बिपी संग्रहालय : वर्तमानसँग बात मार्न खोजिरहेछ इतिहास

डेटिङ थलो हो, सुन्दरीजल । यौवनको तीर्खा मेट्ने पानीको खोजीमा सुन्दरीजलको उकालो चढिरहेका छन् ठिटाठिटी । उनीहरूलाई सायद थाहासम्म छैन, फेदीमा सिंगो एउटा इतिहास छ । राजनीति मन नपराउनु, इतिहास जान्न नखोज्नुलाई फेसन बनाएको सहरी युवापुस्ता बिपी चिन्दैन, चिन्न चाहँदैन । ‘हु केयर्स ?’ त्यसो त बिपीको नाम भजाएर आफ्नो राजनीतिक भविष्य बनाएका नेतागणले नै बिपीलाई चिनेका छैनन् भने ठेट्नाहरूको के कुरा ?
कालक्रममा मूल्य, विचार, जीवनशैली, वास्तुशिल्प सबै परिवर्तन भए । हुन त यो यस्तो बदलाव हो, जसभित्र नयाँ जिन्दगीको धड्कन सुनिन्छ । ती धड्कनमा हुन्छन्, मुलुकको राजनीतिमा प्रत्यक्ष प्रभाव पार्नेहरू– कि त महान् सहिदहरू, कि बिपी, मनमोहन, गणेशमान, मदन भण्डारी आदि आदि । सायद जीवनको सन्त्रास, विभ्रम, अत्यास, दु:ख, यान्त्रिकता, ऐकान्तिकता नै मूल भएर बसेका हुन्छन् । विश्वेश्वरप्रसाद कोइराला (बिपी) र उनका सहकर्मीहरूलाई आठ–आठ वर्षसम्म राखिएको सुन्दरीजल जेल, जसलाई हाल बिपी संग्रहालय बनाइएको छ, को भ्रमण पनि यस्तै भयो, इतिहासका बाछिटाहरू मेरो मनमस्तिष्कमा परिरहेका थिए ।
संग्रहालय पुगेपछि सिंगो एउटा युगको झझल्को आउँछ । जीवन, साहित्य, समय र समाजको कुरा । सिंगो नेपालको राणाकालीन पोलिटिक्सदेखि प्रजातान्त्रिक नेपालसम्मको चित्र–चरित्र प्रत्यक्ष बोध गरेका (सधैँ राजनीति र साहित्यको केन्द्रमै रहेका) बिपीले देखेको नेपाल कस्तो हुँदो हो ? यसको अनुमान सुन्दरीजल जेल अवलोकनका समयमा गर्न सकिन्छ । प्रधानमन्त्री भइसकेका एक राजनेता जेलका चिसा र अँध्यारा कोठाभित्र धुमधुम्ती बस्नुुपर्दा के सोच्दा हुन् ? संग्रहालय घुम्दा उनले बेहोरेको समय कत्तिको स्मरणीय छ, त्यसको साक्षात्कार गर्न पाइन्छ ।
यसका अध्यक्ष परशुराम पोखरेलको लगभग एक्लो प्रयासमा ०६१ भाद्र २४ गते शुभारम्भ भएको संग्रहालयको आँगनमै भेटिन्छन्, बिपीले रोपेका कपुरका दुईवटा भद्र रूख । म सोच्छु– रोज परिचित/अपरिचितका सुखका/दु:खका ‘खबर’हरूले उनलाई दु:खी बनाउँथ्यो होला, रोज इतिहास सम्झन्थे होलान्, डायरी लेख्थे होलान्, नेपालको भविष्यको रेखांकन गर्थे होलान् र वर्तमानको मूल्यांकन गर्थे होलान् (जुन उनको आत्मवृत्तान्तलगायत पुस्तकमा पाइन्छ) ।
‘…तपाईंहरू भित्तामा राजाको तस्बिर राख्नुहोस् र साथै नेपालको एउटा गरिब गाउँले किसानको आफ्नो झोपडीअगाडि उभिरहेको चित्र पनि राख्नुहोस् र त्यसको अनुहार हेरेर योजना बनाउनुहोस् र सोध्नोस्–यस योजनाले झोपडीमा बस्ने किसानलाई के लाभ दिन सक्छ, म आज पनि त्यही प्रश्न सोध्छु ।’ संग्रहालयको भित्तामा बिपीकै अक्षरमा लेखिएका यी पंक्ति पढ्दा म उत्तेजित भएको थिएँ । प्रधानमन्त्री हुँदा योजना आयोगमा सम्बोधन गर्दै बिपीले भनेका कुरा हुन् यी । बिपी राजनीतिमा प्रजातान्त्रिक समाजवादी थिए । उनले रोपेको समाजवादको मोडेलमा सहमति वा असहमतिका पक्ष/विपक्षमा एउटा युगभर बहस पनि भयो । तर, उनैले बनाएको पार्टी नेपाली कांग्रेसले समाजलाई एकैपटक बजारको जिम्मा लगाउने गरी लिएको बाटोले आज हलो जोत्ने किसान जीवनबाट पलायन हुँदै छन् ।
ििि
०१७ फागुन २६ पछि बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायत आठ नेतालाई राखिएको थियो, शाही सैनिक नियन्त्रणमा । तिनताका सुन्दरीजल जान सजिलो थिएन, कच्ची सडकले मात्र जोडेको थियो । तरुण दलको पहिलो महाधिवेशनमा भाषण गर्दागर्दै मञ्चबाटै सेनाले पक्रेर ‘प्रधानमन्त्रीलाई’ लगेको थियो र सम्भावित विद्रोहको निर्मम दमन गर्ने तयारीसमेत थियो । तत्कालीन राजा महेन्द्रले प्रारम्भमा सिंहदरबारभित्रै कडा सुरक्षा पुग्न सक्ने स्थानमा उनीहरूलाई राख्ने आदेश दिएका थिए । सायद राजा डराएका थिए– यसबाट बिपीको सम्मान पनि देखिने र समर्थन गर्ने सेनाको जमात बढेर ‘केआई सिंहको विद्रोह’जस्तै प्रतिक्रान्तिसरह अर्को ‘विद्रोह’ हुन सक्ने भय थियो । त्यसैले उनलाई सुन्दरीजल सारिएको थियो । आठ वर्ष लामो सुन्दरीजल बसाइमा बिपीले अरू कांग्रेस नेताहरूझैँ उँघेर समय काटेनन् । कथा, उपन्यास, डायरी लेखे र भावी पुस्तालाई सुम्पेर गए ।

सेनाले प्रयोग गर्दै आएको यस भवनलाई संग्रहालय बनाउन नेपाली सेनालाई भवनबाट हटाएर सरकारले भवन र त्यस वरपरको जग्गा बिपी संग्रहालय प्रतिष्ठानलाई जिम्मा लगाएको थियो । परिसरमा बिपी र अर्का भेटरन राजनीतिज्ञ गणेशमानको सालिक छ । योगेन्द्रमान शेरचन, रामनारायण मिश्र र दिवानसिंह राईको सालिक बन्दै छ । प्रेमराज आङ्दम्बे पनि त्यसै जेलमा बन्दी थिए । बिपी जयन्ती, राष्ट्रिय मेलमिलाप दिवस, कांग्रेसकै कुनै केन्द्रीय कार्यक्रम भए, संग्रहालयमा मानिस सल्बलाएका देखिन्छन्, अरू दिन संग्रहालय एक्लै हुन्छ । परशुराम पोखरेल नै ती व्यक्ति हुन् जो यसलाई बनाउन लागिपरेका छन् । तर, उनी एक्लै मात्र के गर्न सक्छन् ? संग्रहालय बनाउने काम साकार हुनुपछाडिको कथा लामो छ– सुन्दरीजलको बिपी चोकबाट २०४७ जेठ २२ गते परशुराम पोखरेलले ‘बिपी संग्रहालय’ सार्वजनिक घोषणा गर्दा सेनाले उनलाई निर्घात कुटेको थियो । कतिसम्म भने सेनाले ०५४ माघ १३ गते राजदरबारलाई पत्र लेख्दै ‘सुन्दरीजल बन्दीगृह भत्काउन’ माग राख्यो । सेना र परशुरामहरूको एक किसिमको जुहारी नै चल्यो । आखिर, ०६१ भदौ २३ गते सेनाले सुन्दरीजल छोडेर हिँड्नैपर्‍यो ।

