरेर वार्ताको प्रक्रिया थाल्छौँ ।’ यसअघि अखण्ड सुदूरपश्चिम नागरिक आन्दोलन परिचालन समितिका संयोजक गोपाल देउवाले सरकारी वार्ताटोलीसँग वार्तामा बस्ने बताएका थिए । उनले वार्तास्थल भने सुदूरपश्चिमको कुनै स्थान हुनुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया