हिमपहिरोका कारण सेतीमा भीषण बाढी

पोखरा, २४ वैशाख । अन्नपूर्ण हिमशृंखलाबाट आएको हिमपहिरोका कारण सेती नदीमा बाढी आउँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । विदेशी नागरिकसहित ५० जनाभन्दा बढी बेपत्ता छन् । बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ । मृतक सबैको सनाखतसमेत हुन सकेको छैन ।
हिमपहिरोले थुनिएको सेती नदीको मुहान शनिबार बिहान फुटेपछि बाढी आएको हो । बाढीले नदीआसपासका घाचोक, माछापुच्छ्रे, सार्दीखोला, भुर्जुङखोला, पुरन्चौरलगायतका ठाउँमा बस्ती नै बगाएको छ । ढुंगा र लेदोले मानवबस्ती पुरिएको छ । बेपत्ताहरूको खोजी र बाढीले थप प्रभावित बनाउन सक्ने क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा पुर्‍याउने काममा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासी खटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार शनिबार साँझसम्ममा बाढीमा परी ज्यान गुमाएकामध्ये १३ जनाको शव फेला परेको छ । मृतकहरूमा आठ पुरुष र पाँच महिला छन् । केही शव क्षतविक्षत छन् । यस्तै चारवटा खुट्टा र दुईवटा हात शरीरबाट छुट्टिएको अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार केही शव बाढीले ल्याएको लेदोमा पुरिएको अवस्थामा फेला परेका छन् भने केही नदीकिनारका पाखामा भेटिएका छन् । बाढीले उछिटयाएर त्यहाँ पुर्‍याएको हुन सक्ने अनुमान उद्धारमा खटिएका सुरक्षाकर्मीले गरेका छन् ।
बाढीले कतिलाई बेपत्ता बनायो भन्ने यकिन तथ्यांक प्रहरीसित पनि छैन । कम्तीमा ५० जना बेपत्ता भएको अनुमान प्रहरीले गरेको छ । उनीहरूको पनि जीवित उद्धार हुने सम्भावना कम छ । सुरक्षा अधिकारीले हेलिकोप्टरबाट प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनीहरूका अनुसार बाढी आएको पाँच घन्टाभन्दा बढी समयसम्म नदीमा पानी नै देखिएको थिएन । ढुंगा र लेदो मात्रै नदीमा देखिएको थियो । मान्छे तर्साउने गडगडाहटसहित बाढी आएको थियो ।
जिल्ला प्रहरीका कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रवीन्द्र पौडेलका अनुसार मृत्यु भएका १३ जनामध्ये दुईको मात्रै सनाखत भएको छ । ‘अहिलेसम्म १३ जनाको शव फेला परेको छ, भोलि बिहानैदेखि फेरि खोजीकार्य सुरु हुन्छ’, उनले शनिबार राति सौर्यसँग भने । सनाखत नभएका शव गण्डकी क्षेत्रीय अस्पतालमा राखिएको छ । बाढीले बगाएर घाइते भएका तीनजनाको भने जीवितै उद्धार गरिएको छ ।
प्रहरीका अनुसार मृत्यु हुनेमा सार्दीखोलाका गोपाल ताम्राकार र पोखराकी अर्चना श्रेष्ठको सनाखत भएको छ । अर्चनाको पोखरा–१० रामघाटपारिबाट शव फेला परेको हो । उनी पोखरास्थित ला–ग्रान्डी क्याम्पसमा अध्ययनरत थिइन् । यस्तै, याम्दीपुल नजिकबाट २, नदीपुरबाट २, हेम्जा गाविसको मसिनाबगरबाट १, सुन्दरफिट तल फिल्टरको बाँधबाट १, बुस्केटीबाट १, कसेरीपारिबाट १ र घाचोक गाविसबाट १ जनाको शव फेला परेको छ । त्यसैगरी चारवटा खुट्टा र दुईवटा हात फेला परेको प्रहरीले जनाएको छ ।
बाढीले सबैभन्दा बढी भुर्जुङखोला क्षेत्रलाई प्रभावित बनाएको छ । बाढीले बगाएर भुर्जुङखोलाको तातोपानीमा ३० जना बेपत्ता रहेको स्थानीय मनोज आचार्यले बताए । उनका अनुसार तातोपानीमा मात्रै ४० भन्दा बढी घर बाढीले बगाएको छ । बाढीले तातोपानीबाटै तीनजना रसियन नागरिक पनि बेपत्ता बनाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रसियन नागरिक कोपो स्यागेल, इभाम माल्खो र माइया डोविन्स्का बेपत्ता रहेका छन् । यस्तै, ग १ त २२५३ नम्बरको ट्रयाक्टर र ग १ ख ३६६२ नम्बरको ट्रक पनि बगाएको छ । नम्बर नखुलेको अर्को एक ट्रक पनि बाढीले बगाएको छ ।
बाढीले विद्यार्थी रहेको एउटा स्कुल बससमेत बगाएको छ । बसमा रहेका २ जनाबाहेक सबै सम्पर्कविहीन अवस्थामा छन् । त्यस्तै, माछापुच्छ्रे गाविसमा पनि एक घर बगाएको छ ।
भुर्जुङखोलाकै तार्के तथा भेँडीगोठका ७० वर्षीय ढुंगे बुढा, ५५ वर्षीय दोर्जे तामाङ, ६० वर्षीय चस्मे बुढा, ४० वर्षीय विष्णु गुरुङ, २१ वर्षीय चेतबहादुर थापा र भुजेल भन्ने एकजना बेपत्ता रहेको स्थानीय दूधबहादुर गुरुङले बताए ।
बाढीमा परी घाइते भएकाहरूको पोखरास्थित मणिपाल शिक्षण अस्पताल र गण्डकी क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । ३५ वर्षीय मोहन ताम्राकार, उनकी १० वर्षीया छोरी माला, २३ वर्षीया तारा गुरुङ,
३ वर्षीया बालिका प्रतीक्षा गुरुङ र १२ वर्षीय सन्तोष गुरुङको उपचार भइरहेको अस्पतालले जनाएको छ । उनीहरूलाई पोखरा न्युरोडका सूर्य आचार्यले टयाक्सीमा ल्याएर उद्धार गरेका हुन् ।
सेती नदीमा अचानक बाढी आएपछि नदीछेउछाउका स्थानीयवासी त्रसित छन् । बाढी नियन्त्रणमा नआए पोखरासमेत डुबानमा पर्ने त्रास व्याप्त छ । बाढी गाउँ पस्न सक्ने देखिएपछि नदीआसपासका पोखराको बगर, रामघाट तथा हेम्जाको याम्दी क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ । पानीको बहाव कहिले रोकिने र कहिले बढेर आउने भइरहेको छ ।
यसैबीच प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बाढीमा परेकाहरूको उद्धारका लागि तदारुकताका साथ उद्धार गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । उनले नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई टेलिफोन गरी उद्धार तथा सहयोगमा जुट्न निर्देशन दिएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा उपमहानगरपालिकाले नदीकिनारमा बसोबास गर्ने सम्पूर्णलाई सतर्कता अपनाउन आह्वान गरेको छ ।
गृह मन्त्रालयले बाढीमा परेकाहरूको उद्धारका लागि कास्कीका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रीतकार्य टोली गठन गरेको छ । गृहले शनिबार निकालेको पेस विज्ञप्तिअनुसार टोलीले बाढी प्रभावित क्षेत्रमा परेकाको उद्धार, राहत तथा क्षतिपूर्तिको विवरण संकलन गर्नेछ । यसका निम्ति टोलीलाई गृहले निर्देशनसमेत दिइसकेको छ ।
यसैबीच शनिबार राति बसेको मन्त्रिपरिषद्को बैठकले बाढीले पुर्‍याएको क्षतिप्रति दु:ख व्यक्त गर्दै पीडितको तत्काल उद्धार र राहतको व्यवस्था गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै नेपाली कांग्रेसले पनि विज्ञप्ति जारी गर्दै पिडितहरूको उद्धार गर्न माग गरेको छ ।