०३३ पुस १६ गते बिपीले स्वदेश फिर्तीअघि अपिल गरेका थिए– ‘राष्ट्रको इतिहासमा यस्तो घडी पनि आउँछ, जब यसमा बासिन्दाले आफ्नो ज्यानसमेत खतरामा हालेर यसको अस्तित्वको रक्षा गर्नुपर्छ । हामीलाई लाग्छ आज नेपालमा त्यो घडी आएको छ ।’ त्यसै दिन बिपी र गणेशमानलाई त्रिभुवन हवाई अड्डाबाट सिधै सुन्दरीजल लगियो । दर्जनौँ मुद्दा लगाइयो । त्यसो त, कांग्रेस नेताहरूले उनलाई नेपाल फर्कन दिएका थिएनन् । तर, उनले राजा र जनताबीच सम्बन्ध सुधार गर्नुपर्छ भन्दै मेलमिलापको नीति लिएर नेपाल फर्किए । नेपाली कांग्रेसले ०३१ सालमै सशस्त्र क्रान्ति अन्त्य गरिसकेको थियो ।
म सोच्छु– यस बन्दीगृहका आँगनमा कपुरको रूखको गाढा छायामुनि बसेर बिपी केही चिन्तन र केही लेखन गर्थे । गणेशमान पारिलो घाम ताप्थे । दिवानसिंह कपडा धुन्थे । योगेन्द्रमान टोपी मिलाउँथे र मिश्र आफ्नो धोतीको माड खुइलिएको देख्थे र गाउँको चिरपरिचित धोबीको अनुहारको चिन्ता गर्थे । आङ्दम्बे हतियार उठाइहाल्न पाए हुन्थ्यो भन्ने कल्पना गर्थे, इत्यादि ।
सुन्दरीजल, नयाँपाटी–२ स्थित बिपी संग्रहालय बिपीको राजनीतिक जीवन–दर्शनको झल्को दिने मुलुकको एक मात्र थलो हो । ‘बिपीबारे रुचि राख्ने विद्यार्थी आउँछन्,’ परशुराम गुनासो गर्छन्, ‘सबै आदर्शका गफ दिन्छन्, व्यवहारमा चासो राख्दैनन् ।’
मुख्यद्वारमै बिपीले रोपेका कपुरका दुई रूख, जाँगे फूलको बोट र कपुरको अर्को बोट छन् । सुरुका कोठामा छन्– विराटनगरस्थित कोइराला निवासबाट ल्याइएका बिपी र उनकी धर्मपत्नी सुशीलाले प्रयोग गर्ने बेतका दुई कुर्सी र मेच । सुन्दरीजल जेलमा बिपी बस्दाको भान्सा, जहाँ छ– बिपीले प्रयोग गर्ने स्टोभ, चुलेसी, चिया पकाउने चुलो, उनले वर्षौंसम्म भात खाएका खण्डेथाल र कचौरा । बिपीको चीन, भारत र इजरायल भ्रमणका तस्बिर । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू र चिनियाँ नेता माओत्सेतुङसँगका तस्बिर । ज्ञानेन्द्रलाई मोहन शमशेरले श्रीपेच पहिर्‍याइदिएको, राजा त्रिभुवन, महेन्द्र र बिपी पत्नी सुशीलाले ‘ग्रुप’ पोज दिएका तस्बिरले इतिहास सम्झाउँछन् ।
बिपीका पलङ, रुमाल, इस्टकोट, गम्छा, बेडसिट, कलम, दौरा–सुरुवाल, सुटकेस, घडी, सिगार बक्स, भादगाउँले टोपी, फोन र बिपीले यहीँ बस्दा लेखेका किताबहरू छन् । त्यहाँ पुग्नेलाई ‘इमोसनल’ बनाउँछन्– उनको शवयात्राका तस्बिर र अस्तुले । बन्दीगृहमा सँगै रहेका किसुनजी, गणेशमान बसेका दुई कोठामा उनीहरूकै सामान राखिएका छन् ।

बिपीले जेल बस्दा लेखेका डायरीमा मुलुक अलावा घरपरिवारको चिन्ता, स्वास्थ्यका कुरा छन् । यसमा मानवीय आवेग, उदासी सबै अनुभूत गर्न सकिन्छ । जेलमा बित्ने निस्सार दिनबारे बिपीको टिप्पणी छ– ‘मैले दिन बिताएको होइन कि दिनले नै मलाई बितायो–अचल ढुंगामाथि नदीको पानी बगेजस्तै ।’
सायद, पाब्लो पिकासो सही छन्, ‘कुरूपताको अँध्यारोमा सुन्दर साहित्य र कलाको जन्म हुन्छ ।’ सही हो, अभाव, पीडा र संकटका बेला लेखिएका बिपी साहित्य जीवन्त बनेका छन् । जेलभित्र लेख्न पाइँदैनथ्यो । कापी–कलम राख्न दिइँदैनथ्यो । चौकीदारसँग मिलेर कागज र सिसाकलम गोप्य रूपमा मगाउँथे, बिपी । खाना पकाउने चुलोमा सिसाकलम, कागज लुकाउँथे । मासिक ३५–४० वटा पत्र लेख्थे– शैलजा, रोशा, तारिणी र धरणीधर अनि नेहरूलाई । एकपटक कागज अभाव भयो रे । हावाले उडाएर ल्याएको साबुनको खोलमा नेहरूलाई पत्र लेखेछन्, बिपीले । चिठी जुत्ताको तलुवाभित्र सिएर भूमिगत रूपमा भारत पठाइयो । किसुनजी र बालचन्द्र शर्माले नेहरूकहाँ पत्र पुर्‍याए । त्यो पत्र अहिले भारतको नेहरू स्मारक संग्रहालयमा राखिएको छ रे †
०१८ माघ ५ गते बिपीको डायरीको सानो अंशले भन्छ, ‘हिजो घरबाट आएका किताबहरूलाई सुम्सुम्याएँ, नयाँ किताब तरुनी हुन् । तिनमा आफूलाई चुर्लुम्म पार्नुभन्दा पहिले तिनीहरूलाई सुम्सुम्याउनुपर्छ, यताउता ओल्टाइपल्टाई हेर्नुपर्छ, एउटा आशा र उत्कण्ठाको सरसरी नजर माथिदेखि तलसम्म हाल्नुपर्छ, यसो सँुघ्नुपर्छ ।’ उनी आफ्ना रचनाहरूमा अकुण्ठित प्रस्तुत भएका छन्, राम्रा होइन सत्य, मुखबाट होइन हृदयबाट अभिव्यक्ति निकाल्थे । समाजको ढोङले उनलाई यौन स्वच्छन्दताको आरोप पनि लगायो, खासमा आज सुन्दरीजल हेर्दा लाग्छ आत्मिक सत्यवरणका लागि त्यहाँका कपुरका रूखहरूले बिपीलाई हौस्याइदिएका थिए ।

