कतारमा राष्ट्रिय अवार्डको तयारी

काठमाडौं : आगामी २० र २१ अगस्टमा कतारको दोहामा हुने राष्ट्रिय चलचित्र अवार्डमा नेपाली टोलीको सहभागिता सहज बनाउन चलचित्र विकास बोर्डले तयारी सुरु गरेको छ । नेपाली चलचित्रको इतिहासमै पहिलोचोटी मुलुकबाहिर राष्ट्रिय अवार्ड हुन लागेको हो । कलाकार, पत्रकार, निर्देशक तथा प्राविधिकलाई अवार्डमा सहभागी गराउन बोर्ड तयारीमा जुटेको हो ।
यसका लागि गैरआवासीय नेपाली र एयरलाइन्स कम्पनीहरूले सघाउने भएको जानकारी बोर्डले गरायो । कार्यक्रमका अन्य व्यवस्थापनका लागि बोर्डका तर्फबाट सदस्य नीलहरि काफ्ले केही दिनमै कतार जाने योजनामा रहेको जानकारी गराइयो । यसै विषयलाई लिएर बोर्डको टोलीले शुक्रबार कतारका लागि नवनियुक्त नेपाली राजदूत मायादेवी शर्मासँग परामर्श गरेको छ । सहभागिताका लागि जाने क्रममा आइपर्ने भिसालगायतका अन्य सम्भावित समस्या कूटनीतिक तरिकाले समाधान गर्ने गरी बोर्ड लागिपरेको एक कर्मचारीले बताए । उनले भने, ‘यसलाई बलिउडको आइफा अवार्डजस्तै तरिकाले सम्पन्न गर्ने सोच बोर्डको छ ।’ (सौस)

प्रतिक्रिया