साथी बनाउन जान्ने रीतिका

रीतिका मिश्र पढाइमा त सिपालु छिन् नै, अतिरिक्त क्रियाकलापमा पनि राम्रो मानिन्छिन् । उनी हिमालयन बोर्डिङ स्कुलमा तीन कक्षामा पढ्छिन् । गोंगबुको बानियाटारमा आमाबुबाका साथ बस्ने रीतिकाको स्थायी घरचाहिँ तनहुँ जिल्लामा पर्छ । पढाइका अलावा नृत्य अनि गायनमा कक्षाका अरू साथीभन्दा राम्रो मानिन्छिन् ।
रीतिकालाई चुप लागेर बस्नभन्दा कसैसँग बोलेर नयाँ कुरा सिक्न मन पर्दो रहेछ । साथीहरूसँग बोल्न हिचकिचाउँदिनन् । त्यसैले सबै जना उनीसँग नजिकिन्छन्, साथी बनाउँछन् । नयाँ साथी पनि उनीसँग नजिकिइहाल्छन् । यतिसम्म कि उनी यो स्कुलमा आएको एक हप्ता मात्रै भयो तर कक्षाका सबै जना उनका साथी बनिसके । परिचय भएको केही मिनेटभित्रै साथी बनाउन सक्ने खुबी छ उनीसँग । साथीका आमाबाबाको फोन नम्बर लिएर बिदाको दिन साथीहरूलाई घरबाट फोनसमेत गर्दी रहिछन् रीतिका । विद्यालयमा शिक्षकशिक्षकिाले कक्षामा सुनाएका गीत उनी एकैचोटिमा टिप्छिन् । अनि त्यसै गरी गुनगुनाउन थाल्छिन्, राम्रो गाउँछिन् पनि । उनलाई होमवर्क गर्न कसैले अह्राइरहनुपर्दैन । आफैँले बुझेर गरिहाल्छिन् । आफ्नो होमवर्क सकिएपछि भाइलाई पनि सिकाइदिन्छिन् ।
हिस्सी परेकी रीतिका घरमा, विद्यालयमा वा आफन्तकामा, सबैसँग खुलेर बोल्छिन् । उमेरले भर्खरै आठ वर्ष पार गरिन्, उनको व्यवहार र बोलीचाली ज्ञानी मान्छेको जस्तो छ । आफन्त, परिवार र शिक्षकशिक्षिका अनि साथीसँग कस्तो व्यवहार गर्ने भनेर उनलाई कसैले सिकाउनै पर्दैन रे † कतिपय कुरा त उनी बुबाआमालाई पनि सिकाएर सचेत गराउँदी रहिछन् ।

प्रतिक्रिया