नागरिकतामा त्रुटि हुँदा फोटो खिचिएन

इलाम, २४ वैशाख । इभाङ–४ का हर्कबहादुर राईले मतदाता नामावलीका लागि फोटो खिचाउन पाएका छैनन् । फोटो खिचाउनका लागि उनीसँग नागरिकताको प्रमाणपत्र पनि छ तर नागरिकता भए पनि उनको फोटो खिच्न निर्वाचन कार्यालय तयार छैन ।
जिल्ला प्रशासन कार्यालय इलामले वितरण गरेको राईको नागरिकतामा जन्ममिति २० जेठ ०८४ उल्लेख छ । कर्मचारीको लापरबाहीका कारण त्रुटिपूर्ण नागरिकता लिएका राईले मतदाता हुने अवसरबाट वञ्चित हुनुपरेको हो । २३ पुस ०४४ मा जिल्ला प्रशासन कार्यालयमा नै आएर राईले नागरिकता बनाएका थिए । ३२९/१८५० नम्बरको उनको नागरिकतामा जन्ममिति बिगारिएको छ । उनलाई इलामका तत्कालीन सिडिओ बोधराज ज्ञवालीले नागरिकता प्रदान गरेका थिए ।
यस्तै, इभाङ–४ की मीनाकुमारी लिम्बूको पनि नागरिकतामा त्रुटि देखिएको छ । ११ फागुन ०६३ मा गाउँमा टोली आएका बेला बनाएको लिम्बूको ०३–००६–३/३५६ नम्बरको नागरिकतामा जन्म मिति गलत छ ।  सूर्यकिरण भण्डारीको टोलीले दिएको नागरिकतामा जन्म मिति २०२२/१५/५ उल्लेख गरिएको छ । वैशाखदेखि चैतसम्म १२ महिना भए पनि लिम्बूको नागरिकतामा महिनामा १५ लेखिएपछि मतदाताका लागि फोटो खिचाउनबाट वञ्चित भएकी छन् ।
उसो त इभाङ–५ की रामसोरी राईको नागरिकतामा पनि त्रुटि भटिएको छ । उनको नागरिकतामा जन्ममिति नै उल्लेख छैन । १२१८/२१२२ नम्बरको राईको नागरिकतामा जन्ममिति उल्लेख गर्ने स्थानमा खाली छाडिएको छ । २० वैशाख ०४६ मा अर्जुन निरौला टोली प्रमुख रहेको नागरिकता वितरण टोलीले राईलाई गाउँमै नागरिकताको प्रमाणपत्र दिएको थियो ।
‘अहिलेसम्म नागरिकताको कामै आएन’ राईले भनिन्, ‘नागरिकता दिने टोलीले पनि यस्तो गल्ती गर्छ भन्ने सोचेकी थिइनँ ।’ उनले मिति सच्याएर फोटो खिचाइदिन अनुरोध गरेकी छन् ।
उनीहरू सबैले मतदाताका लागि फोटो खिचाउन पाएनन् । फोटोसहितको मतदाता नामावली सङ्कलन तथा फोटो खिचाउने क्रममा बाहकलाई दिइएको नेपाली नागरिकतामा त्रुटि पाइएको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ । विभिन्न समयमा गाउँमै शिविर सञ्चालन गरी  बनाइएका नागरिकतामा बढी त्रुटि पाइएको हो ।
इभाङसँगै लक्ष्मीपुर, शान्तिपुर, चुलाचुली, बाँझो, साकफारा, नामसालिङलगायतका गाविसमा नागरिकतामा त्रुटि पाइएको छ ।
इलामका सहायक सिडिओ केशवप्रसाद रिजालले त्रुटि भेटिएका नागरिकताको विवरण जिल्ला प्रशासन कार्यालयमा अभिलेख हेरेर सच्याउन सकिने बताए । उनी भन्छन्, ‘फाट्टफुट्ट नागरिकता सच्याउन सर्वसाधारण आइरहेका छन्, प्रकृति हेरेर समस्या समाधान गर्दै आइरहेका छौँ ।’

प्रतिक्रिया