बन्दको मारमा चलचित्र

काठमाडौं, २५ वैशाख । देशमा विद्यमान तरल राजनीतिक अवस्थाको प्रभाव चलचित्र क्षेत्रमा पनि देखिएको छ । पछिल्लो समय केही चलचित्रले व्यापारिक दृष्टिले राम्रो संकेत देखाए पनि अहिले आएर चलचित्रहरू फेरि हात लाग्यो शून्यको अवस्थामा पुग्न लागेका छन् । संविधान जारी हुने समयसीमा १४ जेठ नजिकिँदै गर्दा संविधानमा आ–आफ्ना जातीय, क्षेत्रीय एवं वर्गीय माग स्थापित गर्न दबाब दिने उद्देश्यले विभिन्न संगठनले लगातार बन्द गरिरहँदा चलचित्र क्षेत्र मारमा परेको हो ।
अघिल्लो साता काठमाडौं उपत्यका तथा बाहिरबाट एकैसाथ प्रदर्शनमा आएको चलचित्र भइहाल्छ नि प्रदर्शनलगतै बन्दको सिकार भएको छ । मेची, कोसी, सुदूरपश्चिम र नवलपरासीका मुख्य स्टेसनहरू बन्दको प्रभावमा परेपछि चलचित्रको व्यवसायमा निकै असर पुगेको निर्देशक एमएस अग्रज बताउँछन् । यसै कारण यो चलचित्र आगामी १५ जेठमा फेरि प्रदर्शन गर्ने तयारीमा उनी जुटेका छन् ।
गत शुक्रबारबाट देशभरका ४५ स्टेसनबाट प्रदर्शनमा आएको फूल पनि बन्दबाट जोगिन सकेन । काठमाडौं उपत्यकाबाहिरको व्यवसाय पूरै प्रभावित भयो,’ निर्माता सञ्जितकुमार कानुले बताए । फूलसँगै प्रदर्शनमा आउने भनिएका द्रव्य र सम्झिराख हैको प्रदर्शन पनि बन्दकै कारण पछि सारिएको छ । ‘यसै त चलचित्र व्यवसाय राम्रो भइरहेको छैन, त्यसमाथि बन्दको प्रभाव । त्यसैले रिलिज पछि सारेका हौँ,’ सम्झिराख हैका निर्देशक रिम विश्वकर्माले भने ।
आगामी शुक्रबारबाट अल नेपाल रिलिज गर्ने तयारीमा रहेका सायदका निर्माता पनि उपत्यकाबाहिरका हलको अवस्थाबारे चिन्तित छन् । तर, बन्दको असर नरहेका काठमाडौंका मल्टिप्लेक्स हलमा पनि एकसाथ आउने भएकाले उनी निर्धारित मितिमै चलचित्र रिलिज गर्ने तयारीमा जुटेका छन् । निर्माता विनोद अर्यालचाहिँ आगामी ५ जेठदेखि चलचित्र माया त माया हो लिएर आउने भएका छन् । ‘मेरो चलचित्र उपत्यकामा मात्र रिलिज हुने भएकाले त्यति असर नगर्ला कि भन्ने आशा लिएको छु,’ उनले भने ।

प्रतिक्रिया