भीरबाट खसेका सपनाहरू

भविष्य कल्पिएर अनेकौं सिर्जनात्मक सपना देख्ने उमेर हो, अहिले रामेछाप, सुकाजोर–२ की सम्झना राउतको । तर, १७ वर्षे उमेरमा उनका थुपै्र रंगीन सपना कुँजिएका छन्, कुँजिएको खुट्टोसँगै । यतिखेर उनको जिन्दगी पहिलेजस्तो रंगीन कहाँ छ र ? एउटै निरीह सपना छ– पहिलेजस्तै गरी हिँड्न सक्ने हुन पाए हुन्थ्यो † सँगैका कक्षाका साथी उनलाई उछिनेर धेरै अगाडि पुगिसके होलान् । उनीचाहिँ अस्पतालको शय्यामा थन्किएकी छन्, अरू मानिसजसरी निस्फिक्री हिँड्न नदिने आफ्नै खुट्टाको निरीह कथा नियालेर ।
२८ फागुन २०६७ को ‘त्यो बिहान’ उनको जीवनमा सधैँ झस्काइरहने, दुखाइरहने किलो बनेर गढिरहेको छ । ‘भाउजू र म घाँस काट्न गएका थियौँ । ९ जति बजेको थियो कि ? भीरबाट तल खसेँ,’ सम्झनाले भनिन्, ‘उठ्न खोज्दा सकिनँ ।’ जाँघको मध्यभागबाट रगत बगेको देखिछन्, अनि उनलाई लाग्यो, ‘खुट्टा भाँच्चिएछ क्यारे †’ पाँच मिनेटजति पल्लो पाखामा घाँस काट्दै गरेकी भाउजू सरितालाई डाँकोसम्म लगाउन सकिनछन् । ‘मलाई मर्छुजस्तो लाग्यो,’ सम्झनाले तीतो क्षण सम्झिइन्, ‘भाउजूले मान्छे बोलाउनुभएछ । मेरो होस त वीर अस्पतालमै आयो ।’ खत बसेको निधार छाम्दै भनिन्, ‘यो घाउ लागेको त मैले नौ दिनमा होस आएपछि मात्रै थाहा पाएँ ।’ उनलाई रामेछापको अस्पतालले तुरुन्तै रेफर गरिदिएको रहेछ ।
स्थानीय गौरीशंकर माध्यमिक विद्यालयमा कक्षा आठमा पढ्दै गरेकी सम्झनाको अध्ययनयात्रा १४ महिनादेखि अवरुद्ध छ । ‘रुमखोला’को भीरले उछिट्याएका उनका सपना फेरि कहिले जोडिने हुन्, उनैलाई थाहा छैन । ‘एकपटक आशा लागेको थियो,’ सम्झनाले भनिन्, ‘अपरेसन गरेको दुई महिनापछि अस्पतालले घर जाऊँ भन्दा खुसी भएँ ।’ उनको खुसी केही दिनमै निराशामा परिणत भएछ । घाउ फेरि बल्झियो । घाउमा ‘क्रोनिक ओस्ट्रोमाइलाइरिस’ भएको छ रे । गत साउन महिनादेखि वीर अस्पतालको अर्थोपेडिक फिमेल वार्डको बेड नम्बर ५८ मा दुरुह पल बिताइरहेकी छिन् उनी ।
ती पल अहिले सम्झनाले मात्र बनेका छन्, जतिखेर उनी मच्चिएर सँगैका साथीसँग ‘रहर लाग्दो गरी’ पढ्थिन् । भनिन्, ‘त्यति बेलाका साथी एसएलसी दिने भैसके, मेरो त भाग्य नै खै कस्तो रहेछ †’ चार दाजुभाइ र पाँच दिदीबहिनीका बीचमा हुर्किएकी सम्झनाको घरमा कमाउने मान्छे नभएको थाहा छ । एउटा दाजु विदेश जाने तयारीमा छन् रे । उनले भनिन्, ‘पोहोरै जाने कुरा थियो, मलाई ठीक होस् अनि जाउँला भनेर कुरेका ।’ एउटा दाजु आर्मीका जागिरे भए पनि त्यति धेरै कमाइ हुँदैन रहेछ ।
बाख्रापाठा, घाँसदाउरा गरेर जीविका चलाउने उनको परिवारले आफूमाथि तीन–चार लाख खर्चिएको हेक्का भए पनि खर्च कहाँबाट ल्याए ? त्यो उनलाई थाहा छैन । सम्झनाले अनुमान गरिन्, ‘ऋणसापट गरेका होलान् ।’ अस्पतालमा बसुन्जेल उनले डाक्टर, नर्स र सरसफाइ गर्ने कर्मचारीको स्नेह ठीकै पाएकी छन् तर एउटा प्रश्नको जवाफ कहिल्यै पाइनन्– ‘कहिलेचाहिँ ठीक होला त आफूलाई ?’
स्टिलको रडले खुट्टा वारपार गरेर बारिएकी सम्झनालाई वार्डभरिमा नचिन्नेहरू धेरै कम छन् । पोहोरसाल दुई–चार दिन उनीसँगै अस्पताल बसेर फर्किएका बिरामीहरू पुन: अस्पताल आउँदा उनलाई देखेर आश्चर्य मान्छन् । ‘चाँडो निको भइदिए आमाबुबालाई धित मरुन्जेल हेर्ने थिएँ । भाइबहिनीसँग रमाउने थिएँ,’ सम्झनाले भनिन्, ‘घर पुगेकै दिन स्कुल भर्ना भइहाल्ने थिएँ ।’ आमा दिलकुमारी र बुबा दिलबहादुर राउत अस्पताल भर्ना भएयता तीन–चारपटक मात्रै भेट्न आउन सकेका रहेछन् । उनले भनिन्, ‘घर सम्हाल्नै पर्‍यो, आउन जान खर्च हुन्छ, मैलाई भेट्न आएर पनि त साध्य हुँदैन होला †’ चक्रपथमा पसल गरी बस्ने दिदी कल्पनाले उनको सम्पूर्ण स्याहार गर्दिरहिछन् । मलिन अनुहार पार्दै सम्झनाले भनिन्, ‘धेरैथोक गरौँला भन्ने उमेरमा बेकारै पो भइयो ।’

प्रतिक्रिया