हिमताल विस्फोट भएको होइन : विज्ञ

काठमाडौं : अन्नपूर्ण क्षेत्रको हिमपहिराका कारण शनिबार बिहान सेती नदीमा भीषण बाढी आएको हुन सक्ने अनुमान विज्ञले गरेका छन् । अन्नपूर्ण क्षेत्रमा ठूला र फुट्ने खालका हिमताल नभएकाले हिमताल विस्फोटन हुन नसक्ने उनीहरुको भनाइ छ ।
हिन्दकुश हिमालय क्षेत्रको अध्ययनअनुसन्धान गर्दै आएको एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले हिमपहिराले सेती नदी छेकिँदा पानी जम्मा भएको र पछि पानीको बहाब थेग्न नसकी बाँध फुट्दा एक्कासि बाढी आएको हुन सक्ने जनाएको छ । ‘हिमपहिराले नदी छेकेकाले थुनिएको पानी बाढीका रुपमा आएको हुन सक्छ, दिउँसोसम्म रोकिई–रोकिई बाढी आउनु त्यसैको संकेत हो,’ केन्द्रको नेपाल सेक्टरका उपमहानिर्देशक डा. माधव कार्कीले सौर्यसँग भने, ‘त्यो क्षेत्रमा हिमताल नै छैनन्, त्यसैले हिमताल विस्फोट होइन ।’
उनले स्याटेलाइट मोनिटरिङमार्फत् शनिबार दिनभर खोज्दा पनि एउटै हिमताल नदेखिएकाले अग्ला हिमाल रहेको त्यस क्षेत्रमा हिमपहिरो जाँदा नदी थुनिएको हुन सक्ने बताए । केन्द्रले घटनास्थलमा दुईजना प्राविधिक पठाएर अनुसन्धान गरिरहेको छ । ‘दिनभर स्याटेलाइटबाट खोज्दा पनि नदी थुनिएको ठाउँ पत्ता लागेको छैन,’ उपमहानिर्देशक डा. कार्कीले भने । उनले विश्वव्यापी जलवायुु परिवर्तनको असरले हिमालको हिउँ छिटो पग्लेकाले पनि अकल्पनीय रुपमा ठूलो र तल्लो भेगको नदी छेक्ने गरी हिमपहिरो झरेको हुन सक्ने बताए ।
जल तथा मौसम विज्ञान विभागले पनि मनसुन सुरु हुनुअघिको प्रि–मनसुन सक्रिय हुँदा उच्च हिमाली भेगमा हिमपात भइरहेकाले अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गएको हुन सक्ने अनुमान गरेको छ । विभागका उपमहानिर्देशक मणिरत्न शाक्यले त्यस क्षेत्रमा लगातार मौसम खराब भइरहेको बताए ।
‘प्रि–मनसुन सक्रिय हुँदा उच्च हिमाली भेगमा दिनहुँ हिमपात भैरहेको छ’ उनले भने ‘त्यसैले अन्नपूर्ण क्षेत्रमा हिमपहिरो गएर नदीमा बाढी आएको हुन सक्छ ।’ उनका अनुसार हाल दिनहँु पहाडी र तराई भेगमा वर्षा हुँदा उच्च हिमाली भेगमा हिमपात भइरहेको जानकारी गराए । (सौस)

प्रतिक्रिया