हाइड्रोपावरसँगै कलाकारिता

तीन वर्षअगाडि कलाकारितामा प्रवेश गरेका पोखराका कुशल थापाले आधा दर्जनबढी ठूलो पर्दाका चलचित्रमा अभिनय गर्न भ्याइसके । उनले खेलेका कन्यादान, सिन्दुर र राज प्रदर्शनमा आइसके भने मैले भुल्नै सकिनँ, पल्टन, चन्द्रावती, तिम्रो लागि, सान प्रदर्शनको तयारीमा छन् । व्यस्तता अझै बढिरहेकै छ । हाल जाउँm हिँडको तयारीमा रहेको र त्यसपछि ह्याप्पी न्यु इयरमा अभिनय गर्ने पक्कापक्की भइसकेको उनले सुनाए । सर्टिफिकेट लेभलसम्मको अध्ययन सकेर कलकारितामा होमिएका रहेछन् । अनि, उद्देश्य रहेछ– यसै क्षेत्रको सक्षम अनि स्थापित कलाकारका रूपमा चिनिनु । भन्छन्, ‘सानैदेखि यो क्षेत्रमा लाग्ने रुचि थियो ।’
त्यसो त उनी पोखरामै छँदा पनि कलाकारितामा लागिरहन्थे रे † स्कुलमा छँदा विभिन्न क्यारिकेचर तथा नाटकमा अभिनय गरेका रहेछन् । कलाकार भएपछि सबै खालका भूमिका गर्ने खुबी राख्नुपर्ने बताउने उनी आफूचाहिँ ‘लभ स्टोरी’ भूमिका गर्न मन पराउँछन् । अहिलेसम्म चलचित्र तिम्रो लागिमा निर्वाह गरेको भूमिका उनी आफैँलाई राम्रो लाग्दो रहेछ । चलचित्रको दुनियाँ रंगीन भए पनि यो अवधिको संलग्नताबीच उनले ठहर्‍याएका रहेछन्, ‘कलाकार मात्र भएर जीविकोपार्जन गर्न सकिने अवस्था भने छैन, केही न केही साइड बिजनेस हुनै पर्छ ।’ अभिनयबाहेक ‘र्‍याम्प सो’हरूमा समेत मोडलिङ कला देखाएका उनी अभिनेता राजेश हमालबाट प्रेरित रहेको सुनाउँछन् । हाइड्रोपावर व्यवसायमा पनि हात हालेका रहेछन् । भन्छन्, ‘कलाकारिता नामका लागि अनि हाइड्रोपावर जीविकाका लागि ।’

प्रतिक्रिया