चार वर्षपछि राष्ट्रिय सहमतिको सरकार बनाउन प्रमुख दलहरूबीच २१ वैशाखको मध्यराति पाँचबुँदे सहमति भएको छ । भारतीय राजदूत जयन्तप्रसादको प्रत्यक्ष सहभागितामा भएको सहमतिले गएको हप्ता राजनीति तताएको छ । नेपाली राजनीतिमा भारतका ‘विश्वास पात्र’का रूपमा चिनिने अमरेशकुमार सिंहको पनि सहमति गराउन सक्रिय भूमिका रह्यो । यही सेरोफेरोमा केन्द्रित रहेर खगेन्द्र पन्तको कुराकानी :
चार वर्षसम्म एक ठाउँ उभिन नसकेका प्रमुख दलहरू सहमतिमा पुगे, कसरी भयो यो काम ?
सुरुदेखि नै मेरो मान्यता जुनसुकै विषयमा पनि राष्ट्रिय सहमति हुनुपर्छ भन्ने हो । नयाँ संविधान निर्माण गर्न, शान्तिप्रक्रिया टुंगोमा पुर्याउन, राजनीतिक स्थिरता कायम गर्न र देश विकासका लागि आगामी पाँचदेखि १० वर्षसम्म सबै दल एकै ठाउँ उभिनुपर्छ । तब मात्रै नेपालको विकास हुन सक्छ । हामी दलहरू आफैँ विवाद गर्ने, दलभित्रै लड्ने कामले हामीलाई कतै पनि पुर्याउँदैन । अहिलेको आवश्यकता ०६२/६३ सालको आन्दोलनलाई संस्थागत गर्ने, नयाँ संविधान बनाउने, गणतन्त्र, संघीयता र शान्ति स्थापना हो । यही विषयमा छलफल भयो र सबै सहमत पनि हुनुभयो ।
त्यसो भए, यो कुरा शीर्ष नेताहरूले अहिलेसम्म थाहा नपाएका रहेछन्, होइन ?
नेताहरूले थाहा नपाएका त होइनन् तर उहाँहरूमा व्यक्ति केन्द्रित स्वार्थ लुकेको छ । पार्टीभित्रै गुट–उपगुटको खेल र विभिन्न मनसायबाट प्रेरित हुनुहुन्छ । कसैलाई संविधान नबनेकै अवस्थामा फाइदा हुन्छ भन्ने लागेको छ, कसैले माओवादीप्रति ईष्र्याभाव छ, यही मौकामा माओवादीलाई फुटाउन सकिन्छ भन्ने सोच छ, कसैको राजाप्रतिको मोह यथावत् छ । संविधान नबने राजालाई सक्रिय बनाउन सकिन्छ भन्ने सोच उनीहरूमा छ । त्यस्ता प्रवृत्ति राजनीतिमा हाबी छन् । मैले यो कुरा कुनै एउटा पार्टीको मात्रै गरेको होइन, सबै दलमा यस्ता प्रवृत्ति छन् ।
त्यस्ता फरक–फरक स्वार्थ बोकेका नेता कसरी एकै ठाउँमा आए त ?
एक हप्ताअघि बाबुरामजीको नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने खेल सुरु भयो । अविश्वासको प्रस्ताव जताबाट आएको भए पनि त्यसले हामीलाई कुनै निष्कर्षमा पुर्याउनाको साटो द्वन्द्वमात्रै बढाउँथ्यो । त्यसले संविधान नबनाउने बाटोतिर हामीलाई लैजान्थ्यो । बरु अहिलेलाई यही सरकारमा कांग्रेस/एमाले पनि सहभागी भएर जाँदा स्थिति अनुकूल हुन्छ । म, सिटौलाजी (कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौला), प्रचण्डजी (एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल) र बाबुरामजी (प्रधानमन्त्री भट्टराई) दुई/तीन राउन्ड बसेर यी सबै कुराको विश्लेषण गरिरहेका थियौँ । अन्तर्राष्ट्रिय समुदाय र छिमेकी राष्ट्रको पनि त्यस्तै मुड छ भन्ने पनि हामीहरूलाई थाहा थियो । त्यही भएर हामी त्यस्तो निष्कर्षमा पुगेका हौँ । प्रचण्डजीको ‘बोल्ड डिसिजन’का कारण पनि त्यो सम्भव भएको हो ।
माओवादी अध्यक्षको निवासमा बसेको बैठकमा त भारतीय राजदूत जयन्तप्रसाद पनि रहेछन्, त्यो ‘बोल्ड डिसिजन’ उनले नै गराइदिएको भन्छन् नि ?
