ज्यान मार्न धम्की दिनेको खोजी भइरहेको छ

काठमाडौं, २५ वैशाख । प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई ज्यान मार्ने धम्की दिने व्यक्तिको खोजी भइरहेको भन्दै केसीको पूर्ण सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

संसद अन्तर्गतको राज्य व्यवस्था समितिको आज सिंहदरवारमा बसेको बैठकमा एमाले सभासद प्रदीप ज्ञवालीले जनमोर्चाका अध्यक्ष केसीमाथि ज्यान मार्ने धम्की दिने व्यक्तिका बारेमा जिज्ञासा राखेपछि प्रधानमन्त्री भट्टराईले धम्की दिने व्यक्तिलाई खोजि गरेर कारबाही गर्ने प्रतिवद्धता जनाएका हुन् ।

नेता ज्ञवालीले समितिका ज्येष्ठ सदस्य तथा जनमोर्चाका अध्यक्ष केसीलाई ज्यान मार्ने धम्की आएको लामो समयसम्म पनि सरकारले कुनै कारवाही अगाडि नबढाएकोमा आलोचना गरेका थिए ।

प्रधानमन्त्री भट्टराईले सो विषयमा सुरक्षा निकायलाई जानकारी गराइसकेको र धम्की दिने व्यक्तिको पहिचान गर्न तथा फोन आएको नम्बरको पहिचान गर्नसमेत सुरक्षा निकायलाई निर्देशन दिइसकेको जानकारी गराए ।

अध्यक्ष केसीले पुस २४ गतेदेखि आफूलाई निरन्तर ज्यान मार्ने धम्की आइरहेको बताएका थिए ।

प्रतिक्रिया