‘वैचारिक मूल्य र निष्ठाको राजनीतिप्रति समर्पित बिपी संग्रहालयको अवलोकनले मलाई इतिहाससँग वर्तमानको वार्तालाप महसुस भयो, यथार्थमा मैले नयाँ ऊर्जा प्राप्त गरेको अनुभूत गरेँ, अविस्मरणीय क्षण,’ प्रचण्डले प्रधानमन्त्री भएर त्यहाँ पुगेपछि लेखेका रहेछन् । बिपी बन्ने धोकोले अन्त:स्करणबाटै उनलाई गाँज्यो होला, र त उनले बिपीको कोट पहिरिएछन् । ‘बिपीजस्तै म,’ सुन्दरीजलबाट फिरेयता पटकपटक यही वाक्य दोहोर्‍याएर उनले बिपीप्रतिको ‘भक्ति’ देखाइसकेका छन् ।

संग्रहालयमा कांग्रेस मुक्ति सेनाले राणा शासकसँग क्रान्ति गर्दा प्रयोग गरेको बुलेटप्रुफ ट्यांक र तोप पनि छ । यो ट्यांक ६२ औँ प्रजातन्त्र दिवसको भोलिपल्ट सुनसरीबाट काठमान्डू ल्याइएको हो । मुक्ति सेनाले विराटनगरका बडाहाकिमको निवास ध्वस्त पार्न यो ट्यांक प्रयोग गरेको थियो ।
झाडी फाँडेर मोरङ सुगर मिल्स कारखानाका लागि जग्गा तयार गर्न भारतबाट ल्याइएको ट्रयाक्टरलाई ट्यांक बनाइएको थियो । मोरङ सुगर मिल्सकै ट्रयाक्टर भएकाले क्रान्तिपछि त्यसबाट बनाइएको ट्यांक मिल्सपरिसरमै ६२ वर्षसम्म अलपत्र छाडियो । ओतबिना राखिएको ट्यांकका चेन पांग्रा एक फिट गाडिइसकेका थिए, खिया परेको थियो ।

सुन्दरीजलमाथिको बागद्वारबाटै बागमती निस्केकी हुन् र तल सहर पसेपछि फोहोर भएकी हुन् । भनिन्छ, ‘बाग्मतीजस्तै कांग्रेस पनि सुन्दरीजलबाट काठमाडौं पसेपछि फोहोर भयो ।’ सानेपाबाट बिरक्तिएको मन बहलाउन सुन्दरीजल पुग्ने सच्चा कांग्रेसीजन बाटोमा यदाकदा भेटिन्छन् ।
सुन्दरीजल अचेल बैँसले मात्तिएकाहरू सल्बलाउने ठाउँ बनेको छ । त्यही सुन्दरीजल पर्वतको फेदीमा छ, बिपी संग्रहालय (यहाँ पस्नुपर्छ भन्ने हेक्का कहिल्यै राख्दैनन् बैँसालुहरू अनि अबेर भएपछि सहरतिर हुइँकिन्छन्) । बैँसालुहरूको यौवनको मादकतादेखि तृप्त बनेका बिपीका आँखा भने ठाँट्टिएका कम्मर मर्काउँदै संग्रहालय पस्ने तरुनीको प्रतीक्षामा छन् । तर, अफसोच, जवानी र यौवनका उदार पुजारी बिपीको अपेक्षाप्रति नयाँ पुस्ता अझै उदार बन्न सकेको छैन । आफ्नै अनुहार इतिहासको ऐनामा हेर्न मन नलाग्नेहरूलाई इतिहासले क्षमा गर्नेछैन ।

प्रतिक्रिया