भारतीय राजदूत त्यो बैठकमा सहभागी थिएनन् । त्यो कुरा मिडियाले बंग्याएर दिएको हो । हो, हामी त्यहाँ पुग्दा उनी प्रचण्डजीहरूसित छलफल गर्दै हुनुहुन्थ्यो । त्यसपछि भारतीय राजदूत त्यहाँबाट निस्किएका हुन्, हामीसहितको बैठकमा उनी बसेनन् ।
माओवादी अध्यक्षसितको छलफलमा पनि त्यही कुरा भएको त होला नि, होइन ?
त्यो त भएको होला नि ।
त्यसो भए, भारतीय राजदूतको चाहना बाबुराम भट्टराई नेतृत्वकै सरकारमा सबै दललाई सहभागी गराउने थियो, होइन ?
राजदूतको मात्रै किन भारतकै चाहना हो नि दलहरू मिलेर काम गरून्, राष्ट्रिय सहमतिको सरकार बनोस्, संविधान बनोस् र शान्ति स्थापना होस् भन्ने ।
पछिल्ला केही वर्षदेखि दलहरूका महत्त्वपूर्ण बैठकमा तपाईं सहभागी
हुँदै आउनुभएको छ । तपाईं सहभागी भएपछि मिल्न नसकेका कुरामा पनि दलहरू सहमत हुन्छन्, तपाईंसित त्यस्तो कुन जादूको छडी छ र दलहरू मान्छन् ?
मसित भएको जादूको छडी भनेको नि:स्वार्थ भाव हो । अहिले पनि हाम्रै पार्टीका केही नेताले मेरोअनुसार काम गरिदे, तँलाई केन्द्रीय सदस्य बनाउँछु भन्छन्, कसैले मन्त्री बनाउँछ भन्छन् । यस्ता विभिन्नखाले प्रलोभन आउँछन् । तर, म केही पाउँछु भनेर राजनीतिमा लागेको होइन, खातापिता घरको मान्छे हुँ, केही नपुगेर राजनीतिमा लागेको होइन । म परिवर्तनका लागि लागेको हुँ । नि:स्वार्थ भावले कुरा गर्छु, काम गर्छु त्यसैले कुरा मिल्छ ।
यो ‘दिव्यज्ञान’ एकपल्ट शीर्ष नेताहरूलाई दिए त पटक–पटक सहमति जुटाइदिन दौडधूप गर्नुपर्ने दु:खबाट तपाईंलाई मुक्ति मिल्थ्यो नि ?
यो दिव्यज्ञान त नेताहरूलाई सञ्चारमाध्यमले पो दिनुपर्यो नि । सबै नेताहरू मभन्दा बूढापाका छन् । ७० वर्ष उमेर पुगेकालाई मैले कसरी ज्ञान दिनु ? दिए पनि ७० को उमेरको मान्छेले ज्ञान लिन सक्दैन । ज्ञान हासिल गर्ने २५/३० वर्षसम्मको उमेरमा हो । उमेर पुग्दै जाँदा ज्ञान लिने क्षमता पनि घट्दै जान्छ ।
भनेपछि नेताहरूको ज्ञान लिने उमेर ढल्किसक्यो होइन ?
हाम्रा नेताको उमेर पुगिसक्यो । यो देशमा ऊर्जावान् युवा नेताको अभाव छ । ७०/८० वर्षको मान्छे लिएर अब देश चल्दैन । उहाँहरूको पूर्वप्रधानमन्त्री भनेर इतिहासमा नाम लेखिने मात्रै हो, देश विकास हुँदैन ।
तपाईं भारतले रुचाएको मान्छे हो, दलहरूको बैठकमा पनि भारतको सन्देश लगेर कुरा मिलाउनुहुन्छ भन्छन् नि ?
भारतसित सम्बन्ध त सबैको छ नि, जसले छैन भन्छ, त्यसको भित्रभित्रै झन् गाढा सम्बन्ध हुन्छ । म त प्रस्ट भन्छु मेरो पनि राम्रो सम्बन्ध छ भनेर । त्यो सम्बन्ध व्यक्तिगत स्वार्थका लागि होइन,
देशको विकासका लागि छ । भारतको सहयोगविना नेपालमा विकास सम्भव छैन ।
पाँचबुँदे सहमतिपछि त सबै दलभित्र भाँडभैलो मच्चिएको छ, दलहरूको आन्तरिक विवादचाहिँ कसरी मिल्छ त अब ?
त्यो पनि मिल्छ । सबै दलभित्र केही नेता विवाद गरिरहेका छन्, एक/दुई दिन गर्न दिनुपर्छ । अहिले नै मिलाउन खोजे उनीहरूभन्दा झन् चर्को हुनुपर्छ । एक/दुई दिन झगडा गरेर जब उनीहरू थाक्छन्, अनि मिलाउने हो । नमिली सुख पनि छैन । संविधान नबनोस्, शान्ति स्थापना नहोस् भन्ने चाहना राख्ने केही नेता सबै पार्टीभित्र छन्, उनीहरू पनि सहमतिमा आउँछन् ।
त्यस्ता नेता को–को हुन् जनतालाई बताइदिनोस् न ?
