कलाकारबाटै यौनदृश्यको आलोचना

काठमाडौं, २४ वैशाख । चलचित्र उद्योगमा अहिले किससिन र यौनदृश्यको बोलवाला छ । लुट एवं चपली हाइटको सफलतापछि यस्ता दृश्य बढीभन्दा बढी घुसाउने मुडमा निर्माता–निर्देशक देखिएका छन् । सस्तो मनोरञ्जनका नाममा यस्ता दृश्य जबर्जस्ती घुसाइएको भन्दै एक किसिमको आलोचना पनि चलचित्रवृत्तमा चलिरहेको छ ।
यस्ता सिनका बारेमा कलाकारचाहिँ के भन्छन् त ? नायक राजवल्लभ कोइरालाचाहिँ आफूलाई अफर आए पनि यस्ता दृश्य नगर्ने बताउँछन् । उनका अनुसार चलचित्रको कथावस्तु र कलाकारको प्रस्तुति राम्रो भए सिनेमा त्यसै हिट हुन्छ, यस्ता सिनै चाहिँदैन । यस्ता सिन दिन प्राकृतिक वातावरण हुनुपर्ने र त्यो नरहेको उनी सुनाउँछन् । हलिउड र बलिउडका चलचित्रमा दिइने यस्ता सिनचाहिँ प्राकृतिक हुने र परिवारसँगै बसेर हेर्न मिल्ने उनलाई लाग्दो रहेछ । उनी भन्छन्– हाम्रो समाज त्यो स्थितिमा पुगिसकेको छैन, यो समाजमा त्यस्ता सिन अझै अप्राकृतिक नै हुन्छन् ।
नायिका झरना थापा पनि यस्ता किससिन नदिने बताउँछिन् । उनी भन्छिन्, ‘यस्ता सिनको आयु लामो हुँदैन, दर्शकलाई लामो समय तान्न सक्दैनन् ।’ उनका अनुसार चपली हाइट चल्यो भन्दैमा सबै निर्माता निर्देशक त्यसकै पछि दौडिरहेछन् । सधैँ त्यस्ता सिनेमाले दर्शक नतान्ने र त्यतिबेला ती निर्माता–निर्देशकले धोका खाने उनी ठम्याउँछिन् । उनी भन्छिन्– आफ्नो मौलिकता अनि मर्यादाभित्र रहेर बनेका चलचित्रको आयु नै लामो हुन्छ, अन्तत: दर्शकले तिनै चलचित्र मन पराउँछन् । त्यस्तै अर्की नायिका सुषमा कार्कीलाई पनि त्यस्ता सिनमा अभिनय गर्ने रहर रहेनछ । ‘म त त्यस्ता सिन गर्दिनँ’, उनी भन्छिन्, ‘यस्तो कुरा हाम्रो समाज र संस्कारले नै दिँदैन, चलचित्रले समाज र संस्कृतिलाई प्रतिनिधित्व गर्न सक्नुपर्छ ।’

प्रतिक्रिया