सुदूरपश्चिमलाई बार्ताका लागि आह्वान

काठमाडौं, २५ वैशाख । प्रमुख तीन दल एकीकृत माओवादी, कांग्रेस र एमालेले सुदूरपश्चिममा जारी आमहड्ताल तथा बन्दका कार्यक्रम फिर्ता लिएर बार्ताका लागि आह्वान गरेका छन् ।
सिंहदरबारमा आज बसेको प्रधानमन्त्री बावुराम भट्टराई सहित तीन दलका शीर्ष नेताहरुको बैठकले अखण्ड सुदूरपश्चिमको माग गर्दै आन्दोलनरत स्थानीय संघ, संगठनहरुसँग बार्ता गर्ने निर्णय गरेका हुन् । तीन दलको आग्रह र सुझावमा प्रधानमन्त्री भट्टराईले सुदूरपश्चिममा आन्दोलनरत स्थानीय संघ, संगठनलाई बार्तामा आह्वान गरेका छन् ।
बैठक पछि सञ्चारकर्मीसँग कुरागर्दै प्रधानमन्त्री भट्टराई सुदूरपश्चिममा जारी आन्दोलन र बन्द लगायतका कार्यक्रम फिर्ता लिएर बार्ताका लागि आह्वान गर्ने निर्णय भएको बताए । उनले प्रमुख तीन दल सुदूरपश्चिमका मागप्रति सकारात्मक रहेको भन्दै बार्ता र सम्बादबाट मागको सम्बोधन गर्न सकिने बताए ।
‘सुदूरपश्चिमको मागप्रति सरकार गम्भीर छ’, प्रधानमन्त्री भट्टराईले भने, ‘बन्द, हड्ताल लगायतका कार्यक्रम फिर्ता लिएर बार्तामा आउनका लागि आह्वान गर्छु ।’ सरकारले बार्ताका लागि बार्ता समिति समेत गठन गर्ने भएको छ ।
विगत दुई सातादेखिको अनिश्चितकालिन बन्दका कारण सुदूरपश्चिमको जनजीवन कष्टकर बन्दै गएको छ । बन्दले गर्दा सर्वसाधारण मजदुर, विरामीहरु धैरै मर्कामा परेका छन् ।

प्रतिक्रिया