अमरको जीवनरक्षा गर्न हारगुहार

काठमाडौं, २५ वैशाख । संयुक्त अरब इमिरेट्सको दुबई अदालतले मृत्युदण्डको सजाय सुनाएपछि त्यहाँको केन्द्रीय कारागारमा कैद भुक्तान गरिरहेका दार्चुलाको धारीका अमरबहादुर बमको परिवारले उनको जीवनरक्षाको पहल गरिदिन आग्रह गरेको छ । भारतीय नागरिक शरद सेठ्ठीको हत्यामा संलग्न भएको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका बम निर्दोष रहेकाले परिवारले जीवनरक्षा गरिदिन सरकार, कूटनीतिक नियोग र नागरिक समाजसँग आग्रह गरेका हुन् ।

अमर बचाउ अभियानले आइतबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बमका बुबा कर्णबहादुरले आफ्नो छोरा निर्दोष रहेको भन्दै सरकारले पहल गरे जीवनरक्षा हुने बताए । ‘मेरो छोरा सम्पूर्ण नेपालीको छोरा हो,’ पत्रकार सम्मेलनमा भावविह्वल हँुदै कर्णबहादुरले भने, ‘सरकारले आवश्यक पहल गरिदिए उसको जीवन बँच्नेछ ।’
बमकी पत्नी धनमतीले भारतमा ड्राइभर काम गर्न गएका आफ्ना पति निर्दोष रहेकाले बचाएर सहयोग गरिदिन सबैलाई आग्रह गरिन् । ‘बिहे गरेको २५ दिनपछि नै पति भारतमा काम गर्छु भनेर गए,’ उनले भनिन्, ‘एक महिनामा फर्किन्छु भनेको मान्छे त १० वर्षदेखि मृत्युदण्डको सजाय पो भोगिरहेका छन् ।’ विवाहको महिनादिन पनि सँगै
नबसी कमाउन भारत गएका बम दुबई जेलमा कैद हुँदा परिवारको विचल्ली भएको उनको भनाइ थियो ।
‘कमाउने मान्छे मृत्युको पर्खाइमा छन्, त्यही खबरले आमाको मृत्यु भयो, बाबुले अर्की बिहे गरेका छन्,’ धनमतीले भनिन्, ‘सबैको पहल भए मेरा निर्दोष पति मुक्त हुन्थे कि †’
हत्या अभियोगमा अमरसँगै भारतीय नागरिक मनोज मुदाना, करनसिंह राजदुपत र स्मद कुलत बनवारीले पनि जेलसजाय भोगिरहेको अभियानले जनाएको छ । दुबई प्रहरीले २५ जनवरी २००३ मा दुबईस्थित इन्डियन क्लबमा मनोज मुदाना र करनसिंहले सेठ्ठीलाई गोली प्रहार गरेको, स्मद कुलत बनवारीले हतियार उपलब्ध गराएको र अमरबहादुरले उनीहरूको सवारीचालकको काम गरेको भन्दै अदालतमा ज्यानमुद्दा दायर गरेको थियो । सो मुद्दाको सुनुवाइ गर्दै दालतले नौ वर्षअघि मनोज र करनसँगै अमरलाई मृत्युदण्डको सजाय सुनाएको थियो ।
मुदाना र सिंहले सेठ्ठीहत्यामा अमरबहादुरको संलग्नता नरहेको जनाइसकेका छन् । उनीहरूले आफूहरूको योजनामा अमर बेखबर रहेको र उनले दुबईमा व्यावसायिक चालकको भूमिका मात्र निर्वाह गरेको पत्र त्यहाँको अदालतलाई दिएका छन् । अभियुक्त भारतीय नागरिकले समेत अमरबहादुर बम निर्दोष रहेको बयान दिएकाले उसलाई तत्काल मृत्युको मुखबाट बबचाएर सहयोग गर्न कर्णबहादुरले आग्रह गरे ।

नफर्के महाकालीमा हाम फाल्छु : नफर्के महाकालीमा हाम फाल्छु : दुबईमा मृत्युदण्डको सजाय पाएर कैदमा रहेका अमरबहादुर बमकी पत्नी धनमती भावविह्वल अवस्थामा । १३ वर्षको कलिलै उमेरमा धनमतीको विवाह १० वर्षअघि बमसँग भएको थियो । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा उनले भनिन्, ‘पति अब पनि नफर्के महाकालीमा हाम फाल्छु ।’ तस्बिर : देवकी विष्ट

प्रतिक्रिया