मधेसी मोर्चासहितका चारवटै दलभित्र छन् त्यस्ता नेता । तर, मेरो विनम्र आग्रह छ, मेरो मुखबाट त्यो बोल्न नलगाउनुस्, तपाईंहरू आफैँ खोज्नोस् । आगामी दिनमा पनि मैले काम गर्नु छ नि ।
अब सबै कुरा सजिलैसित अगाडि बढ्छ त ?
एमाले अध्यक्ष झलनाथ खनालजीले सहमतिमा हस्ताक्षर गरिसकेपछि केन्द्रीय समितिको बैठकमा उनकै खेमाका घनश्याम भुषाल, प्रकाश ज्वाला, योगेश भट्टराईहरू सहमतिको विरुद्धमा बोले । अरू खेमाकाले कुरा उठाएको भए ठीकै थियो तर झलनाथजीकै मान्छेहरूले त्यस्तो गरेपछि एमालेभित्र समस्या उत्पन्न गराएको छ । त्यस्तै, कांग्रेसमा पनि समस्या छ । कसैलाई लागेको छ कि मलाई प्रधानमन्त्री बन्नबाट रोकियो भन्ने, कोहीलाई चिन्ता होला प्रतिद्वन्द्वी नेता अगाडि बढ्छ भन्ने । माओवादीमा त त्यसै समस्या देखिएकै छ । यसकारण सबै सजिलो गरी नै अगाडि बढ्ला भन्नेमा केही शंका छ । तर पनि अन्तिम बाटो भनेको यही हो । यसको विकल्प छैन । बाध्य भएरै किन नहोस् भाँड्ने नेताहरू पनि मान्छन् ।
यो सरकारमा कांग्रेस र एमाले कहिलेसम्म सहभागी हुन्छन् ?
एक/दुई दिनमै जान्छन् । उनीहरूले आज (शनिबार) साँझ ५ बजेसम्मको समय मागेका थिए । तर, आन्तरिक विवाद हेर्दा आज निर्णय होला भन्ने मलाई लाग्दैन । कांग्रेसमा सरकारमा कसले नेतृत्व गर्ने भन्ने विवाद छ । कसैले सिटौलाजीले गर्नुपर्छ भन्छन्, किनकि सहमतिलाई अगाडि बढाउन, माओवादीलाई मनाउन र संविधान बनाउन सजिलो हुन्छ । उनी भए सरकार हस्तान्तरण गर्न पनि सजिलो हुन्छ । त्यस्तै, शेरबहादुर र रामचन्द्रजीहरूलाई सिटौलालाई पठाउँदा सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन बाटो ‘क्लियर’ गरिदिन्छन् भन्ने डर छ । त्यसैले उनीहरू आफ्नो मान्छेको नेतृत्वमा सरकारमा जान चाहन्छन् । त्यस्ता तमाम कुराले सरकारमा जान केही ढिलाइ हुन्छ होला ।
यो ढिलाइले त पछि कांग्रेसलाई सरकार हस्तान्तरण गर्ने कुरामा पनि ढिलाइ होला नि ?
होइन, बाबुरामजीले सरकार हस्तान्तरण गर्ने कुरामा कुनै समस्या छैन । संविधान आज बने आजै र एक हप्तापछि बने त्यतिबेलै बाबुरामजीले छाड्नुहुन्छ । ६ महिना लागे ६ महिनापछि नै राजीनामा दिनुहुन्छ । संविधान नबनीकन बाबुरामजीले राजीनामा दिनुहुन्न, यो कुरा स्पष्ट हो ।
कांग्रेसबाट को प्रधानमन्त्री बन्छ ?
कांग्रेसका तर्फबाट सरकारको नेतृत्व सहमतीय सरकारमा सहभागी हुने माओवादी, एमाले, मधेसवादी दलहरूले पनि रुचाइएको व्यक्तिले गर्छ । अहिलेसम्म बुझ्दा त्यो व्यक्ति सुशील कोइराला हो, उहाँ नै प्रधानमन्त्री बन्नुहुन्छ ।
सुशील कोइराला त सभासद् नै हुनुहुन्न नि ?
बाबुरामजीको सरकारमा कांग्रेस सहभागी बनेपछि केही दिनमै उहाँलाई सभासद् बनाइन्छ । एकजनालाई फिर्ता गरेर मन्त्रिपरिषद्ले उहाँलाई सभासद् मनोनीत गर्छ ।
प्रतिक्रिया